हानिको खानी : धुम्रपान

हानिको खानी : धुम्रपान

डा. प्रकाश बुढाथोकी। सुर्तीजन्य पदार्थको सेवन सारा विश्वको लागि टड्कारो समस्या बनिरहेको छ । सुर्तीजन्य पदार्थको खपत सयौं गुणाले बढ्न पुग्दा शारीरिक, मानसिक, पारिवारिक, आर्थिक, सामाजिक र वातावरणीय असर निकै कहालीलाग्दो छ । असामान्य रूपमा बढिरहेको यो समस्या समाधानमा सहयोग पु¥याउन सुर्ती सेवनबाट उत्पन्न जटिलता र खतरालाई बोध गराउन जरुरी छ । सुर्ती एवं चुरोट उत्पादक कम्पनीको व्यापारिक नीति र आमजनतामा परिरहेको सुर्तीजन्य मन्दविषका बारेमा प्रचारप्रसारलाई तीव्रता दिनुपर्छ । सूर्तिसेवन वा धुम्रपान आफंैमा कडा लागूपदार्थ हेरोइन तथा कोकिनको प्रवेशद्वार हो । यो कुरा आमनागरिकलाई जानकारी गराई सुर्ती सेवनलाई निरुत्साहित पारी अहिलेको डरलाग्दो अवस्थालाई कम गर्न सकिन्छ । विश्व स्वास्थ्य संगठनद्वारा हरेक वर्षभै यस वर्ष पनि मे ३१ लाई ‘सुर्तीजन्य पदार्थ र फोक्सो स्वास्थ्य’ भन्ने नाराका साथ मनाइँदै छ ।

स्वास्थ्य

धुम्रपानमा हुने प्राणघातक रसायनले शरीरको प्रतिरक्षात्मक प्रणालीलाई कमजोर बनाउँछ । यसबाट शरीरमा विभिन्न रोग लाग्ने सम्भावना बढेर जान्छ । प्रतिरक्षा प्रणाली कमजोर भएकै कारण कपाल झर्ने, मुखमा घाउखटिरा हुने, तालु खुइलिने, हातमा पाप्रा आउने रोग लुपस इरिथ्रिमेटोसस, निको पार्न गाह्रो हुने तथा बारम्बार बल्झिरहने पेटको अल्सर, छाला पत्रिँदै फुस्रिने छालाको नसर्ने रोग सोराइसिस, क्षयरोग, निमोनियाजस्ता रोग लाग्छन् ।
सुर्तीमा भएको निकोटिनले अम्मली बनाउनुका साथै मष्तिष्क र स्नायुमा पुगी रिँगटा लाग्ने, कम निद्रा लाग्ने, सुत्दा निद्रा नलाग्ने, मष्तिष्क शिथिल हुने, दाँत बिग्रने, औंला र नङ पहेंलो हुने रोग निम्त्याउँछ । शरीर कालो हुने, रक्तनली र भल्भमा निकोटिन जम्दै जाँदा साँघुरिएर मुटुसम्बन्धी रोग लाग्ने, थोम्ब्रोएन्जाइटिस अवलिटरेनस, बर्गर रोग, हृदयाघात आदि निम्त्याउँछ । यसले मष्तिष्कघात, कान पाक्ने, श्रवणशक्ति कम हुने, बहिरो हुने, पक्षाघात, स्नायु, नसा र धमनी सुन्निने, कपाल, लुगा फोहोर हुने रोग पनि ल्याउँछ ।

चुरोटमा हुने कार्बनमोनोअक्साइड ग्याँसले रगतको अक्सिजन बोक्ने क्षमतालाई १५ प्रतिशतले बाधा पु¥याई हाड कमजोर गराउँछ । घाउ निको हुन लाग्ने समय ८० प्रतिशतले बढ्ने, ५ गुणा बढी ढाड दुख्ने सम्भावना, दम बढ्ने, दीर्घखोकी, पीपयुक्त खकार तथा खोक्न र श्वास फेर्न कठिन हुने पनि बनाउँछ ।
मोतियाबिन्दु पनि धुम्रपानले निम्त्याउने समस्या हो । विश्वमा ४० प्रतिशतभन्दा बढी धुम्रपान अम्मलीमा आँखाको दृश्य शक्ति कमजोर भएको पाइन्छ । यसले त आँखा नदेख्ने पनि बनाएको प्रमाणित भएको छ । धुम्रपानको धुवाँले आँखालाई पीडा तथा सम्वेदनशील बनाउँछ । फोक्सोबाट रगत हुँदै आँखामा पुग्ने सुर्तीजन्य रसायनले रेटिनाको मध्यभागमा क्षति पु¥याउँछ । उमेरसँगै बुढो हुँदै जाँदा विकसित हुने ध्यान केन्द्रित गर्न नसक्ने समस्या धुम्रपान सेवनकर्तामा छिटो सुरु हुने तथा तीव्र गतिमा हुने गर्छ ।

