पार्टीको रुपान्तरण अभियानका लागि माओवादी नेताहरु वडावडामा

पार्टीको रुपान्तरण अभियानका लागि माओवादी नेताहरु वडावडामा

धनगढी । नेकपा माओवादी केन्द्रले यही भदौ १६ गतेबाट गर्न लागेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियानको तयारी सुदूरपश्चिममा तीव्र पारिएको छ । माओवादी केन्द्रको प्रदेश समितिले अभियानमा खटिनका लागि नेताहरुको कार्यविभाजन गरेको छ भने जिल्लादेखि वडा तहसम्म पार्टी कमिटीका बैठकहरु भइरहेका छन् ।

‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने नारासहित देशैभरि एकसाथ सुरु हुने अभियान तीन महिनासम्म सञ्चालन हुनेछ । सुदूरपश्चिममा अभियानको तयारी अन्तिम चरणमा पुगेको माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिका सचिव जनक बुढाले जानकारी दिए । ‘अभियानका लागि नेताहरुको जिम्मेवारी सहित कार्यविभाजन गरिएको छ’ सचिव बुढाले भने, ‘जिल्लाका बैठक सकेर प्रदेशका सबै पालिका र वडाका बैठकहरु हुँदैछन् ।’

पार्टीका केन्द्रिय सचिव एवम् प्रदेश इन्चार्ज डिलाराम आचार्यको संयोजकत्वमा तीन सदस्यीय अभियान सञ्चालन सचिवालय गठन गरिएको छ । स्थायी समिति सदस्य एवम् माओवादी सुदूरपश्चिम संसदीय दलका नेता खगराज भट्ट र राष्ट्रिय सभा सदस्य एवम् माओवादीका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरि चौधरी ‘उत्सव’ सचिवालयको पदेन सदस्य रहेका छन् । 

अभियानको तयारीस्वरुप माओवादीले स्थायी समिति सदस्य भट्टको संयोजकत्वमा अभियान मुल व्यवस्थापन समिति गठन गरेको छ । समितिको सदस्यमा पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेशसिंह धामी र सामाजिक विकास मन्त्री झपटबहादुर साउँद रहेका छन् ।
 
त्यस्तै प्रदेश सभा सदस्य ओमबिक्रम भाटको नेतृत्वमा जनक बुढा, अंजिता श्रेष्ठ, लोकबहादुर बोहरा र दिपेन्द्र रावल सदस्य रहेको प्रचार संयोजन समिति गठन गरिएको माओवादी केन्द्रको प्रदेश कार्यालयका सचिव उद्धव भट्टराइले जानकारी दिए । अभियानलाई लक्षित गरेर माओवादीले प्रदेशका नौवटै जिल्लामा केन्द्रिय सदस्यहरुलाई इन्चार्जको रुपमा खटाएको सचिव भट्टराइले बताए । 

कैलाली जिल्ला इन्चार्जमा टेकेन्द्र भट्ट, कञ्चनपुरमा बीरमान चौधरी, डडेल्धुरामा हरि ज्ञवाली ‘अखण्ड’ डोटीमा लक्षीराम आचार्य र दार्चुलामा नरेन्द्र कुँवरलाई जिल्ला इन्चार्जको रुपमा खटाइएको छ । त्यस्तै, बैतडीमा रामप्रसाद तिमिल्सिना, बझाङमा लालबहादुर सोडारी, बाजुरामा देवकी मल्ल र अछाममा ओमप्रकाश पुनलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएर खटाइएको माओवादी प्रदेश समितिले जनाएको छ ।

तीन महिने अभियानका लागि माओवादीले प्रदेशमा रहेका वैकल्पिकसहित ६६ जना केन्द्रीय सदस्य र प्रदेश सरकारका मन्त्रीहरुलाई समेत विभिन्न पालिकामा खटाएको छ । प्रदेश समितिले केन्द्रीय सदस्यहरुलाई अन्तरजिल्ला, प्रदेश सदस्यलाई अन्तरपालिका र वडा सदस्यलाई अन्तरवडामा खटाएको कार्यालय सचिव भट्टराइले जानकारी दिए ।

