खप्तड पुगेपछि लाग्यो- धनगढी नफर्किन पाए नि हुन्थ्यो

खप्तड पुगेपछि लाग्यो- धनगढी नफर्किन पाए नि हुन्थ्यो

सुदूरपश्चिमको सुन्दर खप्तड धनगढीका होटल, भान्सा तथा सरकारी निकायमा टाँगिएको तस्वीरमा देख्थेँ । तस्वीर हेर्दा त्यहाँ जान पाए हुन्थ्यो भन्ने मनमा थियो । यो वर्ष जाने योजना बनेको पनि थिएन । संयोगवश, खप्तड जाने अवसर जुर्‍यो । 

२०८० जेठ २० गते सुदूर टाइम्स अनलाइनका सम्पादक साथी शारदाको फोन आयो, ''मिस, खप्तड जानुहुन्छ ?

मलाई एकदमै जान मन लागेको क्षेत्र हो खप्तड । जाने मन हुँदाहुँदै सुरुमा नाइँ भन्न पुगेँ । किनभने मेरो स्वास्थ्य अवस्था ठीक थिएन । पहाड भनेपछि हुरुक्कै हुने म खप्तड जाने कुरामा एक प्रकारको विश्वास थियो ! पुग्छु भन्ने । तर, स्वास्थ्यमा विश्वास थिएन । खप्तड क्षेत्र पुग्ने उत्कट इच्छाले जाने निधो गरेँ । मम्मीले सधैँझैँ जान सक्दैनौ, नजाऊ भन्ने, ड्याडीले जाऊ न, नयाँ ठाउँ पनि देखिन्छ भन्नुभयो ।

पहाडी जिल्लाहरूमा घुम्न रमाउने भए पनि मेरो स्वास्थ्य स्थितिले भने मलाई साथ दिन गाह्रो हुन्छ भन्ने मलाई थाहा थियो । हामीले जेठ २१ गते नै जाने भए पनि विभिन्न कारणले २२ गते मात्रै धनगढीबाट खप्तडयात्रा सुरु गर्‍यौँ । हाम्रो टिमका सबै जना धनगढी चौराहामा जम्मा भयौँ ।

कैलाली बहुमुखी क्याम्पसका शिक्षक शिवराज जोशी, नयाँ पत्रिकामा कार्यरत पत्रकार तेजराज भट्टले विशेष गरेर धनगढीबाट जाने व्यवस्था मिलाउनुभएको थियो । उहाँहरू दुई जनासँगै हाम्रो टिममा तुल्सी फोटो स्टुडियोका सञ्चालक तेज बटाला, शारदा फुलारा, पत्रकार पुस्कर पौडेल र म गरी ६ जना साथीहरू थियौँ ।

धनगढीबाट पाँच जना हिँडेका हामी अत्तरियाबाट शारदा थपिइन् । हामी ६ जना स्कार्पियोमा थियौँ । गोदावरीबाट उकालो यात्रा सुरु भयो । जति उकालो लाग्दै गयो, त्यति गर्मी पनि कम हुँदै थियो । यसअघि मैले डडेल्धुरा हेर्ने मौका पाइसकेकी थिएँ । डडेल्धुरा साँच्चिकै मेरा लागि पहिलो र अविष्मरणीय पल बनेको थियो । खप्तड भने पहिलोपटक जाँदै थिएँ । चार जिल्लासँग जोडिएको खप्तड कुन जिल्लाहुँदै जाने भन्ने हामीमा छलफल चलिरहेको थियो । डोटीबाट यात्रा कठिन हुने कुरा शिक्षक जोशीले गरेपछि बझाङको बाटोहुँदै खप्तड पुग्ने निधो गरियो ।  

