बहुक्षेत्रीय पोषण कार्यक्रम : डडेल्धुरामा ८१ प्रतिशत प्रगति

बहुक्षेत्रीय पोषण कार्यक्रम : डडेल्धुरामा ८१ प्रतिशत प्रगति

डडेल्धुरा : डडेल्धुरामा सञ्चालित बहुक्षेत्रीय पोषण कार्यक्रमको हालसम्म ८१ प्रतिशत प्रगति भएको तथ्यांक सार्वजनिक गरिएको छ। 

डडेल्धुरा सदरमुकाममा मंगलबार सम्पन्न बहुक्षेत्रीय पोषण कार्यक्रमको दोस्रो पोषण स्वयंसेवकहरुको चौमासिक प्रगति समीक्षा बैठकमा उक्त तथ्यांक सार्वजनिक गरिएको हो।

जेठ १० गतेसम्म कूल बजेटको जिल्लामा ८१ प्रतिशत प्रगति भएको बहुक्षेत्रीय पोषण योजनाका जिल्ला संयोजक धर्मराज उप्रेतीले जानकारी दिए। उनका अनुसार १ करोड ४२ लाख ३७ हजार ४ सय कूल बजेटमध्ये चालू आर्थिक वर्षको हालसम्म १ करोड १४ लाख ५६ हजार ६७५ रुपैयाँ खर्च भएको छ। 

जिल्लाका ७ वटै स्थानीय तहमा सञ्चालित उक्त कार्यक्रमको खर्च प्रगति सबैभन्दा बढी अजयमेरु गाउँपालिकाले ९२ प्रतिशत गरेको छ भने सबैभन्दा कम भागेश्वर गाउँपालिकाले ५० प्रतिशत मात्रै खर्च गर्न सफल भएको जिल्ला संयोजक उप्रेतीले बताए।

बहुक्षेत्रीय पोषण योजनाअन्तर्गत महिला शिक्षक र किशोरीहरुलाई सेनेटरी प्याड निर्माण तालिम, अण्डा वितरण, तरकारीको बिउ वितरण, हजार दिनका सुत्केरी आमाहरुलाई कुखुराका चल्ला वितरणलगायतका कार्यहरु गरेको सम्बन्धित नगरपालिका÷गाउँपालिकाका पोषण स्वयमसेवकहरुले कार्यक्रममा जानकारी गराएका थिए।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गणेशराज भट्टले कार्यक्रमहरुलाई प्रभावकारी रुपमा स्थानीय तहमा सञ्चालन गर्न पोषण स्वयंसेवकहरुलाई निर्देशन दिए। उनले अनुगमन प्रभावकारी हुन नसकेको बताए।

आर्थिक समस्या, पर्याप्त स्रोतसाधनको अभावले गर्दा प्रभावकारी ढंगले अनुगमन हुन नसकेको उनले औंल्याए। अनुगमनका लागि प्रदेश सरकार र संघीय सरकारले बजेट विनियोजन समेत नगरेको उनको भनाइ थियो।