आशिष जब गायक बन्न अछामबाट काठमाडौं पुगे

आशिष जब गायक बन्न अछामबाट काठमाडौं पुगे

‘ओरिल्लो...!’ 

सुदूरपश्चिमेली लवजमा पूर्वेली भाका सुनेपछि आर्टमाण्डूका नवीन चौहान ‘गद्गद्’ भए। त्यसपछि गीत सुनाइरहेका गायक आशिष महरलाई भने, ‘ल सँगै काम गरौँ।’ त्यसपछि उनीहरूले ‘पाहुना हजुर’ भित्र्याए। 

भिडिओमा गैरलिम्बुले लिम्बुको कथा भन्नु अनि सुदूरपश्चिमका युवकबाट सुदूरपूर्वका भाका गुन्जनु। गीतबाट आशिषले आफ्नो गायकीजस्तै मीठा प्रतिक्रिया पाए, ‘पश्चिम नेपालको हिरा सुदुरपूर्वमा चम्किरहेको जस्तो लाग्यो।।।।’ 

आशिषलाई आर्टमाण्डुसँग मिलेर काम गर्न मन थियो। जतिबेला आर्टमाण्डूबाट ‘तीनपाते’ सार्वजनिक भएको थियो। त्यो गीत आशिषको ओठमै झुण्डिएको थियो।

‘आशिष हाम्रो भेट पहिलो पटक कहाँ भएको थियो थाहा छरु’ एकदिन ‘पाहुना हजुर’को तयारीको बेला नवीनले सोधेका थिए।

आशिषले केहीबेर आँखा घुमाए। अनि भने, ‘आर्टमाण्डूमा।’

‘हैन,’ नवीनले टाउको हल्लाउँदै भने, ‘हाम्रो भेट त्यो भन्दा अगाडि नै भएको छ।’

आशिष जिल परे। उनी पहिला आफूले भेटेका नयाँ मान्छेहरूको अनुहार सम्झँदै गए। त्यो आकृति यसअघि कतै ठोकिएको फेला परेन। 

‘थाहै पाउन सकिनँ सर,’  आशिषले हार मान्दै भने।

‘तिमी रियालिटी शोमा जानुअघि कहाँ काम गर्थ्यौ सम्झ त,’ नवीनले भने। 

आशिषले सम्झँदै गए, ‘लाइभ म्युजिक। त्यसअघि ठमेलको थकाली।’

‘तिमीसँग त्यही थकालीमा भएको थियो हाम्रो भेट,’ नवीनले भने।

आशिषका आँखा रसाए। परेला भिजे। 

‘३ वर्षअघि तिमीलाई भेट्दा कुन गीत मनपर्छ भनेर सोधेका थियौँ। तिमीले तीनपाते भनेका थियौ। त्यसपछि तिमीले त्यो गीत गाएर सुनाएका थियौ,’ नवीनले सम्झिए, ‘त्यतिबेलै लागेको थियो एकदिन तिमीसँग कुनै गीतमा काम गर्नेछु।’

आशिष थकालीका ती दृश्यहरू सम्झन थाले। जहाँ उनले के चाहिँ गरेनन्रु झाडु लगाउने, भाँडा माझ्ने, सरसफाइ गर्ने, वेटरिङ गर्नेदेखि लिएर गाह्रकका मन पसन्दका गीत गाउनेसम्म। 

‘नवीन सरले मेरा सबै पृष्ठभूमि जानिसक्नुभएको रहेछ। त्यो सम्झेर म पत्तै नपाइ रोएछु,’ बागबजारस्थित गीतकार हर्क साउदको क्याफेमा गफिँदै आशिष ती क्षण सम्झिरहेका थिए। भर्खरै नयाँ गीतको रेकर्डिङ सकाएर उनी त्यहाँ आइपुगेका थिए। अर्को गीतका लागि उनी पुनस् स्टुडियो फर्कनुपर्ने थियो। त्यही क्रममा उनले आफ्ना विगत सुनाएका थिए। 