खप्तडको यात्रा गर्ने क्रममा पहाडी जिल्लाका डाँडापाखा र हरियालीले मनलाई चङ्गा बनाइदिएको थियो । हरियो डाँडा, नीलो खोला, उच्च क्षेत्रबाट बगिरहेका झरना, वनका फुलेका विभिन्न रंगिन फूलहरूले यात्रा रमणीय बनाइरहेको थियो । यहीँ यति सुन्दर दृश्य छ भने खप्तड झन् कस्तो होला भन्ने मलाई लागिरहेको थियो । उल्टी आउने भएकाले गाडीको यात्रा मलाई सहज थिएन । त्यही समस्याले गर्दा पहाडका कति दृश्यहरू त हेर्न पनि पाइनँ ।

No description available.
महिलाहरूले टाउकोमा बोकेका घाँसदाउराका भारी, मूलबाट खानेपानी बोक्दै गरेका केटाकेटी, सडकका छेउमा बाख्रा चराइरहेका स्थानीय तथा जंगल तथा घरमै उत्पादन भएका सामग्रीहरू जीविकोपाजर्नका लागि सडकमा बसेर बिक्री गरिरहेका दृश्य पनि हेर्न पाइयो ।

धनगढीबाट सुरु भएको हाम्रो यात्रा खानीडाँडा–डडेल्धुराहुँदै बैतडीको खोड्पेमा एकछिन् रोकियो । त्यहाँ साथीहरूले चियानास्ता गरे । म र एक जना साथी त्यहाँ केही नखाई गफगाफमा भुल्यौँ । खाजा खाएपछि खोड्पेबाट हामी बझाङतर्फ लाग्यौँ । बझाङ पुग्दासम्म रात परिसकेको थियो । रातिको सवारी चलाउँदा एकदमै ध्यान दिनुपर्ने । साँघुरो सडक त्यसमै ठाउँ–ठाउँका मोडले सवारी दुर्घटना हुने भय मनमा थियो । 

राति बझाङको चैनपुर पुगेका हामी त्यो रात होटलमा बस्यौँ । खाना खाइसक्दा साढे ११ बज्यो । त्यसपछि सबै आ–आफ्नो कोठामा गयौँ । शरीर थकित थियो । नुहाएर शारदा र म एउटै कोठामा सुत्यौँ । भोलिपल्ट बिहान ७ बजे उठेर खप्तडयात्रा सुरु गर्‍यौँ ।  आवश्यक खाने कुरा बझाङबाट लगेका थियौँ । बाटोमा धेरै भारी खानेकुरा बोक्न नसकिने भएकाले केही चाउचाउ, निम्की र बिस्कुट मात्रै बोकेका थियौँ । दारु गाउँ पुग्दा झोलुङ्गे पुल थियो । हामी चढेको स्कार्पियो पारि जान सकेन । तमेलको झोलङ्गे पुल तरेपछि जीपहरू लामबद्ध थिए । एक जीपले करिब २ घण्टापछि हामीलाई खप्तड जाने प्रवेशद्वारसम्म पुर्‍यायो । प्रवेशद्वारपछि मोटर गाडी जान सक्ने बाटो थिएन ।

अब हाम्रो यात्रा हिँडेर सुरु भयो । त्यस ठाउँमा हिँड्न नसक्नेहरूका लागि दारु गाउँपारिबाट घोडाको व्यवस्था पनि रहेछ । साथीहरूसँगै भएको भएर म हिँड्न सक्छु भन्ने साहस थियो । तर, त्यहाँको उचाइले मलाई अलि गाह्रो बनायो । जसका कारण करिब एक घण्टाको हिँडाइपछि मलाई सास फेर्न गाह्रो भयो । अरु साथीहरूलाई पनि त्यति सहज भने थिएन । त्यहाँको उचाइमा अक्सिजनको कमी हुने रहेछ । केही समयपछि त म अगाडि बढ्नै सकिनँ । साथीहरूले हिँड्नलाई साहस दिए पनि मेरो स्वास्थ्यले साथ दिएन । तर, जसरी पनि पुग्नु नै थियो । 

No description available.

