प्रदेशको विकासका लागि सम्भावना र चुनौतिबारे नीजि क्षेत्रबाट छलफल शुरु

प्रदेशको विकासका लागि सम्भावना र चुनौतिबारे नीजि क्षेत्रबाट छलफल शुरु

धनगढी । कैलालीको धनगढीमा जारी तेस्रो हार्डवेयर एक्सपोले सुदूरपश्चिम प्रदेशको विकासका लागि सम्भावना र चुनौतिबारे नीजि क्षेत्रबाट छलफल शुरु भएको छ ।

प्रदेशमा औद्योगिक वातावरण तयार पारेर बिकास अघि बढाउने सकिने सम्भावना बारेमा सरोकारवालाहरुहरुको साझा धारणा तयार गर्न कैलाली हार्डवेयर व्यवसायी संघले एक्सपोमा सरोकारवालाहरुसंग छलफल गरेको हो ।

 उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश र कैलाली उद्योग वाणिज्य संघको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो । 
छलफलमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा उद्योग स्थापनाका लागि आवश्यक नीतिगत र व्यवहारिक सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए । 

मुख्यमन्त्री शाहले औद्योगिक सम्भावना भएका स्थानको समग्र विकास गर्न प्रदेश सरकार तयार रहेको बताए । तर त्यसका लागि पहिला सम्भावित औद्योगिक क्षेत्रको पहिचान हुनु जरुरी रहेको उनको भनाई छ ।
उनले प्रदेशको विकास र चुनौतीका विषयमा प्रदेश सरकारले नै छलफल गर्नुपर्ने भएपनि नीजि क्षेत्रले त्यो प्रयास गरेको भन्दै कैलाली हार्डवेयर व्यवसायी संघलाई धन्यवाद दिए । तर हार्डवेयर व्यवसायी संघले आयोजना गरेको छलफलमा प्रदेश सरकारको सहभागिा रहेको बताउँदै मुख्यमन्त्री शाहले आगामी दिनमा यस्ता विषयमा सरोकारवालालाई राखेर प्रदेश सरकारले थप छलफल गर्ने बताए ।

प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले प्रदेशको समग्र विकासका लागि सवै दल एकजुट हुनु पर्नेमा जोड दिए । उनले आरोप प्रत्यारोपको राजनीति गरेर राजनीतिक प्रतिबद्धता र जन अपेक्षा पुरा हुन नसक्ने बताउँदै अव सवै दलकोको ध्यान विकासमा जानु अपरिहार्य रहेको बताए ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य शिवसिंह ओलीले प्रदेशको विकासका लागि सवै जनाले आ–आफ्नो जिम्मेवारी पुरा गर्नु आवश्यक रहेको बताए । ‘सरकारका मन्त्रीले उनीहरुको जिम्मेवारी पुरा गर्नुपर्छ, प्रदेश सभा सदस्यले पनि आफ्नो काम कर्तव्य र अधिकार केहो भन्ने बुझ्नु जरुरी छ,’ ओलीले भने, ‘अनि जनता पनि आफ्नो जिम्मेवारी पुरा गर्न तयार हुनु पर्दछ, त्यसपछि मात्रै हामीले सोचेको विकास र परिवर्तन ल्याउन हामी सफल हुन सक्छौं  ।’

सुदूरपश्चिम विश्वविद्यालयका उप कुलपति प्राध्यापक डाक्टर अम्मरराज जोशीले नीजि क्षेत्र प्रदेश र देशको विकासका लागि कति जिम्मेवार छ भन्ने कुरा हार्डवेयर व्यवसायीले गरेको छलफलबाट थाहा हुने बताए ।
‘सरकारले गर्नुपर्ने काम नीजि क्षेत्रले गरेको छ, यहाँको विकास र सम्वृद्धिमा नीजि क्षेत्र चिन्तित छ भन्ने कुरा यसबाट प्रस्ट भएको छ,’ उपकुलपति डाक्टर जोशीले भने, ‘उनीहरुको विकास प्रतिको चिन्तनलाई सरकारले बुझ्न जरुरी छ ।’
सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायण प्रसाद शर्मा दुवाडीले शासकीय स्वरुपमा हुने सोच र दृढतामा समग्र विकास निर्भर रहने बताए । उनले पछिल्लो समय नागरिक, कर्मचारी तथा राजनीतिक नेतृत्वमा जिम्मेवारी वहनको कमी हुन थालेको भन्दै पहिला सवैले आ–आफ्नो जिम्मेवारी पुरा गर्ने परिपाटिको विकास हुनु जरुरी रहेको बताए ।

सुदूरपश्चिम प्रदेश सरकार थुप्रै चुनौतिका बीचबाट अघि बढ्ने प्रयास गरिरहेको प्रमुख सचिव दुवाडीले बताए ।
प्रदेश नीति तथा योजना आयोगका उपाध्क्ष अनुपराज उपाध्यायले छलफलले आगामी दिनमा नीति तथा योजना बनाउन सहज हुने बताए । उनले प्रदेश सरकार सही ट्रयाकमै रहेको र अहिले नै निरास हुनुपर्ने अवस्था नरहेको बताए ।
अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका तर्फबाट डाक्टर दिपकचन्द्र भट्ट र आर्थिक विज्ञ प्राध्यापक डाक्टर राजेन्द्र बिर चन्दले सुदूरपश्चिममा विकासका सम्भावना र चुनौति विषमा तयार पारिएको कार्यपत्र प्रस्तुत गरेका थिए भने प्रदेश नीति तथा योजना आयोगका सचिव पदमराज जोशीले सुदूरपश्चिम प्रदेशको वर्तमान अवस्थाका विषयमा तयार पारेको कार्यपत्र प्रस्तुत गरेका थिए ।

कैलाली हार्डवेयर व्यवसायी संघका संस्थापक अध्यक्ष मायाप्रकाश भट्टको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रममा स्वागत मन्तव्य हार्डवेयर संघका अध्यक्ष कुबेर शाहीले गरेका थिए भने कार्यक्रम संचालन नेपाल उद्योग बाणिज्य महासंघ, सुदुरपश्चिम प्रदेशका कार्यकारी निर्देशक ज्योति भट्टले गरेका थिए ।