अनलाइन आवेदन दिएका थप १९ नेपालीको इजरायलबाट उद्धार

अनलाइन आवेदन दिएका थप १९ नेपालीको इजरायलबाट उद्धार

काठमाडौं ।  इजरायलमा विद्रोही हमास समूहले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको छ । सरकारले भारतीय विमानमार्फत् इजरायलमा रहेको १९ जना नेपालीको उद्धार गरेको हो ।

यसअघि नेपाल सरकारले काठमाडौंबाट नेपाल एयरलाइन्सको जहाज पठाएर २५४ नेपालीहरुलाई स्वदेश ल्याएको थियो ।

परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरायलको तेल अविवबाट भारतको उद्धार विमानमार्फत् थप १९ नेपालीको उद्धार गरिएको जानकारी दिए। ‘१९ जना नेपाली नागरिक तेल अविवबाट इन्डियन रेस्क्यु फ्लाइटबाट उड्दै हुनुहुन्छ,’ उनले भने ।

मन्त्रालयले स्थानीय समय अनुसार तेल अविवबाट बिहान ९ बजे स्पाइस जेटमार्फत् १९ नेपाली नागरिक आउने जनाएको छ। मन्त्री साउदले स्वदेश आउन लागेका नेपालीलाई दिल्लीस्थित दूतावासले सवारी साधनको व्यवस्था गरेर नेपाल पठाउने पनि जानकारी दिए ।

नयाँ दिल्लीस्थित दूतावासले इजरायलबाट उद्धार गरी ल्याइएका नेपालीलाई गौरीफन्टा नाका भएर कैलाली भित्र्याइने छ। कैलालीबाट जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई सम्बन्धित स्थानमा पुर्याउने तयारी  गरेको छ ।