बाटो खुलेपछि बाजुराका किसानले गरे स्याउ टिप्न सुरु

बाटो खुलेपछि बाजुराका किसानले गरे स्याउ टिप्न सुरु

बाजुरा । बाजुराका किसानले स्याउ टिप्न सुरु गरेका छन् । बाजुराको अर्गानिक स्याउ बिक्रीका लागि बाहिर लग्नेगरी पालिका र कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदान समेतको व्यवस्था गरेको छ ।

साँफे–मार्तडी र मार्तडी–कोल्टी सडक मर्मत भएसँगै  किसानले स्याउ टिप्न सुरु गरेका हुन् । बाजुराको अर्गानिक स्याउ बाहिर लग्न ढुवानी अनुदान दिएसँगै किसानले स्याउ टिप्न थालेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

पछिल्लो समय बारीमा स्याउ राम्रो फल्नेगरेको भए पनि बिक्रीका लागि भने निकै समस्या हुनेगरेको थियो । बाहिर लग्न अनुदान मिलेपछि स्याउ बिक्रीमा सहज भएको स्वामिकार्तिक वडा नम्बर १ जोरु स्याउ किसान धनबहादुर रावलले बताए ।

उनले भने, “असोज महिनाको पहिलो हप्ता नै बारीमा स्याउ पाक्न सुरु भएका हुन् । बाटो अवरुद्ध भएकाले ती स्याउ रुखमै थिए । बल्ल अहिले बाटो खुलेपछि स्याउ टिप्न सुरु गरेको हो ।”

बाजुरामा अधिकांश किसानको पछिल्लो समय स्याउ उत्पादनमा निकै चासो बढ्दैगएको छ । यता स्याउ पाक्ने बेलामा सधै सडक अवरुद्ध हुँदा बिक्रीमा समस्या आउनेगरेको रावलले बताए ।

मार्तडी–कोल्टी सडक अवरुद्ध भएका कारण केही समय स्याउ बारीमा रहेको थियो । यतिबेला सडक सुचारु भएसँगै किसानले स्याउ टिप्न सुरु गरेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरिप्रसाद पनेरुले बताए ।

उहाँले स्थानीय सरकार ४० र कृषि ज्ञान केन्द्र बाजुरा ४० र कृषकको २० प्रतिशत लगानीमा बाजुरामा उत्पादन भएको अर्गानिक स्याउ बिक्रीका लागि जिल्लाभन्दा बाहिर लैजाने तयारी भएपछि किसानले स्याउ टिप्न सुरु गरेको बताए ।

बाजुराको हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दा र गौमुल खप्तड छेडेदहलगायतका किसानले बिक्रीका लागि बाहिर लग्नेगरी स्याउ टिप्न सुरु गरेको छ ।

 

गोरखापत्रबाट