६८ औं प्रहरी दिवसः आफ्नो गरिमा कायम राख्नुपर्छः मुख्यमन्त्री शाह

६८ औं प्रहरी दिवसः आफ्नो गरिमा कायम राख्नुपर्छः मुख्यमन्त्री शाह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल प्रहरीले जनतालाई साथमा लिएर आफ्नो गरिमालाई कायम राख्ने विश्वास व्यक्त गर्नुभएको छ ।  

६८ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयले धनगढीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताउनुभएको हो । विविध समस्याका बाबजुद नेपाल प्रहरी जनताको सुरक्षामा खटिरहेको उनले बताए । 

उहाँले प्रदेशको दूरदराजमा रहेका प्रहरीको व्यवस्थापनमा प्रदेश सरकारसहित सरोकारवाला सबै निकाय चुकेको बताए । शान्ति, सुरक्षा कायमका लागि कुनाकन्दरामा खटेका प्रहरीले विभिन्न समस्या भोगिरहेको मुख्यमन्त्री शाहको भनाइ छ । 

उहाँले नेपाल प्रहरीलाई प्रदेश सरकारले स्रोत, साधनले भ्याएसम्म प्रहरीलाई जस्तोसुकै सहयोग गर्न तयार रहेको चर्चा गरे । मुख्यमन्त्री शाहले स्थापनाकालदेखि विभिन्न आरोह अवरोह पार गर्दै नेपाल प्रहरी यो अवस्थासम्म आइपुगेको बताए। नेपाल प्रहरी असवचलित भएर नेपाली जनतालाई शान्ति, सुरक्षा दिन सदैव तत्पर रहेको मुख्यमन्त्रीको भनाइ छ । 

“विगतमा धेरै समस्या थिए र अहिले पनि भौतिक, प्राविधिकलगायतका समस्या छन्” उनले भने, “समस्याका बाबजुद पनि नेपाल प्रहरी जनताको सुरक्षाका लागि अविचलित भएर काम गरिरहेको छ ।”

नेपाल प्रहरी आफ्नो स्थापनाकालदेखि नै जनताको जिउज्यानको सुरक्षाका लागि अहोरात्र खटिरहेको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले बताए । उनले अहिले चाडपर्व आएकाले चाडपर्वलक्षित सुरक्षा व्यवस्था मिलाइएको बताए ।  

दिवसको अवसरमा अमर प्रहरीलाई श्रद्धाञ्जलि अर्पण गरिएको छ । यसैगरी, अमर प्रहरीका परिवारसहित विभिन्न व्यक्तिलाई सम्मानित समेत गरिएको छ । 

गोरखापत्रबाट