उपचार खर्चको अभाव: ब्लड क्यान्सर पिडित छोरालाई लिएर रुदै घर फर्कीए बुवा

उपचार खर्चको अभाव: ब्लड क्यान्सर पिडित छोरालाई लिएर रुदै घर फर्कीए बुवा

डोटी : ब्लड क्यान्सरले थलिएका डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ८ गोदडाका ६ वर्षे बालक रोशन साउँदको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या आएको छ ।

लगातार ज्वरो आउन थालेपछि गत बैशाख १३ गते डोटीको शैलेश्वरी अस्पतालमा उनलाई उपचारका लागि पुर्याईएको थियो । त्यहाँको उपचारले सञ्चो नभएपछि रोशनलाई बैशाख २५ गते जिल्ला अस्पताल डोटीमा पुर्याईयो । त्यहाँ पनि सञ्चो नभएपछि काठमाण्डौ लगी बैशाख २७ गते सिभिल सर्भिस हस्पिटल काठमाण्डौ लगियो ।

छोरा रोशनको रगत जाँच गराउँदा डक्टरले क्यान्सर भएको र ८ लाख जम्मा गर्न भनेपछि उपचार नगरी घर फिर्ता भएको उनका बुवा दिल बहादुर साउँद (दिपेन्द्र) ले दुःखेसो पोखे ।

छोरालाई काखमा राखी उनले रुँदै भने–‘मेरो छोरा ब्लड क्यान्सरले मर्नै लाग्यो, काठमाण्डौमा लैजाँदा ब्लड जाँचेपछि डाक्टरले शुरुमै ८ लाख डिपोजिट राख्नुपर्छ भन्यो, मैले मेरो घरबार बेचेर पनि ८ लाख जम्मा गर्न सक्ने अवस्था छैन ।’

घरायसी कमजोर अवस्थाका कारण आफुले भारतको कर्नाटकमा होटलमा मजदुरी गर्दै आएको र छोरा बिरामी भएपछि घर आएको रोशनका बुबाले बताए ।

रोशनको सिभिल सर्भिस हस्पिटलको हेमाटोलोजी डिपार्टमा डा.प्रेमराज श्रेष्ठले जेकजाँच गरेको रिपोर्ट उनिसँग छ । जसमा ब्लड जाँच रिपोर्टमा ‘डिग्री अफ अर्जेन्सी’ परिणाममा ‘अर्जेन्ट’ देखाएको छ ।

निःशुल्क उपचारका लागि सिफारिस गरिदिन भन्दै शुक्रबार दिउँसो चर्को घाममा छोरालाई साथमै ल्याएर रोशनका बुबा दिपायल सिलगढी नगरपालिकामा पुगेका थिए ।

नीतिगत व्यवस्था अनुसार रोशनको उपचारका लागि नगरपालिकाले सहयोग गर्ने दिपायल सिलगढी नगरपालिकाका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी विष्णुराज जोशीले बताए ।

गएको असार महिनामा बायाँ हात समेत भाँचिएको र अहिले ब्लडमै क्यान्सर देखिएपछि रोशनका बुबा दिपेन्द्रले मानवीय सहयोगका लागि सबैमा गुहार मागेका छन् । सहयोग गर्न चाहने व्यक्ति वा सँस्थाहरुले रोशनका बुबा दिपेन्द्रको मोबाईल नं. ९८०४६२२४२० मा सम्पर्क गरी सहयोग गर्न सकिनेछ ।