पनौतीमा इलेक्ट्रिक गाडी दुर्घटना हुँदा एकको मृत्यु, आठ जना घाइते

पनौतीमा इलेक्ट्रिक गाडी दुर्घटना हुँदा एकको मृत्यु, आठ जना घाइते

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको पनौती नगरपालिका–५ मा इलेक्ट्रिक गाडी दुर्घटना हुँदा गाडीमा सवार एक जनाको ज्यान भएको छ भने आठ जना  घाइते भएका छन् ।

बुधबार बिहान अन्दाजी ६ः४५ बजेको समयमा पनौती–५ सुन्दर बस्तीमा काठमाडौँबाट रामेछाप जाँदै गरेको बागमती प्रदेश ०३-००१ ज ०२९८ को इलेक्ट्रिक गाडीले सोही दिशातर्फ जाँदै गरेको बा ६४ प १७७२ नम्बरको मोटरसाइकललाई दिई भाग्ने क्रममा सडकको नालीमा खसेर दुर्घटना भएको हो । 

गाडी दुर्घटनामा गाडीमा सवार रामेछाप मन्थली नगरपालिका–१२ बस्ने अन्दाजी २० वर्षीया रमिला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी रमिलाको उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा रामेछाप मन्थली नगरपालिका–१२ की २३ वर्षीया पुष्पा तामाङ, रामेछाप लिखु तामाकोसी गाउँपालिका–६ बस्ने ५१ वर्षीय टङ्क प्रसाद दाहाल, मोटरसाइकल चालक इलाम थाकथुम गाउँपाकिला–३ का ४० वर्षीय राम कुमार राई र उहाँकी श्रीमती ३९ वर्षीया प्रविशा सुनुवार घाइते हुनु भएको प्रहरीले जनाएको छ ।

यस्तै दुर्घटनामा रामेछाप मन्थली नगरपालिका–२ की ज्ञानु ढुङ्गेल, रकिट ढुङ्गेल, रामेछाप लिखु तामाकोसी गाउँपालिका–६ का अनिल आले मगर, सिन्धुली सुनकोसी गाउँपालिका–३ बस्ने उर्मिला घिमिरे घाइते हुनु भएको प्रहरीले जनाएको छ । 

गाडी चालक काभ्रेपलान्चोकको पनौती नगरपालिका–५ का ४१ वर्षीय उपेन्द्र थापा जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।