भन्सारको बदमासी : हाकिम सा’पले ‘लुकाए’ राम्रा–राम्रा मोटरसाइकल

भन्सारको बदमासी : हाकिम सा’पले ‘लुकाए’ राम्रा–राम्रा मोटरसाइकल

कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित सत्ती भन्सार कार्यालयले लिलामी गर्न भनी जारी सूचनामा उल्लेखित ३ वटा मोटरसाइकल गायब भएको पाइएको छ ।

लिलामीको सूचना अनुसार बोलपत्र हाल्न पुगेका सेवाग्राहीले सूचनामा उल्लेखित मोटरसाइकल भन्सार कार्यालयमा नपाएपछि तथ्य बाहिर आएको हो ।

स्रोतका अनुसार २ वटा अपाची र १ वटा बुलेट मोटरसाइकल भन्सार कार्यालयको लिलामी बिक्री विवरणमा भएपनि भन्सारको गोदाममा छैनन् ।

मोटरसाइकल नै गायब गरिएपछि गाडीका लागि बोलपत्र दर्ता गर्न गएका सेवाग्राही लिलाम हुने मोटरसाइकलको सूची हेरेर मात्रै फर्किने गरेका छन् ।

सत्ती भन्सार कार्यालयका प्रमुख बसन्त केसीले सुरक्षाको कारण देखाउँदै केही मोटरसाइकल इलाका प्रहरी कार्यालय टीकापुरको जिम्मा लगाएको र केही मोटरसाइकल भन्सार कार्यालयको सुरक्षित कोठा राखेको जिकिर गरे ।

‘गाडीको सुरक्षाको लागि १ वटा अपाची र १ वटा बुलेट गाडी इलाका प्रहरी कार्यालयको जिम्मा लगाएको छु भने १ वटा अपाची गाडी सुरक्षित कोठामा यही छ । तपाई टेण्डर हाल्नुस् म पत्र काटेर सो गाडी उपलब्ध गराउँछु,’ भन्सार प्रमुख केसीले भने । हाकिम सा’पले लिलामीमा जाने राम्रा–राम्रा मोटरसाइकल ग्राहकले हेर्न नमिल्ने गरी लुकाएर राखिएका छन् ।

स्रोतका अनुसार रोयल इनफिल्डको ३५० सीसीको बुलेट मोटरसाइकल र टीभीएसको १६० सीसीको १ वटा अपाची मोटरसाइकल प्रहरीलाई प्रयोग गर्न दिइएको छ । टीभीएसकै अर्को १६० सीसीको अपाची मोटरसाइकल कार्यालयमा लुकाइएको पुष्टि भएको छ । सो ३ वटा मोटरसाइकल सेवाग्राहीको पहुँचभन्दा बाहिर राखिएको स्रोतको दाबी छ ।

यति मात्रै मात्रै होइन, भन्सार कार्यालयले केही सुपर स्प्लेन्डर मोटरसाइकल समेत गायब गरिनुको साथै लिलाम बिक्रीको लागि राखिएका केही मोटरसाइकलका पार्टपूर्जा समेत चोरिएका छन् । मोटरसाइकलका बढी मूल्य पर्ने पाटपूर्जा चोरी भइसकेपछि मात्रै लिलाम बिक्रीको लागि बोलपत्र आह्वान गरिएको पाइएको छ ।

भन्सार कार्यालयले वैशाख १९ गते सवारीसाधन लिलाम बिक्री सम्बन्धी २१ दिने गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ । सूचना अनुसार ९० वटा मोटरसाइकल र १ वटा स्कोरपियो जीप लिलाम बिक्रीको लागि राखिएको छ । जेठ ९ गते टेन्डर खोलिने भन्सार कार्यालयले जनाएको छ ।