एमसीसीबारे प्रधानमन्त्रीले भने : १२ बुँदे व्याख्यात्मक घोषणा सम्झौताको अंश नभए सडकमा जान्छौँ

एमसीसीबारे प्रधानमन्त्रीले भने : १२ बुँदे व्याख्यात्मक घोषणा सम्झौताको अंश नभए सडकमा जान्छौँ

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहायता परियोजना (एमसीसी) नेपालको सदनबाट पास गर्दा गरिएको १२ बुँदे घोषणालाई सम्झौताको मूल अंश नबनाइए आफूहरुका लागि सडकमा उत्रिने बाटो खुल्लै रहेको बताएका छन्।

समाजवादी मोर्चाले बुटवलमा मंगलबार गरेको कार्यक्रमलाई सम्बोधनका क्रममा मंगलबार नै नेपाल आइपुग्ने अमेरिकी अधिकारीसँग आफूले १२ बुँदे घोषणा कार्यान्वयनबारे सोध्ने पनि बताएका छन्। 

‘एमसीसीबारे अझै पनि धेरै चासो छ। केही साथीहरुको विरोधमा पनि स्वर सुनिएको छ। हामी अझै एमसीसीविरुद्ध सडकमा जाने अवस्था छ। १२ बुँदे व्याख्यात्मक घोषणाका कारण सडकमा जान सक्छौँ’, उनले भने, ‘एमसीसी कार्यान्वयबारे छलफलका लागि एकजना अधिकारी नेपाल आउँदैछन्। हाम्रो घोषणालाई सम्झौताको पाठ बनाउने हो कि होइन भनेर म उनलाई पनि सोध्छु।’

यदि १२ बुँदे व्याख्यात्मक घोषणालाई सम्झौताको अंश नबनाइए समाजवादी मोर्चामा सल्लाह गरेर सडकमा उत्रिने उनले बताए। 

‘यदि १२ बुँदे व्याख्यात्मक घोषणा एमसीसी सम्झौताको मूल अंश नभए त्यसपछि के गर्नुपर्छ? के हुन्छ? भन्ने मोर्चामा सल्लाह गर्छु’, उनले अगाडि भनेका छन्। 

उनले अहिले देशमा केही हुँदैन भनेर निराशा बनाउन खोजिएको पनि बताएका छन्। आफू संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिएर चीन जाने बताए। त्यहाँ आफूले नेपालको राष्ट्रिय हित र पक्षमा केही नयाँ निर्णय गराउने पनि बताए 

‘नेपालको राष्ट्रिय हित, स्वाधिनता र सार्वभौमसत्ताको पक्षमा लडिरहेको छु’, उनले भने,  ‘हिजो जनयुद्धमा थिएँ तर अहिले लडाइँको रुप फेरिएको छ अझै म मैदानमै छु।’