आशिष विसं २०५९मा अछाममा जन्मिए।

उनी १४ महिनाका थिए, जतिबेला उनको परिवारमा ठूलो बज्रपात परेको थियो। जग्गाको निहुँमा छिमेकीले उनको बाको हत्या गरेका थिए। बालाई बचाउन जाँदा उनकी आमा पनि घाइते हुन पुगिन्। उनकी आमाले श्रीमान्सँगै गर्भमा हुर्किरहेकी छोरी एकसाथ गुमाएकी थिइन्। 

‘त्यसपछि ममीलाई मामाघर लगियो रे। त्यसदिनदेखि म मामाघरमै हुर्किएँ,’ आशिष सम्झन्छन्।

१९ वर्षकी आशिषकी आमालाई धेरैले सम्झाउँथे, ‘छोरा सिन्का जस्तै छ। बाँच्दैन। यसको लागि नबस्। बिहे गर।’ तर उनकी आमाले कसैको कुरा सुनिनन्। अर्को विवाह नगर्ने निर्णय गरिन्। बुझ्ने भएपछि आशिषलाई गाउँकाले कहानी सुनाउँथे, ‘तेरी आमा तेरै लागी बसेकी।’

मामाघरमा मामाले क्यासेट किनेर ल्याएका थिए। क्यासेटमा बजेको गीत सुनेपछि उनलाई पनि ‘गाउँ गाउँ’ लाग्थ्यो। कक्षा ६ मा पढ्दा एकदिन शिक्षकले सोधे, ‘कसलाई गीत गाउन आउँछ।’

साथीले आशिषतर्फ औंला तेर्स्याएका थिए। पहिलो पटक ८० जनाको अगाडि आशिषले गीत गाए। ‘त्यसपछि १० हजारको अगाडि गीत गाउने अवसर पाएँ। त्यतिबेला धेरैको आँखा भरियो,’ आशिष सुनाउँछन्।

कक्षा १० सकिनासाथ आशिष आफूभन्दा ठूला दाइहरूको लहैलहैमा लागेर मुम्बई गए। त्यहाँ गएर चाइनिज कुकको हेल्पर भए। साढे ३ महिना काम गरेपछि एउटा मोबाइल र एक जोर लुगा किने। त्यसपछि घर फर्किए।

घर फर्कँदा रिजल्ट आइसकेको थियो। उनी प्लस टु भर्ना भए। सिभिल इन्जिनियरिङ पढ्न थाले। त्यही क्रममा उनले सब इन्जिनियरको काम पनि गर्न थाले। ३ महिना काम गरेपछि उनलाई अनुभूत भएको थियो, ‘मेरो क्षेत्र यो होइन रहेछ।’

त्यहाँ न सम्मान पाए, न इज्जत। ‘म यो विषय पढ्दिनँ,’ घरमा हजुरआमालाई रुँदै फोन गरे।

‘३ लाख रुपैयाँ ऋण काढेको नातीलाई पढ्दिनँ भन्दा हजुरबाले एक शब्द नाइ भन्नुभएन। उहाँले घर बोलाउनुभयो,’ आशिष सुनाउँछन्।
त्यतिबेलासम्म उनले आफ्नो रहरको बाटो रोजिसकेका थिए। सपना देखेका थिए, ‘काठमाडौं जाने। गायक बन्ने।’

घरबाट ६ हजार रुपैयाँ बोकेर उनी ०७७को पुसतिर काठमाडौं आए। यता गेस्ट हाउसमा गाउँका चिनेकै साथी काम गर्थे। उनी उही साथीले काम गर्ने गेस्टहाउसमा बस्न थाले।

त्यसपछि कामका लागि उनी दोहोरी साँझमा धाउन थाले। ‘कतै गीत गाउन लगाएर कल गर्छौँ भन्थे। कतै केटी भए राख्थ्यौँ भन्थे। जति खोजेपनि जागिर पाइनँ,’ आशिष सुनाउँछन्।