पाइला नै सार्न नसक्ने भएपछि मैले ४२ सय रूपैयाँ तिरेर घोडाको सहारा लिएँ । घोडामा चढेपछि त साथीहरू पछिपछि, म अघिअघि । मेरो घोडाको यात्रा पहिलोपटक नै थियो । साथीहरूसँगको मेरो गफ केही समयका लागि बन्द भयो र घोडा समातिरहेको भाइसँग मेरो यात्रा सुरु भयो । भाइले विगत एक वर्षदेखि यस्तो सेवा दिन थालेका रहेछन् । कक्षा १० मा पढ्दै गरेका १६ वर्षीय अजय रावल समय मिलाएर पढाइसँगै यो काम गर्ने गरेका रहेछन् । 

रावलले मसँग थोरै परिचयपछि भने, ‘तमित भाग्यमानी हौ दिदी (तपाईं त भाग्यमानी हो दिदी) ।' मैले 'किन भाइ ?' भनी प्रश्न गरेँ । मेरो घोडा यो वर्षको गंगादशहरा मेलामा पहिलो भएको सुनायो भाइले । अनि 'तमि दिदी यही घोडामा पहिलोपटक बस्या (अनि तपाईं दिदी घोडामा पहिलोपटक हो )?' भनेर मायालु स्वरमा प्रश्न गर्‍यो । मैले भनेँ, 'अनि भाइ यो घोडाको नाम के हो ?'

भाइले भन्यो, ''यसको नाम श्यामु हो दिदी । गंगादशहरामा यही जेठ १५ गते ठूलो मेला लागेको थियो । त्यहाँ १४ घोडाले रेसमा भाग पनि लिएकोमा मेरो श्यामु प्रथम पनि भएको रहेछ ।''

यसरी घोडा सवारीबाट आएको पैसाबाट घोडाको खानेकुरा चना किन्न र केही आफ्नो खर्च चलाउने उनले बताए । एउटा घोडा महिनामा दुईपटकसम्म खप्तड आउने जाने गर्दारहेछन् ।

हामी करिब बिहान ११ बजे लोखडा टिकटक होटलमा पुग्यौँ । साथीहरू पनि पछिपछि पुगे । हामीले त्यहाँ खाना खायौँ । मार्सी चामलको भात, फापरको साग, दाल, आलुको तरकारी अनि साथमा भाङको अचार । खाना एकदमै मीठो थियो । त्यसपछि हामी त्यहाँ रहेको श्री सिंह शार्दूल गुल्म लोखडा पोस्टनिर पुग्यौँ । सुरक्षाको कारण देखाउँदै त्यहाँ सबैलाई रोकियो । त्यही बाटोबाट प्रवेश गरेर मात्रै माथि उक्लिन पाइने । त्यहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा रामदेव गुरु आउने कार्यक्रम भएको हुँदा पनि बढी सुरक्षा कडाइ गरिएको थियो । 

‘पर्यावरण, सम्पदा, संस्कृति र योग ध्यान, खप्तड क्षेत्र सुदूरपश्चिमको पहिचान’ भन्ने मूल नाराका साथ पहिलोपटक पर्यटकीय क्षेत्र खप्तडमा ‘प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन’ जेठ २३ देखि २५ गतेसम्म खप्तडमा आयोजना गरिएको थियो । सम्मेलनमा २३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल र योग गुरु बाबा रामदेव, आयुर्वेदाचार्य बालकृष्ण आचार्यको उपस्थितिले सुरक्षाको कारण देखाउँदै करिब ११ः३० बजे मात्रै हामीलाई त्यहाँबाट जान अनुमति मिल्यो । सुदूरपश्चिम प्रदेश सरकारको आयोजना र खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको व्यवस्थापनमा भएको सम्मेलनले खप्तड क्षेत्रलाई पर्या पर्यटन, धार्मिक, आध्यात्मिक, योग, ध्यान, साधना, खप्तड बाबाको विचार, दर्शन तथा संस्कृतिलाई विश्वसामु चिनाउने र विकास गर्ने उद्घोषसहित सम्मेलन आयोजना गरिएको थियो । 

No description available.

