दार्चुलाको दुहुँमा आवासीय अनाथालय सञ्चालन

दार्चुलाको दुहुँमा आवासीय अनाथालय सञ्चालन

दार्चुला । टूहुरा बालबालिका–सहारा गाउँपालिका भन्ने उद्देश्यका साथ दुहुँ गाउँपालिका भित्र रहेका टुुहुरा बालबालिकाका लागि खाना आवास तथा पठनपाठनको पूर्ण व्यवस्था सहितको आवासीय अनाथालय आजबाट सञ्चालनमा आएको छ ।

दुहुँ गाउँपालिका वडा नम्बर– ४ मा सञ्चालन भएको आवासीय अनाथालयमा पालिकाभित्रका १२ जना अनाथ बालबालिका पढ्ने भएका छन् । ४ कोठाको आवासीय अनाथालयमा बिद्यार्थीलाई खान, बस्न र पठनपाठनको व्यवस्था गरिएको छ । अनाथालयमा भान्से तथा वार्डेन राखिएको छ ।

दुहुँ गाउँपालिका वडा नम्बर– ५ को धारीपाटा माध्यमिक विद्यालय धारीमा पालिका अध्यक्ष नरेन्द्र बडालको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री एवंम् नेकपा एमाले पोलिटव्युरो सदस्य गणेश सिह ठगुन्ना रहनु भएको थिए ।

दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्र बडालले दुहुँ गाउँपालिका भित्र रहेका अनाथ बालबालिकाको अभिभावक स्थानीय सरकार भएको भन्दै अब पालिकाभित्र कुनैपनि बालबालिकाले टुहुरा भएको अनुभूति नगर्ने बताए ।

कार्यक्रमका सञ्चालक शिक्षा शाखा संयोजक लोकेन्द्र बहादुर बमले पालिका भित्र तथा बाहिर रहेका टुहुरा  बालबालिकाहरुलाई समेट्दै लगिने बताएका छन ।  अनाथालय व्यवस्थापनको जिम्मेवारी मावि धारीलाई दिइएको छ ।

उद्घाटन कार्यक्रममा निर्वाचित जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, शिक्षाप्रेमी,  समाजसेवी, बुद्धिजीवी, शिक्षक, कर्मचारी एवम् अभिभावक तथा बिद्यार्थिहरुको सहभागिता रहेको थियो । आजै दुहुँ पालिकाले सञ्चालन गरेको शैक्षिकसत्र २०७९ को परीक्षामा पालिका भरिमा प्रथम , द्वितीय र तृतीय स्थान ल्याउने कक्षा ४( १० सम्मका विद्यार्थीहरुलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको शिक्षा शाखा प्रमुख बमले जानकारी दिए ।