पुल निर्माणमा लापरबाही

पुल निर्माणमा लापरबाही

डडेलधुरा : पहिलो पटक स्ल्याब राखेको चौथो दिनमा दुवैतिरका बिम भाँचिएर पुल भत्कियो । गुणस्तरहीन सामग्री प्रयोग गरेर बिम र स्ल्याब राखेका कारण पुल भत्किए पनि सडक विभागका कर्मचारी र निर्माण कम्पनीको मिलोमतोमा खोलाले बगाएको रिपोर्ट बनाइयो । प्रतिवेदनमा गुणस्तरहीन सामग्री प्रयोग भएको विषयमा कुनै उल्लेख नै भएन । 

दोस्रो पटक पुल पुनः निर्माण सुरु भएको २ महिना पनि नबित्दै गणेश पर्वतबाट बग्ने हुरागाडमा आएको बाढीले अधिकांश निर्माण सामग्री बगाएपछि निर्माण कार्य रोकियो । निर्माण कम्पनीका प्रतिनिधिले बगेको सामानभन्दा दोब्बर बढी परिमाणमा निर्माण सामग्री बगेको देखाएर थप अनियमिततामा हस्ताक्षर गरे ।

डडेलधुरा र बैतडीका ६ स्थानीय तहलाई जोड्ने पुल भागेश्वर र अजयमेरु गाउँपालिकाको सीमानामा निर्माण हुन थालेको ५ वर्ष पुग्न थालेको छ । क श्रेणीको बिकोई बिल्डर्सले ४ वर्षअघि ५ करोड रुपैयाँमा निर्माण सम्झौता गरेको पुल ५ वर्ष पुग्नै लाग्दासमेत निर्माण हुन सकेको छैन ।
२ वटा नदीको संगममा इस्टिमेट गरिएको पुलको प्राविधिक इस्टिमेट पनि त्रुटिपूर्ण भएको प्राविधिकले बताएका छन् । ‘४० मिटर लामो मोटरेवल पुल निर्माणका लागि यति धेरै समय नै लाग्दैन,’ निर्माण कार्यमा संलग्न एक जना सब–इन्जिनियरले भने, ‘केही प्राविधिक त्रुटि भयो केही लापरबाही र अनियमितताका कारण पुल निर्माण हुन नसकेको हो ।’

पटकपटक पुल निर्माणमा भइरहेको बेथितिका विषयमा स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र सडक डिभिजन कार्यालयलाई स्थानीयले जानकारी पनि दिए । तर कुनै पनि निकायले यस विषयमा चासो राखेनन् । पछिल्लो समय पुनः वर्षातको मुखमा आएर पुल निर्माण सुरु गरिएको छ । एकातिरबाट गणीका नदी र अर्कोतिरबाट हुरा खोलाको संगम हुने ठाउँमा निर्माण भइरहेको पुल यस पटकको वर्षातले फेरि बगाउने निश्चितजस्तै छ ।

तर पनि धमाधम निर्माण कार्य जारी रहेको छ । ‘कुनै पनि दिन दुवै नदी उर्लेर आए भने पुल बगेको खबर सुन्दा कसैले आश्चर्य नमाने हुन्छ,’ स्थानीय बासिन्दा तथा सब–इन्जिनियर हरि भण्डारीले भने ‘निर्माणस्थल नै अनुपयुक्त छ ।’ पुलको दुवैतिरबाट बग्ने नदीले निर्माण भइहाले पनि पुल सुरक्षित रहन नसक्ने उनले बताए ।

निर्माणका क्रममा पनि लापरबाही मात्र होइन चरम अनियमितता भइरहेको छ । निर्माणस्थलमा जताततै निर्माण सामग्री छरिएको छ । छड, गिट्टी, बालुवा र सिमेन्ट जथाभावी चारैतिर फालिएको छ । केही निर्माण सामग्री पानीमा बग्न थालेको छ भने केही स्थानीयले खेत नजिक लुकाएका छन् । निर्माण स्थलमा नपुग्दै निर्माण सामग्री स्थानीय बजारमा बिक्री हुनु, मोलमोलाई हुनु सामान्यजस्तै भइसकेको छ । यसअघि पनि ठूलो माक्रामा निर्माण सामग्री स्थानीय बजारमा बित्रस् भइसकेको छ ।

‘स्थानीय तहका जनप्रतिनिधि र कुलपाते सडक डिभिजन कार्यालयका इन्जिनियर महानन्द जोशीलगायतलाई पटकपटक पुलमा गुणस्तरहीन सामग्री प्रयोग गरिरहेको जानकारी गराएको हुँ’ नेकपा नेता तथा स्थानीय बासिन्दा दानबहादुर चन्दले भने, ‘निर्माण कम्पनी र सडक डिभिजनका कर्मचारीको मिलोमतोमा अनियमितता गरिएका कारण पुल बन्न नपाउँदै भत्किएको हो ।’ यस पटक पनि गुणस्तरहीन सामग्री प्रयोग भइरहेको उनले जानकारी दिए ।

‘यस पुलमा धेरै गुनासो आएको हाे,’ भागेश्वर गाउँपालिकाका कार्यकारी अधिकृत खगेन्द्र भारतीले भने, ‘सडक डिभिजनका इन्जिनियरको प्रत्यक्ष निगरानीमा निर्माण भइरहेको पुलमा स्थानीय तहले कानुनी हस्तक्षेप गर्ने बाटो थिएन ।’ गाउँ कार्यपालिकाबाट निर्णय गराएर छानबिन गर्ने तयारी भइरहेका बेला पुल भत्किएको उनले बताए ।