सम्मेलनमा सहभागी हुन भारतलगायत देशभरबाट हजारौँको उपस्थिति थियो । त्यसपछि फेरि म घोडामै बसेर यात्रा सुरु गरेँ । साथीहरू पछि–पछि आउँदै थिए । केएमसीका सर पनि घोडामा बसेर आउनुभयो । बिरामी, अशक्त, अनि सास फेर्न गाह्रो हुनेले त्यहाँ जाँदा विशेष ध्यान दिनुपर्छ । बिस्तारै यात्रा बढ्दै गयो । हामीले खप्तडको भूूमिमा साँझ ५ बजे मात्रै पाइला राख्यौँ । यात्रा कठिन भए पनि हामी खप्तडको काखमा पुग्नेबित्तिकै त्यसमै लिप्त भएर त्यहीँ पल्टियौँ । हरिया फाँटमा पहेँला र सेता फूूल । साँच्चिकै त्यो स्वर्गको एक टुक्राजस्तै थियो । मेरा लागि त्यो स्वर्ग मात्रै थिएन, जीवनमै कहिल्यै भुल्न नसक्ने क्षण पनि थियो । 

सुदूरपश्चिमका चार जिल्ला डोटी, अछाम, बाजुरा र बझाङको सङ्गममा अवस्थित खप्तड प्राकृतिक रूपमा मनमोहक र सुन्दर छ । ठूूलाठूला विशाल फूलैफूलले सजिएका सुन्दर पाटन, पाटनका बीचमा कलकल बगिरहने कञ्चन पानी, वरिपरि अग्ला–अग्ला डाँडैडाँडामा भरिएका वनस्पति घोडा र गाईवस्तुको बथान, चराको चिरबिर, यी सबै कुराले खप्तडलाई साँच्चिकै खप्तड बनाएको छ । यहाँका मनोरम दृश्य र वातावरणले गर्दा मनमा यहीँ बसिरहन पाइयोस्, यहाँबाट धनगढी पुग्न नपरे नि हुन्थ्योझैँ भइरहेको थियो । हामीलाई खप्तड हेर्न पाउनु भनेको स्वर्गमा पुग्नुजस्तै थियो । प्रत्यक्ष रूपमा देख्न पाइने खप्तडको प्राकृतिक सुन्दरता साँच्चिकै जोकसैको मनलाई तानिरहने खालको छ । 

उचाइअनुसार यहाँ विभिन्न वनस्पति, देवदार, गोब्रे सल्ला, ढिङ्ग्रे सल्ला, गुराँस, फलाँट बाँझ, अग्राख, भोजपत्र आदि पाइन्छन् । खप्तडमा क्षेत्रमा ५६७ प्रजातिका फूल भएको अनुमान गरिएको छ । खप्तड जडीबुटीको भण्डार पनि हो । खप्तड प्राकृतिक रूपमा मात्रै नभई धार्मिक आस्थाको धरोहरसमेत हो । खप्तडलाई भू–स्वर्गको उपमाले पनि चिनिन्छ । खप्तडको नामकरण खापड देवताको तड अर्थात् फाँट वा क्षेत्र भएकाले यसलाई खापड तड भन्दाभन्दै खप्तड भएको भनिन्छ । २२५ वर्गकिलोमिटर क्षेत्रफल खप्तड राष्ट्रिय निकुञ्जले ओगटेको छ । समुद्री सतहबाट ३ हजार ३ सय मिटरको उचाइमा अवस्थित खप्तडमा २२ वटा घाँसे मैदान (पाटन) रहेका छन् ।

No description available.