धुम्रपानले छालालाई चुस्त बनाउने भिटामिन ‘ए’ को शोषणमा अवरोध गर्छ र रक्तसञ्चारलाई नियन्त्रण गर्ने तथा प्रोटिनको नास गर्छ, त्यसैले धुम्रपानीमा बुढ्यौली लाग्नुअगावै छाला चाउरी पर्ने, ओठ र आँखाको छेउको छालामा फुस्रो, सानोसानो मुजा पर्ने समस्या देखिन्छ ।
मुटुसम्बन्धी रोग उब्जाउने प्रमुख कारण धुम्रपान हो । यसका कारण विकासोन्मुख मुलुकमा १० लाखभन्दा बढी र विकसित मुलुकमा ६ लाखभन्दा बढी व्यक्ति मर्ने गरेका छन् । मुटुको धड्कन तीव्र पार्ने, रक्तचाप बढाउने, उच्च रक्तचापको सम्भावना हुने, हृदयाघातको कारण बन्न सक्छ धुम्रपान ।
खेलाडीमा चाँडै थाक्ने र स्टामिना घटाउँछ । ३० वर्षको धुम्रपानकर्ता र ४२ वर्षको धुम्रपान नगर्नेले १६ किलोमिटर बराबर समयमा पूरा गर्छन् । एक चुरोट प्रतिदिन ४० सेकेन्ड दौड्ने क्षमता कम गराउँदै लगेको वैज्ञानिक पुष्टि पनि छ ।

प्रजनन स्वास्थ्य

धुम्रपानको कारणले शुक्रकीट कमजोर बन्ने, शुक्रकीटको डीएनए ह्रास हुने, शुक्रकीटको संख्या घट्ने, लिंगको उत्तेजनामा कमी, बाँझोपन, जन्मजात खोट भएको शिशु जन्मने र लिंग वरपर हुने रक्तसञ्चारको कमीले यौन चाहनामा ह्रास हुने हुन्छ । त्यसै गरी नपुंशकताको सम्भावना, गर्भ रहन नदिने समस्या, गर्भवस्था तथा प्रसव अवस्थामा जटिलता थपिने गर्छ । पेट बोकेकी आमामा शारीरिक र मानसिक रूपमा असक्षम कमजोर, रोगी र अंगभंग बच्चा जन्मने, समयपूर्व बच्चा जन्मने हुन्छ ।
यस अतिरिक्त दुई÷तीन गुना बढी गर्भपतन, जन्मेको बच्चा २८ दिनभित्रै मर्ने, कमतौलको बच्चा जन्मने र बालमृत्यु दर बढी हुने गर्छ । असफल गर्भाधानको प्रबल सम्भावना रहन्छ । धुवाँमा भएको निकोटिन र कार्बनमोनो अक्साइडले भ्रुणलाई सास फेर्न कठिन पार्ने, सालनालबाट रक्तसञ्चारमा अवरोध भई मृत बच्चा जन्मने तथा अचानक शिशुको मृत्यु हुने अवस्था पनि निम्त्याउँछ । धुम्रपानले एस्ट्रोजिन जीवरस पैदा हुन अवरोध गर्ने भएकाले उमेर नपुग्दै महिनावारी बन्द वा रजोनोवृत्ति गराउन सक्छ र छोरा हुने सम्भावना घटाउँछ ।

 

विगत १५ वर्षदेखि सुर्तीजन्य पदार्थको खपत १ हजार २ सय गुणाले बढ्दा उत्पन्न शारीरिक, मानसिक, पारिवारिक, आर्थिक, सामाजिक र वातावरणीय असर सम्झ“दा नै कहाली लाग्ने भएको छ

धुम्रपान आफैंमा कडा लागूपदार्थ हेरोइन तथा कोकिनको प्रवेशद्वार हो। आमनागरिकलाई जानकारी गराई सुर्ती सेवनलाई निरुत्साहित गर्नु जरुरी छ

 

 