 काठमाडौंमा केही टुंगो नभइकन उनले म्युजिक क्लास जोइन गरे। उनीसँग चार हजार बाँकी थियो। त्यसबाट एडमिसन गरे। उनीसँग खल्तीमा ३५ रुपैयाँ बाँकी थियो। पहिलो दिन म्युजिक कक्षामा शिक्षकले खुसी हुँदै भने, ‘यो केटाले प्रगति गर्छ।’

जब म्युजिक क्लासबाट बाहिर निस्के,  चिसो हावाले ज्यान सिरिङ्ग बनायो। पेट भोको थियो। उनीसँग न पैसा थियो, न काम। त्यसपछि पुतलीसडकमा पैदल हिँड्दै काम खोज्न थाले। अनामनगरको एउटा रेस्टुरेन्टमा पुगेपछि एक महिलालाई उनको निन्याउरो अनुहारले सहानुभूति जाग्यो। तिनै महिलालले आशिषलाई स्नेही भावमा भनिन्, ‘ठमेलमा मेरो भाउजूको रेस्टुरेन्ट छ। म फोन गरिदिन्छु। त्यकहीँ काम गर।’

आशिष ठमेल पुगे। त्यहाँको थकाली रेस्टुरेन्टमा सञ्चालकसँग भेटे। ‘काम सानो ठूलो हुन्न। बाथरुम सफा गर्ने। झाडु लगाउने। टेबुल पुछ्ने, वेटरिङ गर्ने, भाँडा माझ्ने सबै गर्नुपर्छ,’उनले कामको फेहरिस्त सुनाउँदै भनिन्, ‘तलब १० हजार हुन्छ।’

जस्तो भए पनि आशिषका लागि काम पाउनु नै ठूलो कुरा थियो त्यतिबेला।

‘त्यो दिन साँझ ६ बजेदेखि रातको ११ बजेसम्म काम गरेँ। भोलिदेखि १५ घण्टा काम गर्नुपर्थ्यो,’ उनी सम्झिन्छन्। 

काम सकिएपछि उनलाई होटल साहुनीले सय रुपैयाँ दिँदै भनिन्, ‘पठाओमा जानू है।’

आशिषलाई पठाओ भनेको थाहा थिएन। राति गाडी पनि चल्दैन थियो। उनी पैदल हिँडेरै बालाजु पुगे। बाटामा कुकुहरू झम्टन आउँथे। उनी बारबार जोगिएर जान्थे। 

भोलिपल्ट उनलाई पठाओबारे थाहा त भयो, तर सय रुपैयाँ जोगाउन मन लाग्यो। ‘मसँग पैसा छैन। सय किन खर्च गर्नु। हिँडेर गएर यही पनि बचाउने हो सोचेँ,’ उनी सुनाउँछन्। 

केही समयपछि आशिषको बस्ने ठाउँको टुंगो लागेन। पहिला काम खोजिदिने दिदीलाई फोन गरे। ‘बौद्धमा खान बस्न मिल्ने गेस्टहाउस छ। कुरा गरिदिन्छु। त्यहीँ जाऊ।’ 

आशिष नयाँ कामका लागि उक्त गेस्ट हाउस गए। गेस्टहाउस निकै फोहर थियो। मान्छेहरूको व्यवहार पनि अनुचित। त्यहाँ बिहान ६ बजेदेखि रातको ११ बजेसम्म काम गर्नुपर्थ्यो। १० दिन काम गरेपछि होटलसाहूले भनिन्, ‘कि म्युजिक छाड्। कि काम।’

‘म्युजिकका लागि यो सब गरेको थिएँ। मैले काम छाडिदिएँ,’ आशिष सुनाउँछन्।

दिनको ४ बजेको थियो। हातमा ब्याग लिएर उनी बुद्धमलको अपोजिट साइडमा उभिएका थिए। आँखा सामुन्ने धनगढी लेखिएको बस गइरहेको थियो। सोचे, ‘यो गाउँ जानेछ।’ तर अलपत्र अवस्थामा पनि घर जानुपर्छ भन्ने उनले सोच्दै सोचेनन्। ‘फोन निकालेर पहिला काम गरेको थकालीको म्यामलाई कल गरेँ। उहाँले आइजो भन्नुभयो। त्यसपछि पुनस् थकालीको यात्रा सुरु भयो,’ आशिष सुनाउँछन्। 