पाटनहरू मौसमअनुसारका फूूलहरू फुल्ने गर्छन् । कहिले फूलैफूल, कहिले हिउँले सेताम्मे त कहिले हरियाली घाँसे मैदानका रूपमा सजिएको पाइन्छ । वर्षात्‌को समयमा फूलैफूलले ढकमक्क देखिने खप्तडका पाटन हिउँदमा हिउँले सेताम्मे बन्छन् । हामी जेठ महिनामा पुगेको हुँदा त्यहाँका पाटन सेता फूूलहरूले छोपिएका थिए ।  केही मैदान मात्र हरियाली देखिएका थिए । अलि वर्षा बढी भयो भने त्यहाँ थुप्रै रङका फूलहरू फुल्ने गर्छन् । बाबा आश्रम, त्रिवेणी धाम, सहस्रलिङ्ग, डाँफेकोट, खप्तड दह, नागढुङ्गा आदि खप्तड क्षेत्रका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यस्थल हुन् । 

बाबा आश्रममा योगी सच्चिदानन्द सरस्वती अर्थात् खप्तड बाबाले ५० वर्षभन्दा बढी कठोर ध्यानरसाधना गरेर बिताएका थिए । गङ्गादशहराको बेला भव्य मेला लाग्ने त्रिवेणी धाम खप्तड क्षेत्रको अर्को एउटा महत्त्वपूर्ण धार्मिकस्थल हो । तीनवटा नदीको संगमस्थल र ऐतिहासिक शिव मन्दिर रहेकाले त्रिवेणीधाममा स्नान गर्दा पुण्य प्राप्त हुने र इच्छाएको पूरा हुने विश्वास रहिआएको छ । गङ्गादशहराको मेला तथा अन्य बेलामा पनि खप्तड पुग्नेहरूले प्रायः त्रिवेणीमा स्नान गर्छन् । जडीबुटी र वनस्पतिहरूले ढकमक्क पाटनका बीच फाँटबाट मूल फुटेर बनेका नदीमा स्नान गर्दा चिसो भए पनि स्वस्थकर हुने विश्वास गरिन्छ ।

No description available.

चट्टानहरूमा बनेको सहस्रलिङ्ग र डाँफेकोट पनि पुरातात्विक हिसाबले महत्त्वपूर्ण छन् । खप्तड क्षेत्रमा रहेको सबैभन्दा ठूलो ताल खप्तड ताल हो । यस ताललाई खापर दह पनि भन्ने गरिन्छ । वरिपरि डाँडैडाँडाले घेरिएको खापर दह वनस्पति र मौसमअनुसार फुल्ने फूलहरूको छाया पानीमा देखिने हुँदा यो दह निकै सुन्दर देखिन्छ । चराचुरुङ्गीको चिरबिर आवाजले शान्त र सौम्य खापर दह अझ मनमोहक लाग्छ । सर्प आकृतिमा रहेको नागढुङ्गालाई पनि नागदेवताका रूपमा पूजाआजा गरिँदै आएको छ । खप्तड घुम्नलाई उत्तम समयका रूपमा वसन्त र शरद ऋतुलाई मानिन्छ । 

खप्तड जान चारवटा मार्ग सञ्चालनमा छन्, जसअन्तर्गत बाजुरा–खप्तड, अछाम–खप्तड, डोटी–खप्तड, बझाङ–खप्तड पर्छन् । यसमध्ये पैदल यात्रा गर्न छोटो मार्ग बाजुरा–खप्तड नै हो । यसपछिको छोटो पैदल मार्ग बझाङ–खप्तड हो । कैलालीको धनगढीबाट करिब १४ घण्टाको बसयात्रापछि बझाङको तमैल बजार पुगिन्छ । तमैल बजारबाट सेती नदी तरेर करिब दुई घण्टाको स्थानीय जीपयात्रामा खप्तडछान्नाको दारु गाउँ पुगिन्छ । लोखडाको उकालो सकिएपछि सुन्दर विशाल पाटन आउँछ, जुन पाटनमा पुगेपछि जोकसैलाई पनि स्वर्गीय अनुभूति हुन्छ । 

No description available.

