धम्काउँदै रकम असुल्न खोज्ने टिकापुरको प्रेम जोडी पक्राउ

धम्काउँदै रकम असुल्न खोज्ने टिकापुरको  प्रेम जोडी पक्राउ

अपराध महाशाखाले छोरा अपहरण गरेर गोली हानी मारिदिने धम्की दिदैं रकम असुल्न खोज्ने एक प्रेम जोडीलाई पक्राउ गरेको छ।

महाशाखाले यसरी धम्काउने काम गरेको भन्दै कैलाली, टिकापुर नगरपालिका वडा नम्बर ९ घर भई हाल बालकुमारी ललितपुर बस्ने २४ वर्षिय लोकेन्द्र शाही र उनकी २० वर्षिय प्रेमिका रूबी ठाकुरलाई बिहिबार गौशालाबाट पक्राउ गरेको हो।

ठाकुर र शाहीको स्थायी ठेगाना एउटै हो।

अपराध महाशाखा प्रमुख सहकुल बहादुर थापाका अनुसार उनीहरूले सिन्धुपाल्चोक जिल्ला, सुनकोशी गाउँपालिका वडा नम्बर ६ स्थायी घर भइ हाल काठमाडौं महानगरपालिका वडा नम्बर १० बुद्धनगर बस्ने ४२ वर्षिय सिताराम कार्कीलाई एसएमएस मार्फत धम्की दिने गरेका थिए।

प्रेमिका रूबी ठाकुरको योजना अनुसार शाहीले एसएमएस मार्फत धम्काउने गरेको उनले बताएका छन्।

उनीहरूलाई धम्काउन प्रयोग गरेको मोबाइल सेट र सिम सहित पक्राउ गरेको थापाले बताए।थापाका अनुसार पीडित कार्की र पीडक ठाकुरबीच पहिलेदेखि नै चिनाजानी रहेको र घटना घट्ने अवस्थासम्म कसरी पुग्‍यो भन्ने बारेमा अनुसन्धान भइरहेको उनको भनाइ छ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन्।