त्यसपछि उनले साथीसँग सेयर गरेर बालाजुमा डेरा लिए। त्यसपछि डेराबाट ठमेल, पुतलीसडक होस् वा राति फर्किएर बालाजु। हिँड्दा उनका खुट्टाको छाला निस्किरहेका हुन्थे।

थकालीमै उनी गीत गुन्गुनाउन थाले। ग्राहकहरू उनको गीत सुन्न पनि त्यहाँ आउँथे। उनी खाना हाल्दै गीत सुनाइदिन्थे।

त्यहीँ उनले थुप्रै मान्छे भेटे। साथीहरू बनाए। त्यहाँको भेट र सम्बन्ध आशिषका लागि फलदायी थियो। 

कोरोनाको पछिल्लो लकडाउनमा उनले रियालिटी शो ‘नेपाल आइडल’मा डिजिटल अडिसन दिएका थिए। डिजिटलमा छनोट भए पनि अर्को चरणमा फालिए। त्यो अनुभव उनको लागि उति मीठो रहेन।

त्यसपछि थकालीको काम छाडेर आशिष लाइभ म्युजिकतर्फ लागे। त्यही क्रममा ‘भ्वाइस अफ नेपाल–४’को अडिसन सुरु भयो। उनले अडिसन दिए।

‘फिजिकलको लागि कल आयो। अपेक्षा थिएन सेलेक्ट हुन्छु भनेर। गाएँ, चार जना जज फर्किनुभयो,’ आशिष त्यो खुसीको क्षण सुनाउँछन्। यो चरणमा छनोट हुनु नै आशिष र उनको ममीको लागि अनपेक्षित थियो। ‘यतिमै खुसी छौँ बाबु। हामीलाई त पुग्यो,’ ठूला सपना नदेखेका ममी र मामाले खुसी हुँदै भने।

तर आशिष हरेक राउन्डमा छनोट हुँदै गए। भोटिङ राउन्डमा पुगे। लाग्यो, ‘अब खर्च गर्ने पैसा छैन। सुरुमै फालिन्छु।’ 

तर उनलाई माया गर्नेहरूको संख्याई बढ्दै गयो। सुदूरपश्चिम मात्र हैन, पूर्वका प्रशंसकहरूबाट पनि उनले भोट बटुले। उनी ‘टप ६’मा पुगेर फालिए। घरमा हाँसीहाँसी स्वीकारे। किनकि अपेक्षा न आशिषसँग थियो, न परिवारसँग।

त्यसयता आशिष निरन्तर गाइरहेका छन्। उनले ८ महिनाअघि सार्वजनिक गरेको ‘चौतारीको पर पिपलु’ १२ लाख भन्दा बढी पटक हेरिएका छन्। आर्टमाण्डूसँगको ‘पाहुना हजुर’पछि पनि उनका नयाँ गीत आइरहेका छन्। दर्शक स्रोताले रुचाइरहेका छन्। महोत्सबहरूमा स्टेज चढ्दा हुटिङ पाइरहेका छन्। 

यतिबेला आशिषलाई चुनौती पनि छ, ‘अब त मैले म्युजिक नै गरेर खानुपर्छ।’ उनले बेला बेला ‘गाह्रो’ अनुभूत नगरेका पनि हैनन्। तर उनी संघर्षबाट कहिल्यै भाग्न चाहन्नन्।

‘संगीत मेरो प्यासन हो। प्यासनका लागि यतिको संघर्ष त गरियो। बाँकी पनि स्वीकार्य छन्,’ आशिष दृढ सुनिन्छन्।नेपाललाइभबाट