बैतडी कांग्रेसले वडा तहमा सेवा दल गठन गर्दै

बैतडी कांग्रेसले वडा तहमा सेवा दल गठन गर्दै

बैतडी । नेपाली कांग्रेस बैतडीले बिशेष आन्तरिक अभियान अन्तर्गत वडा तहमा सेवा दल गठन गरिरहेको जनाएको छ । बिशेष आन्तरिक अभियान अन्तर्गत पालिकास्तरीय कार्यक्रम सम्पन्न गरेपछि वडा तहमा अभियान केन्द्रित भएको कांग्रेस बैतडीका कार्यवाहक सभापति बिरबहादुर बिष्टले बताए । 

संगठन सुदृढीकरण र विस्तार गर्ने अभियान अन्तर्गत वडास्तरमा छलफल र बहस सञ्चालन गर्ने गरिएको कार्यबाहक सभापति बिष्टले बताए । पालिकाहरुमा खटिएका समितिहरुले पायक पर्ने हिसाबले ८४ ओटै वडाहरुमा बिशेष आन्तरिक अभियान जारी रहेको उनले बताए । 

पाटन नगरपालिका अन्तर्गत वडा नं २ मा शनिबार कार्यक्रम सम्पन्न गरिएको नेपाली कांग्रेस बैतडीका कोषाध्यक्ष चक्रबहादुर चन्दले बताए । बिशेष आन्तरिक अभियान अन्तर्गत वडा वडामा सेवा दल गठन कार्य समेत भइरहेको कोषाध्यक्ष चन्दले बताए । 

बिशेष आन्तरिक अभियान अन्तर्गत सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण र पार्टीको रणनीतिका बिषयमा जानकारी दिने गरिएको छ । पार्टीले लोकतन्त्रलाई संस्थागत गर्नका लागि गरिरहेको प्रयासका बिषयमा समेत आन्तरिक अभियानमा छलफल हुने गरेको कोषाध्यक्ष चन्दले बताए । 

यस्तै पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले जनताका पक्षमा गरिरहेका कामका बारेमा नागरिकलाई जानकारी गराउने र प्रतिनिधिहरुसंग भएका नागरिकका गुनासा समेत संकलन गर्ने काम भइरहेको नेपाली कांग्रेस बैतडीका सहसचिव दिपेन्द्रबहादुर चन्दले बताए ।