संसदीय समितिका सभापति चयन नगरी अन्त्य भयो सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशन

संसदीय समितिका सभापति चयन नगरी अन्त्य भयो सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशन

धनगढी । सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिको सभापति चयन नगरी दोस्रो अधिवेशन अन्त्य भएको छ ।

सभामुख भिमबहादुर भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढ्दै सभाको दोस्रो अधिवेशन बिहिबार राति १२ बजे अन्त्य हुने सभामा जानकारी दिएका हुन् ।

जेठ ७ गते बसेको प्रथम अधिवेशनबाट गठन भएको संसदीय समितिले दोस्रो अधिवेशनमा सभापति पाउन सकेको छैन् । सभापतिका लागि असोज ११ गतेको निर्वाचन कार्यसूचि सार्वजनिक गरेका सभामुख भण्डारीले सरकारको अनुरोधमा स्थगित गरेका थिए ।

यहि अधिवेशनमा सभापति पाउने र बैठक बसाल्न सजिलो हुने अनुमान गरेका प्रदेश सभा सदस्यहरुले बैठक अन्त्य भएपछि अर्को अधिवेशन कुर्नुपर्ने भएको छ ।
सभापति नहुँदा ज्येष्ठ सदस्यको संयोजकत्वमा विषयगत समितिका बैठकहरु बसाउनुपर्ने अवस्था रहेको प्रदेश सभा सदस्यहरुको भनाई छ ।

सरकारको प्रभावमा पर्दा प्रदेश सभाको सभापति चयन हुन नसकेको जनाइएको छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेश्मलाल चौधरीले दुई समितिको सभापति पाउनुपर्ने सहमति भएको भन्दै सभामुखले निर्वाचन तालिका सार्वजनिक गर्दा स्थगित गराएका थिए ।

सरकारले दुई विषयगत समिति थप गर्ने तयारी गरेपछि प्रदेश सभा सदस्यहरुनै असहमति भएपछि समिति बन्न सकेको छैन । जसका कारण सभापति चयन हुन नसकेको नेताहरुको आरोप रहेको छ ।
जनमैत्री कानुन प्रवेश गरेनन्
जेठ १३ गतेदेखि शुरु भएको दोस्रो अधिवेशनमा २८ बैठक बसेका छन् । सो अधिवेशनले प्रदेशको चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याउनुका साथै विनियोजन विधेयक २०८० सभाबाट पारित भएका छन् ।

बैठकले सात सदस्यिय नियमावली संशोधन समिति गठन गर्ने प्रस्ताव पेश गरेकोमा विरोधका कारण सो समिति खारेज गरेको छ भने सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक, सार्वजनिक लिखत प्रमाणिकर ऐनलाई पहिलो संशोधन गर्न बनेको विधेयक पारित गरेको छ ।

विजनेश विहिन बनेको सभाले आम नागरिकको चासो रहने जनमैत्री विधेयकहरु सरकारबाट पेश नहुँदा ल्याउन सकेन् ।