तेस्रो पटक टेण्डर रद्द भएपछि निशुल्क बितरण गर्नुपर्ने औषधीको अभाव हुन सक्ने

तेस्रो पटक टेण्डर रद्द भएपछि निशुल्क बितरण गर्नुपर्ने औषधीको अभाव हुन सक्ने

धनगढी : सुदूर पश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले निशुल्क बितरण गर्नुपर्ने  औषधीका लागि तेस्रोपटक आह्वान गरेको टेण्डर पनि रद्द गरेको छ । मन्त्रालयले जेठ १३ गते जारी गरेको सूचनामा तेस्रो पटकको टेण्डर समेत रद्द गरिएको जानकारी दिइएको छ ।

मन्त्रालयका सचिव गोगन बहादुर हमालले हस्ताक्षर गरेको सूचनामा औषधी खरीदका लागि मागिएका बोलपत्रहरु अस्वीकृत भएको र सम्पूर्ण खरीद प्रक्रिया नै रद्द गरिएको उल्लेख छ । बोलपत्रहरु अस्वीकृत हुनुको कारण कुनै पनि बोलपत्र सारभूत रुपमा प्रभावग्राही नभएको भनिएको छ । टेण्डर प्रक्रिया रद्द गर्दा पहिलो र दोस्रोपटक पनि यही कुरालाई कारण मानिएको थियो । 

तेस्रो पटक अकाश मेडिसिन डिस्ट्रिब्युटर्स काठमाण्डौं, गिताश्विनी फर्मास्ट्युकल्स काठमाण्डौं, हिमसागर मेडिकल हल पोखरासहित धनगढीमा आपुर्तिकर्ता ड्रग सेन्टर, तिवारी मेडिसिन डिस्ट्रिब्युटर्स, यसोदा फार्मेसी र डिबि मेडिसिन सेन्टरले टेण्डर हालेका थिए ।

मन्त्रालय को प्राविधिक टीमले डिबि मेडिसिन सेन्टर धनगढीलाई मात्रै टेण्डर पर्ने गरी मापदण्ड निर्धारण गरेको  आरोप लाग्दै आएको छ । तेस्रो पटक पोखराको हिमसागर मेडिकल हलले सबैभन्दा कम मुल्यमा औषधी उपलब्ध गराउने भन्दै टेण्डर हालेको थियो ।

मन्त्रालयले खरीद प्रक्रिया नै रद्द गरेपछि प्रदेशका स्वास्थ्य संस्थाहरुमा निशुल्क तिरण गर्नुपर्ने औषधीको अभाव हुन सक्ने देखिन्छ ।