सुदूरका पहाडी तीन जिल्लाको हवाई उडान पुन: सुचारु

सुदूरका पहाडी तीन जिल्लाको हवाई उडान पुन: सुचारु

धनगढी । सुदूरका पहाडी तीन जिल्लाको हवाई उडान सोमबारदेखि  पुन: सुचारु भएको छ । मौसम खराबीका कारण अवरुद्ध बनेको पहाडी तीन जिल्लाको हवाई उडान पुन सुचारू गरिएको हो ।

सुदूरको अछाम, बझाङ र बाजुराको हवाई उडान सुरु भए पनि डोटीको भने अझै अन्यौलता रहेको पर्यटनकर्मीहरूले जनाइएका छन् ।

“खराब मौसमका कारण लामो समयदेखि धनगढीबाट बझाङ, अछाम र बाजुरा उड्ने हवाई सेवा सोमबार देखि पुनः सुचारु भएको छ” पर्यटनकर्मी किशोर खड्काले भने, ‘आउँदा दिनमा बिहीबार र सोमबार नियमित उडान हुनेछन् ।’ 
धनगढीबाट बझाङ, अछाम र बाजुरा जाने यात्रुहरुले आफ्नो क्षेत्रका एयरलाइन्ससंग सम्पर्क गरि टिकट बुकिङ गर्न सक्ने छन् ।
सम्पर्क नम्बर:
धनगढी–बझाङ ९८४१६०३०२३
धनगढी–अछाम ९७६८४७६२५४
धनगढी– बाजुरा (कोल्टी) ९७६८४७६२५५

तत्कालीन विद्रोही पक्ष माओवादीले ध्वस्त पारेका विमानस्थल माओवादी शान्ति प्रक्रियामा आएको लामो समय सम्म गौचरन बनेका थिए । सुदूर पश्चिमका नागरिकको लामो दबाब पछि पक्की धावनमार्ग सहित केही समय चाटर्ड उडान भएका विमानस्थलमा प्रेम आले संस्कृति तथा नागरिक उड्डयन मन्त्री बनेपछि भने केही महिना नियमित उडान भएका थिए । समिट एयरलाइन्स र नेपाल बायु सेवा निगमले प्रदेश राजधानी धनगढीबाट डोटीको दिपायल, अछामको साँफेबगर, बझाङको देवल र बैतडीको पाटन विमानस्थलमा उडान भर्दै आएका थिए । 

समिट एयरलाइन्सले यात्रु अभाव र नेपाल बायु सेवा निगमले जहाज अभावमा उडान रोकेको थियो । तर केही तीन जिल्लामा मात्रै उडान सुरु भए पनि यहाँका स्थानीयलाई सहज हुने अपेक्षा गरिएको छ ।

डोटी विमानस्थल २०२६ सालमा स्थापना भई पटक–पटक सञ्चालनमा आउँदै बन्द हुँदै गरेको छ ।