करिब साढे ४ बजे खप्तड मेला लाग्ने स्थान त्रिवेणीधामनजिकै पुगेर हामीले त्यहाँ पत्रकार सरहरू भानुभक्त आचार्य र अर्जुन शाहलाई भेट्यौँ । उहाँहरू बसेको टेन्टमा हामीले आफ्ना ब्यागहरू राखेर एकछिन् घुम्न निस्क्यौँ । सबैले त्यहाँको सुन्दरतालाई आफ्नो क्यामेरामा कैद गर्‍यौँ । धेरै टाढासम्म नपुगे पनि हामीले नजिकैका पाटनहरू घुमेर भ्यायौँ । साँच्चिकै अद्भुत दृश्य जसले हामीलाई नयाँ ऊर्जा दिइरहेको थियो । त्यहाँ स्वास्थ्य शिविर पनि राखिएको थियो । स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजना र जिल्ला अस्पताल बझाङ, बाजुरा, डोटी र अछामको समन्वयमा स्वास्थ्य शिविर आयोजना गरिएको थियो । त्यहाँ हामीले पनि आफ्नो स्वास्थ्य जाँच गर्‍यौँ र केही साथीहरूले दुखाइको औषधि लियौँ ।

राति खाना खानका लागि शारदा र म लामो लाइनमा बस्यौँ । लामो लाइनपछि कुपन पायौँ अनि खाना खायौँ । केही साथीले भने खाना खाएनन् । अरु टेन्ट खाली नभएपछि त्यस रात धनगढीबाट गएका साथीहरू भानु सरहरूसँगै एउटै टेन्टमुनि रात काट्यौँ । हामीलाई त्यहाँ स्लिपिङ ब्याग भने आयोजकले उपलब्ध गराउनुभएको थियो, जसले गर्दा केही सहज भयो र सुत्यौँ । तर, चिसो अत्यधिक थियो । त्यहाँ १२ महिना नै अत्यधिक चिसो हुन्छ । एउटै टेन्टभित्र धनगढीबाट गएका हामी ६ जना र उहाँहरू पनि ६ जनाजति नै हुनुहुन्थ्यो । अरु टेन्टमा ठाउँ नभएको हुँदा हामीले त्यो रात त्यसै टेन्टमा काट्यौँ । 

No description available.

बिहानै उठेर हाम्रा साथीहरू नुहाएर कोही त्रिवेणीधाम त कोही बाबाको कुटी पुग्यौँ । बिहान ९ बजेसम्म घुमेर फेरि डोटीको बाटोहुँदै धनगढी फर्किने निधो गर्‍यौँ । फर्किने मन नहुँदा पनि काम विशेषले सबैले अर्कोपटक आउने वाचा गर्दै त्यहाँबाट बिदा हुने नै निधो गर्‍यौँ । निस्किनुभन्दा अघि हामीले त्रिवेणी धामको दर्शन गर्‍यौँ । त्रिवेणीधामको दर्शन गर्न हजारौँ मानिसहरू त्यहाँ थिए । त्यहाँ नेपालका विभिन्न जिल्लालगायत भारतबाट पनि मानिसहरू आएका थिए । हामी पनि त्यहाँ दर्शन गर्दै क्यामेरामा तस्वीरहरू कैद गरेर फर्किन सुरु गर्‍यौँ । खप्तड जाँदा बझाङबाट गएका हामी फर्किंदा भने डोटीको बाटोहुँदै फर्कियौँ । हिँडेर ६/७ घण्टामा पुग्ने भनेपछि हामी त्यही बाटो हिँड्न सुरु गर्‍यौँ । 

बिहान ९ बजे त्रिवेणीधामको दर्शन गर्दै हामी त्यहाँबाट हिँड्यौँ । बाटो धेरै उकालो नभएकाले म पनि सहजै हिँडिरहेकी थिएँ । बाटोमा सम्झनाका लागि हाम्रो तस्वीर कैद गर्ने जिम्मा तेज बटाला सरले लिइरहनुभएको थियो । उहाँले हामीलाई आफ्नो क्यामेरामा सुन्दर खप्तडका फाँटहरूसँगै कैद गर्दै हुनुहुन्थ्यो । 

