सुदूरपश्चिममा भुकम्पः एकको मृत्यु, २७ घाइते

सुदूरपश्चिममा भुकम्पः एकको मृत्यु, २७ घाइते

धनगढी । सुदूरपश्चिम प्रदेशको बझाङलाई केन्द्र विन्दु बनाएर गएको भुकम्पमा परि २७ जना घाइते र एक जनाको मृत्यु भएको छ ।

प्रदेश प्रहरीका अनुसार मंगलबार दिउँसो गएको भुकम्प तथा पराकम्पका कारण सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानमा बुधबार विहानसम्म २७  जना घाइते र एक जनाको मृत्यु भएको जनाइएको हो ।

बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ ओखल गाउँकी ४५ वर्षिय गुनदेवी धामीको मृत्यु भएको जनाइएको छ ।
भुकम्पका कारण भौतिक क्षति प्रदेशका विभिन्न जिल्लामा भएको छ ।  प्रहरीका अनुसार भुकम्पका कारण ७५ घरहरु पुर्णरुपमा र तीन सय एक घरमा आंशिक क्षति पुगेको छ ।

प्रदेश प्रहरीका अनुसार एक सरकारी कार्यालयमा पुर्ण र ३२ वटामा आंशिक क्षति भएको छ । सुदूरपश्चिमका प्रहरी नायब महानिरिक्षक भरतबहादुर बोहराले सुदूरपश्चिमका पहाडी जिल्लाहरु बझाङ, बैतडी, डोटी र अछाम लगायतका जिल्लामा क्षति पुगेको बताए । 

सुदूरपश्चिमका प्रहरी नायब महानिरिक्षक बोहराका अनुसार बझाङमा मात्रै १८ जना घाईते भएका छन् भने १ जना बिपत्ता भएका छन् । त्यहाँ ३४ घरमा पुर्ण रुपमा क्षति भएको छ भने आंशिक रुपमा दुई सय ७५ घर तथा भवनमा क्षति भएको छ । 
उनले भने‘हामीले सुरक्षा ब्यवस्था र राहत तथा उद्धारलाई पनि चुस्त बनाएको छौँ । अहिले यहाँका जनताहरुमा डरत्रास निकै बढेको छ ।’ 

यस्तै, बैतडीमा पनि बिनासकारी भुकम्पका कारण २ जना घाईते भएका छन् । 
सुदूरपश्चिममा साना परकम्पहरू लगातार गइरहेका छन् । लगातार जमिन हल्लिरहे पछि खासगरी बझाङका स्थानीय मानिसहरु घरबाहिर निस्किएर खुला चौरमा रात काटेका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङको जयपृथ्वी नगरपालिका केन्द्रबिन्दु बनाएर दिउँसो २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टरको भूकम्प गएको थियो । त्यसको २६ मिनेटपछि सोही क्षेत्र केन्द्रबिन्दु बनाएर ६.३ रेक्टरको भूकम्प गएको थियो । भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्ला र कर्णाली प्रदेशमा समेत महसुस गरिएको थियो ।