दुर्घटनामा पत्नी र छोरा गुमाएका नेता बडुवाल उपचार नपाएरै बिते

दुर्घटनामा पत्नी र छोरा गुमाएका नेता बडुवाल उपचार नपाएरै बिते

धनगढी । राजनीतिमा लागेका,नेता भनिएका सबैको जीवन वैभवशाली हुन्न र कतिपय नेताले उपचार नपाएर ज्यान गुमाउनुपर्छ ।

केही नेताका कारण राजनीतिकर्मीप्रति गलत धारणा बनेका बेला सत्तारुढ नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्ण बडुवालले उपचार नपाएर ज्यान गुमाएका छन् ।

जनयुद्धको बेला महेश उपनामले चिनिने उनी सुर्खेत जेल ब्रेक गरेर बाहिरिएका थिए । पछिल्लो समय बडुवाल निमोनियाबाट पीडित थिए ।

जनतासँग माओवादी अभियानका क्रममा डोटीमा खटिएका बडुवालको स्वास्थ्यमा समस्या बढेपछि कैलालीमा सामान्य उपचारका क्रममा थिए । निकै सारो भएपछि लखनउ लैजाने क्रममा बाटोमै निधन भएको छ ।

निमोनियाले गलाउँदै लगेपछि बडुवाललाई काठमाडौंमा उपचार गर्न ल्याउने प्रयास पनि असफल भएको थियो । बिरामीलाई जहाजबाट ल्याउन कर्मचारीले खतरा देखाएपछि उनलाई स्थल मार्गबाट लखनउ लैजाने क्रममा निधन भएको बताइएको छ ।

स्वास्थ्य अवस्था निकै नाजुक भएपछि उनलाई हेलिकोप्टरबाट काठमाडौं ल्याउन खोजिए पनि सम्भव नभएपछि लखनउतर्फ लगिएको थियो ।

माओवादीका धेरै केन्द्रीय नेता र मन्त्रीहरूलाई भन्दा पनि हेलिकोप्टरको व्यवस्था हुन नसकेका कारण एकजना नेताको उपचार नपाएर निधन भएको स्थानीय माओवादी कार्यकर्ताहरूको गुनासो छ ।

हेलिकोप्टरका लागि गृह मन्त्रालयदेखि माओवादीका पहुँचवाला नेतालाई भन्दा पनि बेवास्ता गरेको आरोप छ ।

दुःखद संयोग मान्नुपर्छ ठिक ९ वर्षअघि असोज महिनामै डोटीको कटकटेमा भएको बस दुर्घटनामा बडुवालले पत्नी र एक छोरा गुमाएका थिए ।