बन्दुक पड्काउने हिंसा मात्र नभई मुलुक भ्रष्टाचारको पनि हिंसाबाट ग्रसित – रामचन्द्र पौडेल

बन्दुक पड्काउने हिंसा मात्र नभई मुलुक भ्रष्टाचारको पनि हिंसाबाट ग्रसित – रामचन्द्र पौडेल

डोटी : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेत्रबिक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले शुरु गरेको बमबारुदको प्रयोग देशका लागि शुभसंकेत नभएको बताएका छन् ।

जागरण अभियानका क्रममा डोटी पुगेका पौडेलले नेपाल प्रेस युनियन डोटीले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा यस्तो बताएका हुन् । 

गणतन्त्र दिवसको शुभकामना सहित धारणा दिन शुरु गरेका वरिष्ठ नेता पौडेलले यहि गणतन्त्र फेरी जोखिममा परेको बताए ।

‘लामो त्याग र बलिदानबाट हामीले यो लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका छौ,’ उनले भने ,‘तर, अहिले देखिन थालेका हिंसाका बछिटाहरुले यसका लागि शुभ संकेत दिईरहेका छैनन् ।’ यसैले गणतन्त्रको रक्षाका लागि पनि हिंसा रोक्न उनले आग्रह गरे । 

वरिष्ठ नेता पौडेलले जनतालाई रिझाएर आफ्नो अभिमत स्थापित गर्न विप्लप नेतृत्वको नेकपासंग आग्रह गरे । उनले भने, ‘बन्दुकको आडमा होईन, जनतलाई रिझाएर आफ्नो अभिमत स्थापित गर्न आग्रह गर्दछु ।’ 

जनताको विश्वास नभएका शक्ति राजनीतिक दल नै नभएको पनि उनले दाबी गरे । हिंसाको समाधान खोज्न सरकारसंग उनले आग्रह गरे ।

‘वार्ता र छलफलका माध्यमबाट निकास खोज्न सरकार पनि तत्पर हुनुपर्छ । यसले मुलूकलाई खतराबाट जोगाउन सकिन्छ,’ वरिष्ठ नेता पौडेलले थपे । 

बन्दुक पड्काउने हिंसा मात्र नभई मुलुक भ्रष्टाचारको पनि हिंसाबाट ग्रसित हुँदै गएको उनले बताए । उनले भने,‘बन्दुक पड्काउनेबाट त लोकतन्त्र असुरक्षित छ नै, साथै भ्रष्टाचारको हिंसाबाट पनि उत्तिकै असुरक्षा बढेको छ ।’ 

लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि मुलूकमा सुशासन र राजनीतिक स्थिरता हुनुपर्ने उनले औंल्याए । वर्तमान सरकार एकपछि अर्को गर्दै प्रतिगमनतर्फ लम्किरहेको पनि उनले आरोप लगाए ।

 ‘संविधान र लोकतन्त्रको मर्मविपरित आईहेका ऐननियमहरुले नागरिक अधिकार कुण्ठित गर्दैछन, विधिको शासन हड्पिदैछ,’ उनले भने, ‘यसले सरकारको नियत प्रतिगमन निम्त्याउनेतफै उद्दत छ भन्ने देखिन्छ ।’ 

उक्त पत्रकार सम्मेलनको अध्यक्षता नेपाल प्रेस युनियन डोटी शाखाका अध्यक्ष प्रकाश बमले गरेका थिए ।