क्यान्सर

धुम्रपानमा भएका करिब ६० वटा क्यान्सर लगाउन सक्ने तŒव, कार्सिनोजनले शरीरका विभिन्न अगंप्रत्यंगमा क्यान्सर लगाउन सक्छन् । सामान्य व्यक्तिलाई भन्दा धुम्रपानको अम्मलीलाई दुई गुणा बढी छालाको क्यान्सर, मेलानोमा, पाठेघर, स्तन तथा मूत्रथैलीको क्यान्सर गराउँछ । सुर्तीको अम्मलीलाई २२ गुणा बढी फोक्सोको क्यान्सर, दुई गुणा बढी जिब्रोको क्यान्सर, ६–२७ गुणा बढी मुख, ¥यालग्रन्थी र श्वासनलीको क्यान्सर गराउँछ । १२ गुणा बढी घाँटीको क्यान्सर, ८–१० गुणा बढी भोजननलीको क्यान्सर र १०–१८ गुणा बढी भोजन नलीको क्यान्सर बनाउँछ ।
यस अतिरिक्त सुर्तिसेवनले २–३ गुणा बढी आमाशयको क्यान्सर, ५ गुणा बढी मिर्गौलाको क्यान्सर, २–५ गुणा बढी प्याङ्क्रियाजको क्यान्सर, तीन गुणा बढी आन्द्राको तथा ५–६ गुणा बढी गुदद्वारको क्यान्सर हुने सम्भावना बढाउँछ । यसले बढी मात्रामा र बढी समयसम्म र बढी निकोटिन, टार तथा कार्सिनोजन भएका सुर्ती सेवन गरिरहेको हुन्छ, उसलाई विभिन्न खाले क्यान्सर हुने सम्भावना पनि त्यही अनुपातमा बढ्ने गर्छ ।

अहिले विश्वमा प्रत्येक ६ सेकेन्डमा १ व्यक्ति धुम्रपानको कारणले मर्दछ भने प्रत्येक दिन १४ हजार ७९५ व्यक्ति मर्दछन् जसमध्ये ८० प्रतिशत नेपालजस्तै विकासशील देशमा मर्छन् । नेपालमा वार्षिक ३० हजार मानिस धुम्रपानकै कारणले मर्छन् । दशकअघि गरेको सर्वेक्षणमा नेपालको ७२ प्रतिशत घरमा न्यूनतम एक व्यक्तिले धुम्रपान गर्ने गरेको पाइएको छ ।
विश्वका विभिन्न देशमध्ये नेपाल धुम्रपान सेवन गर्नेमा अग्रस्थानमा रहेको तथा नेपाली महिला विश्वमै प्रथम स्थानमा छन् । अरू त अरू २५ प्रतिशत सहरी क्षेत्रका स्वास्थ्य परीक्षण गराउने गर्भवती महिलाले पनि धुम्रपान गरेको पाइन्छ । ७१ दशमलव ४ प्रतिशतभन्दा बढी महिला, ८५ प्रतिशतभन्दा बढी पुरुषद्वारा कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको अनुमान छ ।

धुम्रपान छोडेको १५ वर्षपछि फोक्सोको क्यान्सर हुने, मृत्यु हुने सामान्यसरह र रोग लाग्ने सम्भावना २५ प्रतिशतमा झर्छ चुरोट खानेको तुलनामा । मुटुका रोगको सम्भावना र स्ट्रोकको सम्भावना चुरोट नखानेको हाराहारीमा पुग्छ । औसत आयु बढेर सामान्य मानिस (धुम्रपान कहिल्यै नगरेको व्यक्ति सरह) सरह हुन्छ । त्यसो त सुर्तीजन्य पदार्थ भन्नासाथै मानिसको स्वास्थ्यमा हानिकारक असर पार्ने वस्तु, खोकी लगाउने, हात, दाँत बिगार्ने, मुटुरोग तथा क्यान्सर बनाउने मृत्युजन्य पदार्थ भनी सबैको मानसपटलमा नआउने गरेको होइन । तर, थाहा हुँदाहुँदै पनि लत बसिसकेपछि वा अम्मली भइसकेपछि वा निकोटिनको दास भइसकेको कारणले छोड्न चाहँदा चाहँदै नसक्ने प्रशस्तै छन् ।
अम्मल सुर्तीजन्यपदार्थको सेवन सारा विश्वका लागि टड्कारो समस्या बनिरहेकोमा नेपाल अछुतो रहने कुरा भएन । त्यसैमा अझ विगत १५ वर्षदेखि सुर्तीजन्यपदार्थको खपत १ हजार २ सय गुणाले बढ्दा उत्पन्न शारीरिक, मानसिक, पारिवारिक, आर्थिक, सामाजिक र वातावरणीय असर सम्झँदा नै कहाली लाग्ने भएको छ । अहिलेको चुनौती भनेको एकातिर बालबालिका, स्कुले छात्रछात्रामा लत बस्न नदिनु हो भने अर्कोतिर लत बसिसकेकालाई लत छुटाउनु तथा रोगीलाई उपचार गर्नु पनि हो ।