नेताको आपसी इगो र अविश्वासको भुमरीमा सुदूरपश्चिम अधिवेशन

नेताको आपसी इगो र अविश्वासको भुमरीमा सुदूरपश्चिम अधिवेशन

धनगढी । यति बेला एमाले नेता कार्यकर्ताहरूको मुखमा झुन्डिएको भाष्य हो – ‘मिसन ०८४, बहुमतको सरकार ।’ तर यति बेला चलिरहेको सुदूरपश्चिमको प्रदेश अधिवेशनका क्रममा प्रदेशका प्रभावशाली नेताहरू एकलाई अर्काप्रति गहिरो अविश्वास र इगोको व्यवहार छताछुल्ल भइरहेको छ । मूल प्रवाहमा देखिएका नेताहरू लेखराज भट्ट, कर्ण थापा र दामोदर भण्डारीको दाउपेचमा प्रदेश अधिवेशन घुमिरहेको छ । उनीहरु एकले अर्कोलाई स्विकार्दैनन् । पार्टी बलियो भन्दा पनि आफू र आफ्नो गुट बलियो बनाउने चक्करमा उनीहरु देखिन्छन् । 

मंगलबार दिउँसोसम्म लेखराज भट्टले थापा र भण्डारीलाई विश्वास नगर्ने, कर्ण थापाले लेखराज र दामोदरलाई विश्वास नगर्ने र दामोदरले पनि थापा र भट्टलाई स्वीकार नगर्ने रवैया सार्वजनिक जानकारीमै थियो । रणबहादुर चन्दको नाम लेखराज सुन्नै नचाहने, दामोदर जुनसुकै मूल्यमा पनि रणबहादुर चन्द सचिव हुनुपर्ने र कर्ण थापा जुनसुकै मूल्यमा पनि जैसी अध्यक्ष हुनै पर्ने आपसी संघर्ष चलाइरहनुुले पनि उनीहरूबिचको आपसी अविश्वासको गहिराइको प्रकटीकरण भइरहेकै थियो ।

 अर्कोतिर, लामै समयदेखि रिङबाट धेरै टाढा  किनारमा राखिएको भीम रावलसमर्थित नेता कार्यकर्ताहरुले पनि यस अधिवेशनसम्म आत्मसमर्पण गरिसकेका थिएनन्, छैनन् ।  तर कथंकदाचित बेग्लै समूहको अभ्यास गरिरहेको रावल समर्थित कार्यकर्ताको समूह रिङभित्र प्रवेश पाउने परिस्थिति निर्माण हुने अवस्थामा भने नेता भट्ट, थापा र भण्डारी एक ठाउँमा जुट्न बाध्य हुनै पर्ने अवस्था थियो । किन कि अधिवेशन हलभित्र ओलीले बोल्दै गर्दा भीम रावल ख्वै भन्ने नारासमेत लगाएर आफ्नो उपस्थिति देखाएपछि त बाल कोट र वरिपरिका लागि अधिवेशनमा भीम रावलको नाममा कसैको इन्ट्री पूर्णयतास् अस्वीकार्य थियो र छ । 

यहीँ चक्करको चपेटामा निर्वाचन तालिका परिरहेको थियो । अधिवेशनको तेस्रो दिन मंगलबार अपराह्न पाँच बजेदेखि मतदान हुने तालिका निर्वाचन समितिले सोमबार साँझै सार्वजनिक गरेको थियो । तर निर्धारित समयमा मतदान त के उम्मेदवारीको अन्तिम नामावलीसमेत प्रकाशन गर्न सकेन । समितिले पटक पटक अवधि थप्दै बुधवार बिहान ९ बजे अन्तिम नामावली प्रकाशसनको समय लम्ब्याएको छ ।

मंगलबार दिनभर कोर्सहरु चेन्ज भइरहेका थिए । सुरुदेखि नै नेता भट्ट, थापा र भण्डारीले बेग्लाबेग्लै नेताहरूलाई अध्यक्ष पदका लागि उम्मेदवार बोकेका थिए । भट्टले बचनबहादुर सिंह, थापाले कृष्णप्रसाद जैसी र भण्डारीले कमल तिमिल्सिनालाई बोके । जुनसुकै मूल्यमा पनि आफूले बोकेका नेतालाई नै अध्यक्ष बनाउने संकल्प लिएजस्तो प्रस्ट देखिन्थ्यो । अघिल्लै दिनदेखि अधिवेशन स्थलमा भएका प्रतिनिधिहरू भण्डारीले बोकेका कमल तिम्सिना बलियो उम्मेदवार देखिएका र उनले नै चुनाव जित्न सक्छन् भन्ने आंकल सुनाइ रहेका थिए । 

