आजको मौसम : कहाँ कहाँ छ वर्षा र हिमपातको सम्भावना ?

आजको मौसम : कहाँ कहाँ छ वर्षा र हिमपातको सम्भावना ?

धनगढी । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ।

सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका थोरै  र तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ। देशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।