''चेकजाँच गराए मानसिक रोग ठिक हुन्छ''

''चेकजाँच गराए मानसिक रोग ठिक हुन्छ''

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाकी सूचना (नाम परिवर्तन) बर्बराउने, रिस धेरै उठ्ने, झर्किने, आफैँ बोल्नेलगायतका समस्या भोगिरहेकी थिइन् । पाँच वर्षअघिदेखि कोही नजिक आएर बोल्दा उनी झोर्किदै चर्को स्वँरमा बोल्ने गर्थिन् । 

स्वास्थ्य संस्था तथा अस्पतालमा उपचार नगराउँदा उनी झण्डै ४ वर्षसम्म  रोगबारे अनविज्ञमात्र बनिन् उपचार गराउनेबारे पनि जानकारी पाइनन् ।

यो समस्या बढ्दै गएको चार वर्ष बित्दा समेत उनले उपचार गर्नुपर्छ भन्ने भान पाइनन् । मानसिक समस्यासंग जुधिरहेकी सूचनालाई घरपरिवारले ‘भुत लागेको’ भन्दै बेला–बेला धामीझाँक्री कहाँ लग्थे । तर, पनि उनको समस्या निदान हुनुभन्दा बढ्दै गयो । 

‘आफ्नो उपचार कहाँ र कसरी गर्ने भन्ने भेउ नै थिएन मलाई । न घर परिवारले ध्यान नै गयो । बरु धामी झाँक्री हेराउनेतर्फ लागे परिवार ।  सबैले धामी कहाँ हेराउने गर्न थाले । घरेलु उपचार र वैद्यका पनि पुगे,’ उनले विगत सम्झदै भनिन, ‘जति गर्दा पनि निको हुने कुनै लक्षण देखिएन ।’ 

गत वर्षमात्र उनले आफनो स्वास्थ्य समस्याबारे थाहा पाइन् । भारतको लखनउस्थित अस्पताल पुगेकी उनलाई चिकित्सकले मानसिक समस्या रहेको जानकारी दियो । 

चिकित्सकले चेकजाँच गरेपछि अहिले उनी चिकित्सकको सुझाव अनुसार औषधि सेवन गरिरहेकी छिन् । औषधि सेवनपश्चात स्वास्थ्यमा सुधार हुँदै गएको उनको भनाई छ । 

समस्याको उपचार पनि छ भन्ने कुरा जानकारी नपाएकी उनलाई वडाध्यक्षले चिकित्सकसंग चेकजाँच गराउन सुझाव पाएकी थिइन् । ‘वडा अध्यक्षले भनेपछि घरभित्र कुरा राखे’ उनी भन्छिन् –‘सुरुमा घरकाले पनि अस्पताल लैजाने सोचेका थिएनन् । तर, पछि लखनउ लगेर उपचार गराए ।’ 

रोगबारे जानकारी पाएपछि स्वयमसेविकामार्फत उनी झण्डै ६ महिना अघि कोसिस नामक संस्थासंग जोडिइन् । कोसिससंग जोडिनुभन्दा अघि उनलाई धेरै कुराको जानकारी थिएन् । औषधि खाए पनि तनावमुक्त भने उनी भएकी थिइनन् । कोसिसमा आएपछि तनावमुक्त भएको उनी बताछिन् । 

‘पहिले एक्लोपनको महसुस हुन्थ्यो तर अब हुँदैन,’ उनी भन्छिन्, ‘आफूलाई केही छैन भन्ने जस्तो लाग्थ्यो तर अब सबै मेरो साथमा छन् जस्तो हुन्छ ।’ कोसिसले आफूलाई बोल्न पनि सिकाएको उनले बताइन् । 

मानसिक समस्या सुधार हुँदै गएपछि उनी अब केही गरेर खानुपर्छ भन्ने सोच बनाईरहेकी छिन् । उनले जिविकोपार्जनका लागि व्यापार गर्ने सोच बनाएकी छिन् । आफूजस्ता समस्या भएकाले व्यक्तिहरुका लागि कोसिस सहयोगी बनेको भन्दै उनी भन्छिन्, ‘औषधि नै नपाएर समस्यामा परेकाहरु कोसिसको सम्पर्कमा आयो भने सहज हुन्छ ।’ उनी आफै पनि फेरि सोही समस्या नदोहोरियोस् भन्नेमा सचेत छिन् । 

‘कोसिस जस्तै मनोसामाजिक अपाङ्गता भएकाहरुलाई यसतर्फ स्थानीय सरकार र सामाजिक सङ्घसंस्थाले सहयोग गर्नुपर्छ,’ उनले भनिन् । सरकारले पनि अत्यावश्यक ठाउँमा विशेषज्ञसहित स्वास्थ्य सेवा पुर्याउनुपर्ने उनको सुझाव छ । ‘मनोसामाजिक अपाङ्गता भएकाहरु अहिले पनि भारत जानुपर्ने बाध्यतालाई सरकारले हटाउनुपर्छ,’ उनले भन्छिन्, ‘यहीँ सहज उपचारको व्यवस्था गर्नुपर्छ ।’

समस्याको कारण

सूचनादेवीका श्रीमान मदिराको लतमा थिए । मदिरा पिएर श्रीमानले सँधै झगडा गर्ने र कुट्ने गर्न थालेपछि उनी समस्यामा परेकी हुन् । ‘मलाई कुटपिट र तनाव हुन थालेपछि यस्तो अवस्था आएको हो,’ उनी भन्छिन्, ‘अलिकती तनाव भएपनि यस्तो समस्या हुन्छ ।’

उनी दोस्रो श्रीमती हुन् । पहिलो श्रीमतीले एक छोरा र एक छोरी छोडेर गएपछि उनका श्रीमानले उनलाई १५ वर्षको उमेरमै भित्र्याएका थिए । ‘१५ वर्षकै उमेरमा घरकाले बिहे गरिदिए,’ उनले भनिन्, ‘माइतीको अवस्था पनि कमजोर भएपछि उनीहरुले सानैमा विवाह गरेका हुन् ।,’

समस्या देखिनुपूर्व उनलाई घरको कामकाज गर्न समस्या थिएन । तर बिरामी भएपछि उनलाई अहिले काम गर्न समस्या भएको छ । पहिला भन्दा स्वास्थ्य कमजोर भएको हुन्छ । अझै पनि काम गर्ने उनलाई आँट आउँदैन । यद्यपि पहिले भन्दा सुधार भने हुँदै गइरहेको उनी बताउँछिन् ।

स्वास्थ्य सेवा निःशुल्क र समान पहुँच पाउने प्रत्येक नागरिकको संविधानप्रदत्त मौलिक हक पनि हो । अहिले स्थानीय सरकार अर्थात् स्थानीय तहलाई नै स्वास्थ्य संस्था सञ्चालन, औषधि तथा स्वास्थ्य उपकरण व्यवस्थापनको अधिकार हुनाले सामान्य स्वास्थ्य समस्यालाई जटिल बन्न नदिन जनप्रतिनिधिहरूको भूमिका महत्वपूर्ण हुनपर्छ । 

गरिव र समस्यामा परेकाहरुलाई सहज रुपमा उपचार पाउन कोसिस जस्ता संस्था र स्थानीय सरकार मिलेर काम गर्नुपर्ने उनको सुझाव छ ।