चाडपर्व नजिकिँदा खाद्य बिक्री केन्द्र बन्द

चाडपर्व नजिकिँदा खाद्य बिक्री केन्द्र बन्द

डडेलधुरा । चाडबाड नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट सञ्चालित खाद्यान्न बिक्री केन्द्र बन्द हुने गरेको पाइएको छ । सदरमुकाम अमरगढीमा रहेको उक्त कार्यालय एक जना कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ । 

दसैँतिहार नजिकिँदै गर्दा बिक्री केन्द्र बन्द हुने गरेको गुनासो उपभोक्ताको छ । बिक्री केन्द्र बन्द हुँदा बजारको भन्दा सस्तो मूल्यमा चामललगायत खाद्य सामाग्री खरिद गर्न स्थानीय वञ्चित भएका छन् । नेपाल खाद्य संस्थान सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले यही असोज ४ गते दुई सय क्विन्टल मसिनो चामल सो केन्द्रमा पठाएको जनाएको छ । 

सो कार्यालयका निमित्त कार्यालय प्रमुख एन्जिला बस्नेतले उपभोक्ताको सुविधाका लागि चामल पठाइसकेको जानकारी दिए । सामान्यतया बजारमा मसिनो चामलको मूल्य प्रतिकेजी ९० रुपियाँ पर्छ ।  उनले भने, “हामीले सात रुपियाँ सस्तो गरेर ८३ रुपियाँ प्रतिकेजी मूल्यमा मसिनो चामल उपलब्ध गराएका छौँ तर बिक्री केन्द्र किन बन्द भयो जानकारी छैन । कार्यालय सहयोगी दानबहादुर निदालसँग सम्पर्क हुन सकेको छैन ।” 

कार्यालयमा एक जना मात्रै कर्मचारी हुँदा बिहान १० देखि दिउँसो १ बजेसम्म मात्रै बिक्री केन्द्र खुला रहने गरेको बताइएको छ तर ग्राहक आउने बेला बन्द हुने गरेको गुनासो स्थानीयको छ । चामल लिन आउनेको भिड लाग्ने गरेकाले पनि कार्यालय सहयोगी बन्द गरेर हिँडेको हुन सक्ने बताइनछ । 

चामलको माग अनुसार आपूर्ति गर्न नसकेपछि एक जनालाई २५ केजीको एक कट्ठा मात्रै उपलब्ध गराउने गरिएको छ । २५ केजीको एक कट्ठालाई एक हजार ३५० रुपियाँ पर्छ । बजारभन्दा सस्तो मूल्यमा चामल पाइने भएपछि बिक्री केन्द्रमा चामल किन्नेको भिड बढ्न थालेको छ । 

मोटो चामल खरिद गर्ने ग्राहक भए पनि आपूर्ति हुन सकेको छैन । डडेलधुरा बिक्री केन्द्रमा विगत एक वर्षयता मसिनो चामलको अभाव देखिएको थियो । गत भदौ महिनासम्म मोटा चामल मात्रै बिक्री गरिरहेको यस केन्द्रमा मोटा चामल आउन सकेको छैन । 

मसिनो चामल आए पनि बिक्री केन्द्र भने पूर्ण रूपमा खुलेको छैन । कुनै सूचना, जानकारीबिना नै बिक्री केन्द्र बन्द गरिएपछि चामल खरिद गर्न बागबजारको बसपार्कमुनि रहेको केन्द्रमा पुगेकाहरू रित्तै हात फर्किन बाध्य भएको स्थानीय दुर्गा भट्टराईले दुःखेसो पोखे । 

“सस्तो र राम्रो चामल पाइन्छ भनेर ७० रुपियाँ (एकतर्फी) गाडीभाडा तिरेर पोखराबाट यहाँसम्म आइपुगे,” उहाँले भन्नुभयो,“यहाँ पुग्दा त कार्यालय बन्द छ । अब रित्तो हात फर्कंदै छु ।” उनी लगायत टाढा टाढाबाट बिक्री केन्द्र पुग्नेको समस्या यस्तै देखिएको छ । कहिले चामल सकिने, कहिले बन्द हुने समस्या रहेको गुनासो स्थानीयको छ ।

 

गोरखापत्रबाट