दीपनगर आधारभुत विद्यालयका प्रधानाध्याकप धर्माले बाँडे आफ्नो तलब निजि स्रोतका शिक्षकलाई

दीपनगर आधारभुत विद्यालयका प्रधानाध्याकप धर्माले बाँडे आफ्नो तलब निजि स्रोतका शिक्षकलाई

कञ्चनपुर । कञ्चनपुरको एक विद्यालयका प्रधानाध्यापकले आफ्नो तलबको रकम निजि स्रोतका शिक्षकहरुलाई बाँडेका छन । 

शुक्लाफाँटा नगरपालिकामा रहेको दीपनगर आधारभुत विद्यालयका प्रधानाध्याकप धर्मा भण्डारीले आफ्नो तलबको रकम निजि स्रोतका शिक्षकहरुलाई बाँडेका हुन ।

दसैँका बेला तलब थाप्न नपाएपछि उनीहरु निराश बनेका उनिहरुलाई आफ्नो तलबको रकम वितरण गरेको प्रधानाध्यापक भण्डारीले बताए । उनले साउनदेखी असोजसम्मको आफुले पाएको तलब वाफतको रकम विद्यालयमा कार्यरत निजि स्रोतका ६ जना शिक्षकहरुलाई बराबर पुग्ने गरी बाँडेको बताए ।

‘दसैँका बेला मेरो खातामा तलब आइपुग्यो तर आफूसँग विद्यालयमा पढाउने शिक्षकहरुले दशैँ जस्तो महत्वपुर्ण पर्वमा तलब पाएका थिएनन्’ उनले भने ‘यस्तो अवस्थामा उहाँहरुलाई खाली हात पठाउनसक्ने कुरै भएन, बरु आफू खाली हुनु ठिक छ भनी पाएको तलबपछि सोध भर्ना हुनेगरी बाँडिदिए ।’

उनले दशैँ जस्तो महत्वपुर्ण पर्वमा सहकर्मी शिक्षकहरुले तलब नपाउँदा आफुलाई नराम्रो लागेको बताए । ‘दसैँको बिदा हुनै लाग्दा निजी स्रोतका शिक्षक तलब नपाइएपछि खाली हात घर जान थाले, भावुक भएर हेर्न थाले’ प्रधानाध्यापक भण्डारीले भने, ‘मुटु भक्कानियो, मन थाम्न सकिन, त्यसपछि आफ्नै तलबबाट रकम बाँड्ने निधो गरे, बाँडे ।’

शुक्लाफाँटा नगरपालिकाको आन्तरिक खिचलोका कारण निजी स्रोतका शिक्षकको तलब रोकिएको छ । तलब नपाएर हैरान भएका बेला प्रधानाध्यापकले आफ्नै तलबबाट दसैँ खर्चका लागि रकम उपलब्ध गराएपछि निकै सहज भएको विद्यालयका शिक्षक कर्णबहादुर कुवँरले बताए । थोरै रकम पाए पनि दसैँका लागि खर्च गर्न पुग्ने भएकाले खुसी भएको उनले बताए ।

कक्षा १ देखि ८ सम्म पठनपाठन हुने विद्यालयमा एक जना स्थायी र एक जना राहतबाहेक अन्य छ जना शिक्षक निजी स्रोतमा कार्यरत रहेका छन् । विद्यार्थीको संख्या १ सय ६२ रहेको छ ।