करिब २ घण्टा हिँडेपछि हामीले चिउरा, चाउचाउ र निम्की खायौँ । त्यसैगरी, आरुबखडा पनि खायौँ । बाटोमा खानका लागि हलुका र नबिग्रने खानेकुरा र चिसोबाट बचाउने तातो लुगा लग्न भने भुल्नु हुँदैन । डोटीहुँदै गन्तव्यसम्म पुग्ने हामीजस्ता धेरै मानिसहरूलाई हामीले भेटिरहेका थियौँ ।  सधैँ उकालोओरालो गरेकाहरू छिटोछिटो हिँडिरहेका थिए । तर, मलाई भने गाह्रो भइरहेको थियो । जबजब उकालो आउँथ्यो, तबतब खुट्टा काम्न थाल्थ्यो । तर पनि मलाई हिँड्न ढाडस दिइरहेका थिए साथीहरूले ।

डोटीको बाटोहुँदै फर्किंदा ओरालो बढी भए पनि कतिपय ठाउँमा अग्ला डाँडा उक्लिनुपर्ने थियो । उकालो लाग्दा मलाई गाह्रो भइहाल्ने । सबै साथी अघिअघि, म पछिपछि । गाह्रो मलाई मात्रै भएको थिएन, उनीहरूलाई पनि भइरहेको थियो । तर, समयमै पुग्नुपर्ने भएको हुँदा उनीहरू अलि अघिअघि हिँडिरहेका थिए । शारदाले मलाई 'हिम्मत गर्नुस्, हामीलाई समयमै घर पुग्नु छु भनिरहेकी थिइन् । तेजराज सरले 'अब त आइहाल्यो नि, हिँड्नुस्, थोरै छु भन्दै हिँड्न प्रोत्साहन दिइरहनुभएको थियो । 

हाम्रो टिममा एक जना पत्रकार भाइ दीपक बम पनि थपिएका थिए । हामीसँग धनगढीबाट सँगै नगए पनि आउँदा भने उनी हामीसँगै आए । पुर्ख्यौली घर डोटी भए पनि पढाइ र काम भने उनले धनगढीमै गरिरहेका थिए । मैले ठाउँठाउँमा बस्दै हिँड्दै गरेको देखेर साथीहरूले मेरो ब्याग बोकेर सघाइरहेका थिए । दीपक भाइले मेरो झोला 'म बोक्छुु भन्यो । 'मैले पहाडमा ५० किलो चामलको बोरा बोकेर हिँडेको हो दिदी, यो झोला त के हो र ? हजुर हिँड्नु मात्रैु भन्दै भाइले मेरो झोला बोकिदियो । यसरी हाम्रो यात्रा अघि बढ्दै थियो ।

म नै टिममा सबैभन्दा पछिपछि थिएँ । मेरो पीडालाई महसुस गर्दै अघि बढ्न साथ दिने बटाला सर पनि हुनुहुन्थ्यो । उहाँले मलाई बाटोभरि नसकेको ठाउँमा हात समाउँदै उकालोहरू पार गराउनुभयो । दुखेको गोडामा मुभ लगाएर एकछिन् आराम गरेर अघि बढ्न उहाँले हौसला दिनुभयो । हाम्रो टिममा भएका सबै साथीहरूसँग मेरो चिनजान र केहीसँग सहकर्मी भएर काम गरेको अनुभव भए पनि बटाला सरसँग मेरो पहिलो भेट थियो । 

