हवाई भाडा वृद्धिविरुद्ध धनगढी विमानस्थलको मूलगेटमा शान्तिपूर्ण धर्ना

हवाई भाडा वृद्धिविरुद्ध धनगढी विमानस्थलको मूलगेटमा शान्तिपूर्ण धर्ना

धनगढी । नेपाली कांग्रेस पार्टीको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले काठमाडौँ–धनगढी हवाई भाडा बढाइएको प्रति विरोध जनाउँदै धनगढी विमानस्थलको मूलगेटमा शान्तिपूर्ण धर्ना दिएको छ । नेविसङ्घका कैलाली जिल्ला अध्यक्ष मनीष कुँवरको नेतृत्वमा रहेको विद्यार्थीको समूहले विमानस्थल गेटबाहिर उभिई हवाई भाडा वृद्धिको विरोध जनाएको छ । 

काठमाडौँ–नयाँ दिल्लीको भन्दा काठमाडौँ–धनगढीको भाडा चर्को बनाइएको प्रति विरोध जनाउँदै आइतकार शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गरिएको अध्यक्ष कुँवरले बताए । निजी स्रोतबाट सञ्चालित एयरलायन्सहरूले आफूखुसी भाडा बढाएको आरोप उनको छ । दसैँतिहारको मौकाछोपी निजी एयरलायन्सहरूले धनगढी–काठमाडौँको हवाई भाडा १७ हजार १८६ तोकेको छ । 

चाडबाडमा छुट दिनुको सट्टा भाडा बढाएको प्रति नेविसङ्घले देशव्यापी रूपमा शान्तिपूर्ण आन्दोलन गरेको छ । नेविसङ्घ केन्द्रीय कार्यसमितिले सार्वजनिक यातायातका साधनमा विद्यार्थीलाई छुटको व्यवस्था लागु गर्न र हवाई भाडा घटाउन सरकारको ध्यानाकर्षण गराएको छ ।