‘क्यान’ का नवनिर्वाचित पदाधिकारीलाई धनगढीमा स्वागत तथा सम्मान

‘क्यान’ का नवनिर्वाचित पदाधिकारीलाई धनगढीमा स्वागत तथा सम्मान

धनगढी । नेपाल क्रिकट संघ ‘क्यान’ का नवनिर्वाचित पदाधिकारीहरु लाई स्वागत तथा सम्मान गरिएको छ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा आज धनगढीमा एक कार्यक्रमको आयोजना गरी सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेब जोशीको सभापतित्वमा खादा ओढाएर प्रमाणपत्र सहित स्वागत तथा सम्मान गरिएको हो । 

कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति तथा प्रादेशिक क्रिकेट संघका अध्यक्ष जोशीले शुदूरपश्चिममा क्रिकेटका लागि उपयुक्त खेलमैदान नभए पनि यहाँ खेलाडीहरु उत्पादन भईरहेको बताए । उनले भने–‘सुदूरपश्चिम प्रदेशमा उपयुक्त तथा राम्रो खेलमैदान नभए पनि यहाँका खेलाडीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल खेलीसकेका छन्’ । 

यस्तै, स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै नेपाल क्रिकेट संघका केन्द्रिय अध्यक्ष चतुरबहादुर चंन्दले अब सुदूरपश्चिम सरकार संग पनि समन्वय गरेर खेलाडीहरुका लागि खेलमैदान बनाउनका लागि र खेलाडीहरुलाई हौसला प्रदान हुने खालका योजना ल्याउने प्रतिबद्धता ब्यक्त गरे । उनले भने–‘देशका लागि खेल्ने खेलाडीलाई दिनुपर्ने सेवा सुबिधा तथा आत्मनिर्भर बनाउने अभियानका साथ हामी अगाडी बढ्छौँ । देशभर नै सबैभन्दा चुनौतीको रुपमारहेको स्टेडियम हो र यसलाई समाधान गर्न राष्ट्रिय खेलकुद परिषद्, सम्बन्धित निकाय वा सरकारसंग आग्रह गरी यसको ब्यवस्थापन गर्ने छौँ । देशका ४५ जिल्लामा भएका खेल मैदानलाई ब्यवस्थित गर्ने र अन्य जिललाहरुमा पनि पहिचान गरी सुर्वात गर्ने छौँ’ । 

भौतिक रुपले पछि परेको तथा देशकै चुनौतीको रुपमा रहेको सुदूरपश्चिममा पनि सरकार संग आग्रह गरी यहाँ क्रिकेट सम्बन्धि समस्याहरुलाई समाधान गर्ने अध्यक्ष चंन्दले बताए ।

अगामी दिनहरुमा क्रिकेट खेल बिकासका लागि तथा खेलाडीहरुको हकहितका लागि अगाडी बढ्ने नवनिर्वाचित केन्द्रिय सदस्य बिक्रम बिष्टले बताए । सुदूरपश्चिम क्रिकेट बिकासका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न पनि आग्रह उनले गरे । बिगतको भन्दा अहिलेको समयमा क्रिकेट खेलमा निकै चुनौती थपिएको नवनिर्वाचित केन्द्रिय धिरेन्द्र साउँदले बताए । दैनिक रुपमा क्रिकेटका गतिबिधिहरु आवश्यक रहेको उनले बताए । क्रिकेटको बिकासका लागि महिलाहरुको लागि पनि फरम्याटका आधारमा गएर खेलाउन आवश्यक रहेको पनि केन्द्रिय सदस्य साउँदले बताए । कैलाली र कंञ्चनपुरको क्रिकेट खेल मैदानको लागि आएको बजेटलाई सदुपयोग गर्ने र अन्य जिल्लाहरुमा पनि हातेमालो गर्दे अगाडी बढ्ने नव निर्वाचित केन्द्रिय सदस्य बिरेन्द्रबहादुर चंन्दले बताए । महिला तथा पुरुष खेलाडीहरु पलायन भईरहेको यो अवस्थामा पलायन हुन नदिन स्थानिय तथा प्रदेश सरकारलाई झकझक्याउने उनले बताए ।

सुदूरपश्चिमबाट केन्द्रिय अध्यक्ष चतुरबहादुर चंन्द सहित केन्द्रिय सदस्यहरु बिरेन्द्रबहादुर चंन्द, बिक्रक बिष्ट, धिरेन्द्र साउँद र जयन्ती भट्ट गरी पाँच जना निर्वाचित भएका छन् ।

कार्यक्रममा बिभिन्न जिल्लाका जिल्ला अध्यक्ष, खेलाडी, बिभिन्न संस्थाका प्रमुख एवम् प्रतिनिधि तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।