बुधबार एसिया कपमा डेब्यू गर्दै नेपाल, नेपाली टिमका विषयमा यस्तो छ बाह्य आकलन

बुधबार एसिया कपमा डेब्यू गर्दै नेपाल, नेपाली टिमका विषयमा यस्तो छ बाह्य आकलन

काठमाडौं / नेपाल बुधबार एसिया कपमा डेब्यू गर्दैछ। कुनै पनि फर्म्याटका खेलमा नेपालको पहिलोपटक पाकिस्तानसँग भेट हुन लागेको हो। नेपालका लागि बुधबार पाकिस्तानसँगको खेल उत्साहपूर्ण मात्रै रहने छैन, उत्सव मनाउने अवसर समेत प्राप्त गर्न सक्छ।

पाकिस्तानले घरेलु मैदानको अत्यधिक लाभ लिने क्रममा नतिजा नेपाललाई सुम्पिन सक्ने आकलन क्रिकेटसम्बन्धी अनलाइन क्रिकइन्फोले गरेको छ। नेपालले क्रिकेटमा उदाउँदो शक्तिका रुपमा आफूलाई एसिया कपमा पुर्‍याएको उल्लेख गरिएको छ।

भनिएको छ, ‘नेपालले एसीसी मेन्स प्रिमियर कप जितेको थियो। जहाँ उसले यूएई र हङकङलाई पराजित गरेको थियो, जो विगतका एशिया कपमा सहभागी भइसकेका देशहरु हुन्। त्यसअघि नेपालले १२ एकदिवसीय खेलमा ११ जितेर एकदिवसीय विश्वकप क्वालिफायरसम्मको यात्रा गरेको थियो।’

नेपालले सन् २०१८ मा एकदिवसीय मान्यता प्राप्त गरेको हो। अहिले र्‍याङकिङमा १५ औं नम्बरमा रहेको छ। नेपाल ठूलो सपना हासिल गर्ने लक्ष्यनजिकै देखिन्छ। किनभने सन् २०२७ मा हुने एकदिवसीय विश्वकपमा १४ देश सहभागी हुनेछन्।

पाकिस्तानले प्राविधिक रुपमा यो प्रतियोगिताको आयोजना गरिरहेको छ। घरेलु मैदानमा उसले जम्मा दुई खेल खेल्ने सम्भावना रहेको छ। त्यसैले मुल्तान क्रिकेट ग्राउन्डमा नेपालसँग हुने खेलमा प्रशंसकलाई ३८ डिग्री तापक्रमको गर्मी सहेर आफ्ना खेलाडी हौस्याउन भनिनेछ।

पछिल्ला वर्षहरुमा पाकिस्तान आफ्ना टप थ्री खेलाडिमा बढी नै निर्भर छ। अलराउन्ड विभागमा भने समस्या छ। क्रिकइन्फोका अनुसार आघा सलमान उसका लागि यसपल्ट महत्त्वपूर्ण हतियार हुन सक्छन्। पछिल्ला १४ खेलमा जसको औसत ४० प्लस रहेको छ भने स्ट्राइक रेट १०० प्लस रहेको छ।

उनले हालै न्यूजिल्यान्डविरुद्ध भएको एकदिवसीय खेलमा राम्रो प्रदर्शन गरेका थिए। उनले ८३ बलमा १३२ रन बनाएका थिए। क्रिकइन्फोले नेपालबाट चाहिँ दिपेन्द्रसिंह ऐरीले प्रभाव पार्न सक्ने उल्लेख गरेको छ। औसत १९.९३ रहेको उनको आकडा एकदिवसीयमा त्यस्तो प्रभावशाली नरहे पनि पछिल्ला खेलहरुमा उनले राम्रो प्रदर्शन गरेको उल्लेख गरिएको छ। 

उनले विश्वकप क्वालिफायरका खेलमा मन जितेको बताउँदै युएईविरुद्ध नटआउट ७९ रन बनाएका थिए। त्यसपछि उनले आन्द्रे रसल, सकिल अल हसन क्रिस लेन जस्ता दिग्गज खेलाडी रहेको टिमबाट क्यानडामा ग्लोबल टी २० खेलेका थिए। मोन्टेरियल टाइगर्सलाई उपाधि जिताउन उनको महत्त्वपूर्ण योगदान रह्यो।

यसैगरी इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी)ले एसिया कपमा जम्नसक्ने ६ खेलाडीको सूची सार्वजनिक गरेको छ। जहाँ नेपालका तर्फबाट अलराउन्डर गुलशन झा र पाकिस्तानका कप्तान बाबर आजम रहेका छन्। आईसीसीले झाका विषयमा लेखेको छ- ‘किशोरवयका झाले विश्वकप छनोटमा बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट संकेत गरेका छन्।’

भारतीय सञ्चारमाध्यम दैनिक भाषकरले ब्याटिङ र बलिङमै नेपालको आकडा शानदार रहे पनि ठूला टिमविरुद्धको अनुभवमा समस्या रहेको टिप्पणी गरेको छ। एसिया कपमा सहभागी टिमको समीक्षा गर्दै एसिया कपको समूह चरणमा रहेका भारत र पाकिस्तानविरुद्ध हालसम्म कुनै पनि एकदिवसीय खेल नखेलेको उल्लेख गरेको छ।

टिमको बलियो पक्षबारे लेखिएको छ, ‘दुईजना ब्याटरले एक हजार भन्दा धेरै रन बनाएका छन्। तीन बलरले ५० भन्दा बढी विकेट लिइसकेका छन्।’

सम्भावित ११
नेपाल-
 कुशल भुर्तेल, आसिफ सेख (विकेटकिपर), भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी।

पाकिस्तान- फखर जामन, इमाम-उल-हक बाबर आजम (कप्तान), मोहम्मद रिजावान, आघा सलमान, इफ्तिखर अहमद, सादव खान, फहीम असरफ/ मोहम्मद नवाज/मोहम्मद वासिम, शहीन शाह अफ्रिदी, नसीम शाह र हरिस रउफ।