समाजवादी मोर्चा सुदृढी भएर अघि बढ्नुपर्छः दलका नेताहरु

समाजवादी मोर्चा सुदृढी भएर अघि बढ्नुपर्छः दलका नेताहरु

धनगढी । राष्ट्रलाई नयाँ दिशातर्फ अघि बढाउन समाजवादी मोर्चाका नेताहरुले सुदृढी भएर अघि बढ्नुपर्ने बताएका छन् ।

सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित समाजवादी मोर्चा सन्देश सभालाई सम्बोधन गर्दै नेताहरुले समाजवादी मोर्चाप्रति जनताको भरोसा रहेकाले सुदृढ भएर अघि बढ्नुपर्ने बताएका हुन् ।

सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वभरीका नेपालीहरुले मोर्चाप्रति आशा र भरोसा लिएको बताउँदै –‘सुदृढ गर्ने जिम्मेवारी मोर्चाभित्र रहेका सबै दलको रहेको छ ।’ उनले समाजवादी मोर्चाबिच सम्झदारी र सहकार्य नहुने भए अहिले परिवर्तन सम्भव नरहेको बताए ।

उनले एकतावद्ध भएको कम्युनिष्ट व्यक्तिको दम्भका कारण अदालतले विभाजनतर्फ लगेको बताउँदै –‘अहिले एमालेको नेतृत्व जसले गरेको छ । उहाँ रियल एमाले होइन । उहाँ संघीयतावादी, गणतन्त्रवादी होइन ।’ युद्धकालीन अवस्था स्मरण गर्दै उनले अहिलेको नेतृत्व तत्कालीन अवस्थामा भएको भए अहिलेको परिवर्तन सम्भव हुन नसक्ने प्रचण्डले बताए । अहिले पनि जनताको उपलब्धि गुम्ने खतरामा रहेको उनले बताए ।

‘परिवर्तन उल्टाउन चाहने शक्तिलाई परास्त गर्छौं । त्यसको लागि हामी एक ठाउँमा आउनु पर्छ’, उनले भने, ‘संविधान मिचेर संसद् विघटन गर्ने र प्रतिगमनतर्फ लैजाने डरलाग्दो प्रयास भएकै थियो । हामीले नै त्यो षड्यन्त्रलाई परास्त गरेका थियौं अदालतले पनि जनताको कुरा सुनेर संसद् पुनस्र्थापना ग¥यो । अहिले पनि त्यो कोसिस भइरहेको छ ।’

उनले सरकारले भ्रष्टाचारविरुद्ध अभियान र सुशासनको पक्षमा ठूलो काम गरेको बताउँदै ‘मिटर ब्याजलाई प्राथमिकतामा राखेर काम गर्दा हामी सफल भयौ । त्यसपछि ललित निवास, भुटानी शरणार्थी र सुन प्रकरणमा दोषी कारवाहीको भागीदार रहेका व्यक्तिहरुमाथि अनुसन्धान भइरहेको छ ।’

प्रधानमन्त्री प्रचण्डले सरकारले अरू पनि केही फायलहरू छिट्टै खुल्ने बताए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले समाजवादी मोर्चा तयार गर्दा केही पार्टी हतोत्साहित भएको बताए । उनले चार दल एक ठाउँमा आएर समाजवादी मोर्चा तयार गर्दा देशमा तरंग सृजना भएको प्रतिक्रिया दिए ।

उनले वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने उद्देश्यले समाजवादी मोर्चा गठन भएको बताए ।

देशमा रोजगारी नभएर विदेश जानेहरूको संख्या बढिरहेको प्रति चिन्ता व्यक्त गर्दै सरकार यो विषयमा गम्भीर बन्नु पर्नेमा नेपालको जोड थियो । ‘युवाहरू विदेशमा भौँतारिरहेका छन् । घर घरमा बुढापाकाहरू मात्रै छन् । देशमा रोजगारी छैन’, उनले भने ।

अध्यक्ष नेपालले गठबन्धनको सरकार पाँच वर्षसम्म चल्ने बताउँदै ‘समाजवादी मोर्चा गठन प्रति कांग्रेस रुष्ट नभएर खुशी छ ।’

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा रहेको बताए । उनले विभिन्न कारणले अहिलेको उपलब्धि गुम्ने खतरामा पुगेको बताउँदै ‘नेपालमा जातीय द्वन्द्व फैलाउने सद्भाव र एकता भएको मुलुकमा धार्मिक द्वन्द्व फैलाएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पर्ने खेल भइरहेको छ । यसलाई संस्थापन गर्नु ठुलो चुनौती छ ।’ उनले कुनै पनि गल्तीले लोकतन्त्र गुम्न सक्ने भएकाले अरूलाई दोष दिएर बस्न नहुने बताए ।

उनले सरकारले सदन र सडकबाट गणतन्त्र विरोधी शक्तिलाई पाखा लगाउनु पर्ने र कानुन बनाएर संघीय गणतन्त्रलाई संस्थागत गर्नु पर्ने दायित्व रहेको बताए ।

अध्यक्ष यादवले प्रदेश सरकारलाई जिम्मेवारी विहीन जस्तो बनाएको भन्दै ‘प्रदेश सरकारमा झन्डा छ गाडी छ कानुन छैन प्रशासन छैन । यस्तो पनि सरकार हुन्छ ?’ 

ठूलो परिवर्तनबाट आएको उपलब्धी संस्थागत गर्न र जनतालाई परिवर्तनको अनुभूति गराउन समाजवादी मोर्चा गठन गरिएको यादवले बताए । उनले रेशम चौधरीलाई रिहा गर्दा पनि थारु नागरिकहरूको समस्या हल नभएको बताए ।

‘जेलबाट रेशम चौधरीलाई रिहा ग¥यौँ तर, थारुहरूको समस्या हल भएको छैन । सुकुम्वासीहरूका समस्या हल भएको छैन । किसानका समस्या हल भएका छैनन्’ उनले भने, ‘गरिबी र बेरोजगारी बढ्दो अवस्थामा । व्यवस्था बदलियो तर, अवस्था बदलिएको छैन । अब हामीले जनताको अवस्था बदल्नुपर्छ ।’