गैह्रीगाउँमा एकै परिवारका ३ सहित चार जनाको हत्या

गैह्रीगाउँमा एकै परिवारका ३ सहित चार जनाको हत्या

काठमाडौँ । काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा रहेको दिव्य सस्मिलमा धारिलो हतियार प्रयोग गरी चार जनाको हत्या भएको छ । काठ मिलमा काम गर्ने कुमार भुजेलसहित ४ जनाको हत्या भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।

काठ मिलमा गार्डका रूपमा कार्यररत कुमार भुजेलसहित उनको परिवारका ३ जना सदस्यको हत्या भएको हो ।मृत्यु हुनेमा दोलखाका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी पत्नी शुभद्र बाइवा, कुमारकी आमा ७६ वर्षीया सुमित्रा भुजेल छन् र मोरङका १९ वर्षीय नवीन राई रहेको मैनालीले बताए । 

घटनास्थलबाट सोधपुछका लागि काठमाडौंको तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आज बिहान घटनास्थलको मुचुल्का उठाई शवहरू पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइसकिएको एसएसपी मैनालीले जानकारी दिए ।

घटना राति १२ बजेतिरको भएको अनुमान गरिएको छ । घटनाको अनुसन्धानका लागि तालिमप्राप्त प्रहरी र कुकुरको समेत परिचालन गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।