जहाँ मदिराले शुभ कार्य सुरु हुन्छ

जहाँ मदिराले शुभ कार्य सुरु हुन्छ

धनगढी । हिन्दुहरुको महान् पर्व विजया दशमी जात जाती तथा वर्ग समुदायहरूले आ-आफ्नै परम्परा तथा रीतिरिवाज अनुसार मनाउने गरेका छन् । 

विशेष त दशैँ भन्ने बित्तिकै ठुलाबडा तथा अग्रजहरुबाट टिका ग्रहण गरी मनाउने परम्परा रहने गरेको मान्यता लिइँदै आएको भए पनि सुदूरपश्चिम प्रदेशको दार्चुलाको सौका समुदायमा फरक शैलीमा दशै मनाउने प्रचलन रहेको छ । दशैं, तिहार मात्र नभई घरका कुनै शुभ कार्य सुरु गर्नु अघि उनीहरूको आफ्नै परम्परा रहेको छ ।

दार्चुलाको ब्याँस गाउँपालिकामा बस्दै आएका सौका समुदायले दशैं पर्वलाई अन्य परम्पराझै सामान्य रूपमा मनाउने गरेका छन् ।

सौका समुदायले खास गरी आफ्नो ईस्टकुल देवताको रूपमा श्री नम्जुङ लाई मान्ने गर्दछन् । उनीहरु हरेक चाडपर्व बिहे व्रतबन्ध लगायतका शुभकार्यहरुमा स्थानीय स्तरमा उत्पादित आफैले बनाएको जहुँको रक्सी चढाउँछन् । यद्यपि उनीहरु रक्सी नचढाई शुभकार्यको थालनी गर्देनन् । पुर्खाहरुबाटै चलिआएको चलन अनुरुप मदिरा (रक्सी) नचढाई शुभकार्यको थालनी गरेमा अशुभ मान्ने गर्दछन् ।

देशभर धूमधामका साथ मनाइने वर्षकै सबैभन्दा ठुलो चाडपर्व ब्याँस गाउँपालिकामा बसोबास गर्ने ब्याँसी सौकाहरुले भने भिन्नै तरिकाले मनाउँछन् ।

सबैजसो समुदायमा दशैको बेलामा घरघरमा तथा आफ्नो ईष्टकुल देवताको मन्दिरमा जमरा हाल्ने चलन भए पनि ब्याँसी सौका समुदायले भने जमरा हाल्दैनन् जमराको सट्टा रक्सी चढाउने गर्दछन् ।

सौका समुदायले पौराणिक कालदेखि आफ्नो घरको जेठो छोरालाई आफ्नो बनाउन र आफैसँग बसाउनका निम्ति आफ्नो रीतिरिवाज र संस्कार अनुसार जन्मिएको वर्ष घरको जेठो छोरालाई दशैँमा मन्दिरमा लगेर उत्तराधिकारी बनाउँछन् ।

छोरा जन्मिएको वर्ष घरको जेठो छोरोलाई उत्तराधिकारी बनाउन ५ जना चेलीबेटीलाई मदिरा (रक्सीको गारी) (माटोको भाँडो) र चुङवाला (सौका समुदायका महिलाहरुले लगाउने ड्रेस) सहित पिठ्युँमा गारीको मुखमा फुलगुँच्चा चढाई जेठो छोरा उत्तराधिकारी बनाउने चलन रहिआएको ब्याँस गाउँपालिका वडा नम्बर २ राप्लाका स्थानीय संस्कृतिका जानकार तथा लोकतन्त्र बादी जनजाति महासंघ दार्चुलाका अध्यक्ष वीरेन्द्र बुढाथोकीले जानकारी दिए । 

उनले भने,-‘अन्य समुदायको भन्दा हाम्रो समुदायको भेसभुसा रहनसहन बेग्लै छ । हाम्रो संस्कारमा हामी आफैले बनाएको रक्सी नचढाउँदा सम्म हामी शुभकार्यको थलानी गर्दैनौँ । घरको जेठो छोरोलाई उत्तराधिकारी बनाई दशै पर्व मनाउने हाम्रो चलन छ । छोरोलाई उत्तराधिकारी बनाउन आमाबाबु सहित छोराका सु-कन्या ५ जना दिदीबहिनीहरुलाई लागि मन्दिर जान्छौँ यदि सु-कन्या दिदीबहिनी नभएको अवस्थामा भने फुपुहरुलाई लगेर मन्दिरमा गई गारीको भाँडामा फुलगुँच्चा हाली पूजापाठ गरी उत्तराधिकारी बनाउँछौँ ।’

यो वर्षको दशैँमा भने फरक/फरक घरका ४ जना जना जेठा छोरालाई उत्तराधिकारी बनाउने तयारी रहेको स्थानीय संस्कृतिका जानकार तथा लोकतन्त्र बादी जनजाति महासंघका अध्यक्ष बुढाथोकीले जानकारी दिए । 

ब्याँसमा उत्तराधिकारी बनाउन हिन्दु संस्कार अनुसार मन्दिरमा चढाइने अमृतको नाममा उनीहरु भने आफैले बनाएको (स्थानीय स्तरमा उत्पादित) रक्सी चढाउने गर्दछन् ।

 ब्याँस गाउँपालिकामा अन्यलाई छोडेर अहिले ब्याँसी सौका समुदायको मात्रै लगभग तीन हजार पाँच सय जनसंख्या रहेको छ ।