एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण अलपत्र

एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण अलपत्र

धनगढी । रुख कटान आदेश नपाएको कारण धनगढीको एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणको सुरु हुन नसकेर अलपत्र परेको छ । केन्द्र निर्माणका लागि चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भएको एक वर्ष पुग्नै लाग्दा पनि काम सुरु नभएको हो ।

संघीय आयोजना कार्यान्वयन इकाईका अनुसार वन मन्त्रालयले कटान गर्नुपर्ने रुख र कटान आदेश मागिएको रुख संख्या फरक परेपछि कटान आदेश दिएको छैन । आयोजना कार्यालयले पुनः रुख संख्या एकीन गरेर वन मन्त्रालयलाई पत्र पठाएको आयोजना कार्यालयका इन्जिनियर शौरभ कलौनीले बताए । एसियाली विकास बैंक ९एडीबी० को ऋण सहयोगमा धनगढी–७, पटेलास्थित सामुदायिक वनभित्र एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण गरिन लागिएको छ ।

सो केन्द्र निर्माणका लागि चिनियाँ कम्पनी सिचुवान प्रोभिन्स जियोलोजिकल इन्जिनियरिङसँग ९६ करोड ८२ लाख रुपैयाँमा सम्झौता भएको थियो । सो सम्झौताअनुसार दुई वर्षभित्रै निर्माण गरिसक्नु पर्नेछ तर सम्झौता भएको नौ महिना बितिसक्दा पनि निर्माण कार्य सुरु हुन सकेको छैन । निर्माणस्थलमा दुई हजार रुख काट्नुपर्ने वातावरणीय प्रभाव मूल्यांकन ९ईआईए० मा उल्लेख छ ।

सरकारले २०७९ फागुन १५ गते सो ईआईए स्कीकृत गरेपछि आयोजना कार्यालयले वन मन्त्रालयसँग कटान आदेश मागेको थियो । इन्जियनयिर कलौनीले वन मन्त्रालयबाट रुख संख्या नमिलेको पत्र आएपछि भदौ २५ गते पुनः परीक्षण गरी सो मन्त्रालयलाई पत्र पठाएको बताए । कटान आदेश पाउनासाथ रुख काटेर निर्माण सुरु गरिने उनले बताए । २२ हेक्टर जमिनमा निर्माण गरिने केन्द्रमा फोहोर संकलन केन्द्र, फोहोर वर्गीकरण केन्द्र, नकुहिने फोहोर व्यवस्थापन केन्द्र, कुहिने फोहोर व्यवस्थापन केन्द्र र दिसाजन्य फोहोर व्यवस्थापन केन्द्र छुट्टाछुट्टै निर्माण गरिने छ ।

फोहोर वर्गीकरण केन्द्रबाट काम लाग्ने वा बिक्री हुन सक्ने फोहोर छुट्याएर बिक्री डिपोमा राखिने छ भने काम नलाग्ने फोहोरलाई वर्गअनुसारको केन्द्रमा राखेर व्यवस्थापन गरिने छ । कुहिने फोहोरबाट प्राङ्गारिक मल बनाइने छ भने नकुहिने फोहोरबाट निस्किने झोल र ग्यासलाई प्रशोधन गरेर मात्रै वातावरणमा पठाइने इन्जिनियर कलौनीले बताए ।

क्षेत्रीय सहरी विकास कार्यक्रमअन्तर्गत एडीबीको ऋण सहयोगमा निर्माण हुने फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणका लागि पहल हुन थालेको पनि आठ वर्ष पूरा भएको छ । सन् २०१५ देखि पाँच वर्षका लागि लागू गरिएको क्षेत्रीय सहरी विकास कार्यक्रम फोहोर मैला व्यवस्थापन केन्द्र बनाउन ठाउँ नपाएर लम्बिएको छ । पहिले वडा नम्बर १ मा निर्माण गर्ने गरी योजना अगाडि बढाइए पनि स्थानीयको विरोधका कारण तीन वर्षसम्म रोकिएको थियो ।

पछिल्लो पटक वनभित्र ठाउँ मिले पनि जमिन प्राप्ति, वातावरणीय प्रभाव मूल्यांकन, रुख कटान आदेशको कारण काम सुरु हुन सकेको छैन । फोहोर मैला व्यवस्थापन केन्द्र नभएकै कारण धनगढी उपमहानगरपालिकाले फोहोर संकलन गरी धनगढी–२, सरस्वतीनगरमा फोहोर वर्गीकरण गरेर व्यवस्थापन गर्ने गरेको छ ।

धनगढी उपमहानगरपालिकाका साथै सो कार्यक्रमअन्तर्गत कैलालीको गोदावरी नगरपालिका, कञ्चनपुरको भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा समेत एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण गर्ने योजना अगाडि सारिएको छ । यी चारवटै नगरपालिकामा निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता भइसकेको भएपछि निर्माण कार्य अगाडि बढेको छैन ।