धनगढी सभागृह अलपत्र, सरकारी कार्यक्रम होटलमा

धनगढी सभागृह अलपत्र, सरकारी कार्यक्रम होटलमा

धनगढी। नेपाल सरकारको साढे २८ करोडको लागतमा निर्माण गरिएको धनगढी सभागृह सञ्चालन कार्यविधि तथा मापदण्डको अभावमा एक वर्षदेखि अलपत्र परेको छ ।

शहरी विकास मन्त्रालयले हो सभागृह सञ्चालन गर्ने कार्यविधि तथा मापदण्ड नबनाएको हुनाले संघीय आयोजना कार्यान्वयन ईकाई धनगढीले निर्माण सम्पन्न भएको एक वर्षसम्म पनि हस्तान्तरण गर्न नसकेको हो । धनगढी उपमहानगरपालिकाले स्वामित्वमा लिएर सञ्चालन गर्ने गरी निर्माण गरिएको सभागृहमा फर्निचर र साउण्ड सिस्टम जडान नगरिएको छैन । सो समेत जडान गरेपछि बुझ्ने धनगढी उपमहानगरपालिकाले अडान राखेको छ । धनगढी उपमहानगरपालिकाका शहरी विकास तथा प्राविधिक शाखा प्रमुख द्विजराज भट्टले फर्निचर र साउण्ड सिस्टम जडान भएपछि बुझ्ने बताए ।

धनगढी उपमहानगरपालिका–८, धनगढी गाउँमा डेढ विघा जमीनमा २८ करोड ५५ लाख रुपैयाँ लगानी गरिएको सभागृहको निर्माण, रंगरोगन र विद्युत जडान लगायतका सम्पूर्ण मुख्य कार्यहरु २०७९ असारमा सम्पन्न भई निर्माण कम्पनीले संघीय आयोजना कार्यान्वयन ईकाईलाई हस्तान्तरण गरिसकेको छ । निर्माण कार्य सम्पन्न भएपछि हस्तान्तरणको तयारी समेत गरेको अवस्थामा धनगढी उपमहानगरपालिकाले बुझ्न नमानेपछि स्थगित भएको आयोजना कार्यालयका सूचना अधिकारी ईञ्जिनियर सौरभ कलौनीले बताए । मन्त्रालयले सञ्चालन कार्यविधि तथा मापदण्ड बनाइरहेको बताउँदै उनले फर्निचर र साउण्ड सिस्टमका लागि अर्को ठेक्का गर्नुपर्ने बताए ।

राष्ट्रिय सभागृहको मोडेलमा बनाइएको सभागृहमा नौ सय जना क्षमताको एउटा मुख्य अडिटोरियम, दुई सय जना क्षमताको एउटा सेमिनार हल, एउटा प्रदर्शनी कक्ष, एउटा अतिविशिष्ट कक्ष र दुई वटा रिहल्सल कक्ष छ । करिब चार सय गाडी अटाउने अन्डरग्राउण्ड बेसमेन्ट पार्किङ पनि तयार गरिएको छ । 

आयोजना कार्यालयका अनुसार विजुली–वत्ति सहित तातो–चिसोका लागि एसि तथा हिटर, खानेपानी जडान र गार्डेन डिजाइन लगायत सम्पूर्ण कार्य गतवर्ष नै सम्पन्न भएको छ । सभागृहमा फर्निचर र साउण्ड सिस्टम जडान गर्न यो वर्ष २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । सभागृहका लागि आवश्यक पर्ने साउण्ड सिस्टमको विषयमा अध्ययन गर्ने कार्य भइरहेको सूचना अधिकारी कलौनीले बताए । उनले सो बजेटले यसै वर्ष सम्पन्न गर्ने वा बहुवर्षीय योजनामा लगेर उच्च गुणस्तरको साउण्ड सिस्टम जडान गर्ने विषयमा अध्ययन भइरहेको बताए । फर्निचर र साउण्ड सिस्टम नभएको बहानामा एक वर्षदेखि सो सभागृह अलपत्र परेको छ । 

सो सभागृह सञ्चालन हुन नसकेको कारण सरकारी कार्यक्रम होटल र पार्टी प्यालेसमा भइरहेका छन् । धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्ने ठूला कार्यक्रमहरु सभाहलको अभावमा पार्टी प्यालेस, होटलमा गर्नुका साथै मन्त्रालयको प्रांगणमा टेण्ट लगाएर आयोजना गर्ने गरिएको छ । धनगढीमा हुने बैठक, सभा, गोष्ठी, सेमिनार जस्ता ठूला कार्यक्रम गर्ने स्थानको आवश्यकता महसुस गरेर बनाइएको सभाहल सञ्चालन हुन नसक्दा सरकारी कार्यालयहरुले त्यस्ता कार्यक्रम महंगो भाडा तिरेर पार्टी प्यालेस, होटलमा सञ्चालन गरिरहेका हुन् । 

निर्माण कम्पनी विकाई एमके रोयल धनगढीसंग २०७५ माघ २ गते ३० महिनामा निर्माण सम्पन्न हुने गरी सभागृह निर्माणको ठेक्का सम्झौता भएको थियो । कोभिड १९ का कारण काममा बाधा उत्पन्न भएपनि एक वर्ष म्याद थप गरी निर्माण सम्पन्न गरी २०७९ जेठमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा उद्घाटन गराउने कार्यक्रम तय भएको थियो  । तर धनगढी उपमहानगरपालिकाले बुझ्न नमानेपछि सो कार्यक्रम रद्द भएको थियो । सभागृह निर्माणका लागि लागि एक करोड रुपैयाँमा धनगढी नमुना प्राविधिक माविसंग जमीन खरिद गरिएको थियो ।