तर मंगलबार साँझ नेताहरूबिच समझदारीको एउटा खाका बनेको खबर सार्वजनिक भयो । अध्यक्षमा थापाले अघि सारेका उम्मेदवार जैसीलाई समर्थन र अन्य पदाधिकारीमा भण्डारीको भाग कायम हुने गरी कुरा मिल्यो भन्ने खबर आयो । तर त्यस बसाइमा लेखराज भट्टले असहमति जनाउँदै बच्चनबहादुर सिंहलाई नै अध्यक्ष प्रस्ताव गरेपछि पूर्ण समझदारी भने हुन सकेको थिएन । तर थापा र भण्डारीबिच कुरा मिलेपछि भट्टको हालत भीम रावलको भन्दा फरक नहुने देखियो ।

दिनभर कमल तिम्सिना बलिया उम्मेदवार रहेको चर्चाका माझ जुनसुकै मूल्यमा पनि जैसीलाई अध्यक्ष बनाइ छाड्ने सुरुदेखिकै मिसनमा रहेका नेता थापाले दिउँसोतिर भीम रावल समर्थित प्रतिनिधिको समर्थन जुटाएर भए पनि आफ्नो मिसन पुरा गरिछाड्ने संकेतहरु देखिएका थिए । स्रोतका अनुसार त्यो संकेत बाहिरिएपछि कुनै पनि हालतमा भीम रावलको नाम रिङभित्र प्रवेश गर्न पाउनु हुन्न भन्नेमा निर्मम रहेको बाल कोट र त्यस वरिपरिको नेतृत्वले कर्ण थापाले रावलको समर्थन जुटाउन सक्ने सम्भावनाका संकेतहरु पाएपछि भट्ट, थापा र भण्डारीलाई एक ठाउँमा आएर आपसी समझदारी गर्न कडाइका साथ निर्देशन जारी गरेको थियो । त्यसपछि उनीहरु तीनै जना एक ठाउँ“मा बसेर भागबन्डा गर्न बाध्य भएका थिए । भण्डारीका लागि आन्तरिक रूपमा बनाउनै पर्ने व्यक्ति रणबहादुर चन्द मात्रै रहेकोले उनले अध्यक्षमा अघि सारेका तिमिल्सिनाको नामलाई कम्परमाइज गर्दिन खासै कठिनाइ थिएन । भण्डारीले अध्यक्ष बाहेकका सबै पदाधिकारी लिने समझदारी गरिदिए । त्यस अवस्थामा तिम्सिना फगत उम्मेदवार हुने अवस्था सिर्जना भएको थियो । 

तर लेखराज भट्ट रिङ बाहिर पर्दा हुनसक्ने नोक्सानीप्रति बाल कोट सचेत थियो । अर्कोतिर कर्ण थापा भीम रावल समूहप्रति सफ्ट देखिएको छनक र त्यसले निम्त्याउने जोखिमलाई बाल कोटको घेराले मेट्न चाह्रयो र थापालाई कस्यो । परिणामस्वरूप थापा र भण्डारी एक ठाउँमा उभिन बाध्य भए । र, मंगलबार साँझ थापाको च्वाइसमा जैसी अध्यक्ष हुने र अरु सबै पदाधिकारीमा भण्डारीको रोजाई मान्ने भन्ने समझदारी बन्यो । तर त्यो पनि अपूर्ण रह्यो । लेखराज भट्टको पनि मन राख्नकै लागि केही उपायको खोजी गर्नु थियो । तर प्राविधिक हिसाबले त्यो सम्भावना टाढिइरहेको देखिन्थ्यो । मंगलबार राति लेखराजलाई बाहिर राखेर थापा र भण्डारी समूहको मात्र बसाई हुनु, उम्मेदवारी नै नदिएकाहरुको नाम पनि पदाधिकारीको सूचिमा सार्वजनिक हुनु, भट्टको समर्थन प्राप्त अध्यक्ष पदका उम्मेदवार बचन सिंहले आफ्नो उम्मेदवारी कायम रहेको सामाजिक सञ्जालबाटै सार्वजनिक गर्नु लगायत त्यसभित्रका कसरतका छिटाहरु हुन् । 

अर्कोतिर, सुरुदेखि नै किनारामा राखिएको भीम रावल समर्थित प्रतिनिधिहरूले आफ्नो समूहप्रति बाल कोट थप एग्रिसिप बनेको थाहा पाएपछि आत्मसमर्पण नगर्ने र निर्वाचनमा जानेसम्मका रणनीति बनाउने प्रयास गरिरहेको देखिएको छ । यी सबै परिचक्रहरुको परिणाम अन्ततः मिसन ०८४ एकातिर र पार्टीभित्रको कटुता अर्कोतिर स्थापित भएर झांगिदै जाने सम्भावना रहेको भन्दै पार्टीको हित र विजय चाहने प्रतिनिधिहरू भने चिन्तित देखिन थालेका छन् ।