सुख्खा फलफूल विकास केन्द्रको नर्सरीमा ओखरको बिउ राखिँदै

सुख्खा फलफूल विकास केन्द्रको नर्सरीमा ओखरको बिउ राखिँदै

बैतडी  / बैतडीको सतबाँझस्थित सुख्खा फलफूल विकास केन्द्रको नर्सरीमा ओखरको बिउ राख्ने कार्य शुरु गरिएको छ । ओखरको बिरुवा उत्पादनका लागि बिउ राख्ने कार्य शुरु भएको सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुन खड्काले बताए । 

हरेक बर्षको भदौ महिनामा ओखरको बिउ राख्ने गरिएको प्राविधिक सहायक खड्काले बताए । कास्मिरी थिङसेल जातको बिजु ओखरको बिउ राख्ने कार्य भइरहेको छ । भदौ महिनामा राखिएको बिउबाट उत्पादन हुने बिरुवा डेढ बर्षपछि रोप्न लायक हुने प्राविधिक सहायक खड्काले बताए । 

यो भदौमा राखिएको ओखरको बिउबाट उत्पादन भएका बिरुवा २०८१ को पौषमा रोप्न लायक हुने सुख्खा फलफूल विकास केन्द्रका निमित्त प्रमुख डिल्लीराज भट्टले बताए । यो बर्ष ६० हजार दाना ओखरको बिउ नर्सरीमा राख्ने योजना रहेको उनले बताए । अहिले ४५ हजार दाना ओखरको बिउ राख्ने कार्य भइरहेको छ ।

२५ हजार दाना ओखरको बिउ केही दिनपछि राख्ने तयारी छ । नर्सरीमा राखिएको ओखरको बिउमध्ये ४५देखि ५० प्रतिशत मात्रै उम्रने गरेको प्राविधिक सहायक खड्काले बताए । ६० हजार दाना ओखरको बिउ राखेमा बढीमा तीस हजार बोट मात्रै उत्पादन हुने उनले बताए । 

सुख्खा फलफूल विकास केन्द्रको नर्सरीमा अहिले पनि ३० हजार ओखरका बिरुवाहरु रहेका छन् । आउने पौष रोप्नका लागि ३० हजार ओखरका बिरुवा रहेका बताइएको छ । 

सुख्खा फलफूल विकास केन्द्रले बर्षेनी फलफूलका बिरुवा उत्पादन गर्दै आएको छ । ओखर, आरु, नासपाती, स्याउ, आरुबखडा, कागजी बदाम लगायतका बिरुवाहरु नर्सरीमा उत्पादन हुँदै आएका छन् । यस्तै पछिल्लो समयमा तरकारीको बिउ समेत उत्पादन गर्ने गरिएको प्राविधिक सहायक खड्काले बताए ।