आक्रमणबाट मृत्यु भएका १० जना नेपालीको शव नेपाल ल्याउने तयारी

आक्रमणबाट मृत्यु भएका १० जना नेपालीको शव नेपाल ल्याउने तयारी

काठमाडौँ । प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट मृत्यु भएका १० जना नेपालीको शव नेपाल ल्याउने तयारी थालिएको छ । शव नेपाल पठाउन इजरायल सरकारसँग समन्वय भइरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले आइतबार राती एक विज्ञप्ति जारी गर्दै इजरायलमा कार्यरत नेपाली स्वदेश फर्किन चाहे सरकारले आवश्यक प्रबन्ध गर्ने जनाएको छ ।

दूतावासले इजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामा र त्रासमा रहेका नेपाली नागरिकहरूको आवश्यकताअनुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि अनलाइन रजिष्ट्रेशन दर्ता गर्न अनुरोध गरेको छ । दर्ताका लागि दूतावासले उपलब्ध गराएको लिंकमा गएर आफ्नो विवरण राख्न भनेको छ ।

साथै, दूतावासले इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई संयमता अपनाई दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न पनि अनुरोध गरेको छ ।  

गैरआवासीय नेपाली संघ (एनआरएन) इजरायलका अध्यक्ष कृष्ण भण्डारीले दिएको जानकारीअनुसार, हमासको आक्रमणमा  मृत्यु हुनेमा कैलाली घोडाघोडी- ४ का नारायणप्रसाद न्यौपाने, कैलाली बौनिया-३ का आशीष चौधरी, दार्चुला लेकमा-५ का दीपेशराज विष्ट, दार्चुला मालिकार्जुन- ४ का लोकेन्द्रसिंह धामी, बझाङ जयपृथ्वी- ६ का गणेशकुमार नेपाली, धनुषा सपाही- ६ का आनन्द साह, सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकार, डोटी पचनली-३ का राजन फुलारा, डोटीकै लमिखाल-८ का पदम र सल्यान सारदा-३ का प्रवेश भण्डारी छन् । 

अन्य चार जना अस्पतालमा उपचाररत छन् । घाइतेहरूमा सल्यान सारदा-२ का विधान सेजवाल, दाङ दङ्गिशरण-३ का प्रवीण डाँगी, कैलाली टीकापुर-९ का धनबहादुर चौधरी, गोरखा-८ गोर्खाका हिमान्चल कट्टेल र कंचनपुर भीमदत्त-३ का विपिन जोशी छन् । 

सल्यान त्रिवेणी-१ का प्रमोद केसी बोस कस्टडी (रोजगारदाता किसानको संरक्षणमा) र कैलाली भजनी त्रिशक्ती-४ का वीरेन्द्र चौधरी प्रहरी कस्डडीमा सुरक्षित छन् । 

१७ जना नेपाली विद्यार्थी रहेको सेदोत नेगेभमा हमासको आक्रमणपछि हिजो १७ मध्ये १२ नेपाली विद्यार्थी सम्पर्कविहीन थिए । तीमध्ये १० जनाको मृत्यु भएको अध्यक्ष भण्डारीले बताए ।

 प्रभावित सबै विद्यार्थी सुदूरपश्चिम विश्वविद्यालय कृषि संकायअन्तर्गत (टिकापुर बहुमुखी क्याम्पस ) का रहेको बताइएको छ ।
इजरायलमा सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत कुल २ सय ६५ विद्यार्थी इजरायल गएका छन् । तीमध्ये ४९ जना सुदूरपश्चिम विश्वविद्यालयका हुन् । त्यसमा पनि प्रभावित १७ जना सुदूरपश्चिम विश्वविद्यालयकै हुन् । 

इजरायल प्यालेस्टाइनको हमास समूहको युद्धमा परी ६ सय भन्दाबढी इजरायलीको मृत्यु भइसकेको छ भने एक सय भन्दा बढी व्यक्ति अपहरणमा परेको बताइएको छ ।