कैलाली र कञ्चनपुर सीमामा डेढ सय सीमा स्तम्भ निमार्ण

कैलाली र कञ्चनपुर सीमामा डेढ सय सीमा स्तम्भ निमार्ण

धनगढी : कैलाली र कञ्चनपुर जिल्लामा रहेका नेपाल भारत सीमा स्तम्भ ब्यवस्थापन गर्न परिचालित संयुक्त सर्वेक्षण टोलीले आजदेखि काम रोक्ने भएको छ । नेपाल भारत संयुक्त सर्वे टोलीले आज धनगढीमा कार्यक्रम गर्दै बर्षातको समय शुरु हुन लागेका कारण काम गर्न नसकिने हँुदा मंसीर महिना सम्मका लागि काम रोक्नुपरेको जानकारी दिएको छ ।

संयुक्त सीमा सर्वे टोलीमा नेपालका तर्फबाट प्रमुख नापी अधिकृत जनकराज भट्ट र भारतको तर्फबाट सर्वे उप उपरिक्षक गोबिन्द नारायणले नेतृत्व गर्नुभएको छ । दुबै तर्फको प्राविधिक टोलीले ६ महिनामा गरेको कामको प्रगतिबारे दुई देशका प्रमुख जिल्ला अधिकारी स्तरको बैठकमा जानकारी गराइएको छ । 

सीमा सर्वेको प्रतिबारे जानकारी दिन आयोजित बैठकमा कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील बैद्य र भारतका तर्फबाट लखिमपुर खिरी जिल्लाका जिल्ला अधिकारी शैलेन्द्र कुमार सिंहले आ–आफ्नो पक्षको नेतृत्व गर्नुभएको थियो ।

६ महिनामा सीमा सर्वेक्षण टोलीले जनस्तरमा विवाद भएका स्थानमा काम स्थगित गरेर विवाद नभएका स्थानमा १ सय ४९ सीमा स्तम्भ बनाएको छ । कैलालीमा ४८ र कञ्चनपुरमा १ गरी ४९ वटा नया बनाइएको र एक सय वटा स्तम्भहरु मर्मत गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिनुभयो ।

नक्सा अनुसार नेपालको भूमिमा भारतीय किसानहरुले खेती गरिरहेको र भारतको जमिनमा नेपाली किसानहरुले खेती गरिरहेको अ वस्था पाइएकेले त्यस्तो स्थानको पहिचान गरी निर्णय गर्न दुबै देशका अधिकारीहरुले  आ–आफ्नो परराष्ट्र मन्त्रालयमा पठाउने सहमति पत्रमा दुबै तर्फका प्रमुख जिल्ला अधिकारीले हस्ताक्षर गर्नुभएको छ ।

स्थानीय जनताको बुझाइ र प्राविधिक टोलीले पत्ता लगाएको कुरामा केही भिन्नता रहेका कारण स्थानीय जनताहरुले विवाद गरेको प्रमुख जिल्ला अधिकारी बोहराले बताउनुभयो । 

सीमामा मर्मत गर्नपर्ने स्तम्भमा कुनै समस्या नरहे पनि हराइका स्तम्भमा भने स्थानीय स्तरमा केही समस्या आएको भारतीय पक्षको नेतृत्व गर्नुभएका लखिमपुर खिरीका जिल्ला अधिकारी शैलेन्द्र कुमार सिंहले बताउनुभयो ।

उहाँले स्थानीय स्तरको विवाद जनताको सहभागितामा दुबै देशका अधिकारीहरु मिलेर समाधान गर्ने प्रयास गरिरहेको बताउनुभयो । बनाउन बाँकी रहेका सीमा स्तम्भहरुमा मंसिर महिना देख थप काम शुरु हुने दुबै देशका अधिकारीहरुले बताएका छन् ।