मलाई गोडा दुखेर पीडा भइरहेको थियो । साथीहरू भने ''आउनुहोस् छिटो, नत्र हाम्रो गाडी छुट्छु भनेर कराइरहेका थिए । बाटो साँघुरो थियो । कतिपय ठाउँमा लड्यौँ पनि । कतै हात थामेर हिँड्यौँ । यहाँ लौरोको आवश्यकता पर्छ । अनि तपाईंको हात समाउने एउटा साथी भयो भने अप्ठेरो मोड पार गर्न सहज हुन्छ । बटाला सर र म नयाँ भएको हुँदा हामी परिचय गर्दै एकअर्काका बारेमा भनिरहेका थियौँ । हामी दुवैलाई एकअर्काको कुराकानीले यात्रा सहज बनाइरहेको थियो । 

यात्रामा जति धेरै बुझ्ने मानिस पाउनुभयो, यात्रा त्यति नै सहज हुन्छ । मेरो टिमका साथीहरूकै मायाले मलाई हिँड्न सहज बनाइरहेको थियो । यसरी हिँड्दाहिँड्दै ९ घण्टा लामो यात्रा सहज बन्यो । अझ भनौँ, जिन्दगीकै सबैभन्दा लामो यात्रा सहज बन्यो । अनि यात्रा पनि सफल भयो ।

No description available.

हामी साँझ ६ बजे डोटीे झिग्राना पुग्यौँ । अब त्यहाँबाट दिपायल पुग्नु थियो । तर, हामी ढिलो गरी पुगेको हुँदा गाडी पाउन गाह्रो भयो । करिब १ घण्टाको पर्खाइपछि एउटा जीप पायौँ र दिपायलका लागि प्रस्थान गर्‍यौँ ।  दिपायलबाट धनगढीका लागि गाडी पाइन्छ कि पाइँदैन भन्ने चिन्ता हामीमा थियो । डोटी मैले पहिलोपटक देखेँ । तर, हामी दिपायल पुग्दासम्म ८ बजिसकेको थियो । हामी सडकको छेउमा बसेर धनगढी जाने गाडी हेर्दै थियौँ । १० बजेसम्म बाटोमा बसेपछि पनि गाडी नपाएपछि हामी त्यो रात दिपायलमै बस्यौँ । तेजराज सरले दिपायलको साथी होटलमा बस्ने निधो गरेपछि हामीले खाना खाएर त्यस रात त्यहीँ बितायौँ । भोलिपल्ट बिहानै उठेर हाम्रो धनगढीको यात्रा ८ बजे सुरु भयो ।

हामी सबै साथीहरू बसमा बस्यौँ । म र बटाला सर सँगै बसेका थियौँ । मलाई उल्टी हुँदै थियो । साथीहरूले पछाडिका सिटहरूबाट कस्तो छ भनेर सोध्दै थिए । धेरै बेर सिटछेउमै पल्टिएपछि अलि आराम मिल्यो । केही समयपछि बस रोकियो एउटा होटलमा । साथीहरूले खाना खाए । बाटोमा भेटिएका हरियाली जंगल, विशाल पहाडहरू अनि भिरपाखाले गोदावरी आइपुगेको संकेत गरिरहेका थिए । यस्तो गर्दागर्दै करिब ३ बजे अत्तरिया पुग्यौँ । त्यहाँ शारदा ओर्लिएपछि हामीले उनलाई बिदा गर्‍यौँ । केही साथी धनगढी चटकपुरमा ओर्लिनुभयो । उहाँहरू सबैलाई बिदा गरेपछि अन्तिममा धनगढी चौराहसम्म म र एक जना सर थियौँ । मलाई लिन मेरो भाइ आएको रहेछ । सरलाई लिन उहाँको एक जना स्टाफ ।

गाडीबाट ओर्लिएर सरले भन्नुभयो– म्याम, हाम्रो खप्तड टिम धनगढी पुगेपछि पनि भेट्नुपर्छ है ।' मैले 'हुन्छ' भन्दैगर्दा मेरो भाइ छेउमै आयो, अनि म भाइको स्कुटीमा बसेर घरतिर लागेँ । अब फेरि हाम्रो खप्तड टिमको भेट कहिले हुन्छ होला !