केन्द्रीय सदस्यहरु पूर्वमुख्यमन्त्री भट्टलाई चुरे गाउँपालिका, पूर्वमन्त्री बिना मगरलाई धनगढी उपमहानगरपालिका, तारामान स्वाँरलाई लम्की–चुहा नगरपालिका तथा प्रदेश अध्यक्ष चौधरीलाई मोहन्याल र बर्दगोरिया गाउँपालिकामा खटाइएको छ । प्रदेश सरकारका सामाजिक विकास मन्त्री साउँदलाई कञ्चनपुरको पुनर्वास नगरपालिका र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री धामीलाई डडेल्धुराको आलिताल गाउँपालिकामा खटाइएको छ । 

अभियानको तयारीका लागि नौवटै जिल्ला कमिटीका बैठकहरु यही भदौ १० गने सम्पन्न भएका भट्टराइले जानकारी दिए । त्यस्तै प्रदेशका ८८ वटै पालिकाको बैठक भदौ १२ गते र सबै वडाको बैठक १४ गते तोकिएको माओवादी प्रदेश कार्यालयले जनाएको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही भदौ १६ गते देशभरका सात सय ५३ वटै पालिकामा अभियानको एकसाथ उद्घाटन गर्नेछन् ।

अभियानअन्तर्गत पार्टीको तल्ला कमिटीका बैठक, भेला र प्रशिक्षण गर्ने, सदस्यता नविकरण गर्ने, सहीद तथा बेपत्ताका परिवारलाई भेट्नुका साथै सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरुको बारेमा नागरिकलाई जानकारी गराइने माओवादी प्रदेश समितिका सचिव बुढाले जानकारी दिए । 

त्यस्तै बुद्धिजिवी, प्राध्यापक, सेवानिवृत्त कर्मचारी, मजदुर, व्यवसायीलगायतसँग छलफल, अन्तरक्रिया पनि गरिने उनले बताए । अभियानअन्तर्गत वडाभित्र उत्पीडित वर्ग, समुदाय र जनवर्गका भेला, सम्मेलन गर्ने कार्यक्रमहरु पनि तय गरिएका छन् ।

अभियानमा पार्टीको दस्ताबेज, केन्द्रीय समितिले तय गरेका नारा तथा कार्यक्रम लिएर जनताको घरघर पुग्ने लक्ष्य राखिएको सचिव बुढाले बताए । स्थानीय तहमा पुग्दा जनताको काम जनतासँगै गर्ने र बस्दा, हिँड्दा, बोल्दा पार्टीको कुरा गर्ने गरी निर्देशिका बनाइएको माओवादीले जनाएको छ । पार्टीको आठौं महाधिवेशनले पारित गरेको ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ सम्बन्धी रणनीति र कार्यनीतिलाई पार्टी पंक्ति र जनसमुदायबीच पु¥याइने सचिव बुढाले बताए ।

माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरि चौधरी ‘उत्सव’ले पार्टीलाई बलियो र सुदृढ बनाउने उद्देश्यले तीन महिने अभियान सुरु गर्न लागिएको बताए । माओवादीका संगठनहरु भद्रगोलको अवस्थामा रहेका बेला यो अभियानले पार्टी पुनर्जीवनमा ठूलो सहयोग पुग्ने उनले बताए । 
‘यसले संगठनहरुलाई चलायमान बनाउन र पार्टीलाई बलियो बनाउन ठूलो सहयोग पुग्नेछ’ अध्यक्ष चौधरीले भने, ‘हाम्रो पार्टीको नेतृत्वमा रहेको सरकारले गरेका काम र पार्टीले सरकारमा खेलेको भूमिकालाई जनताको माझमा लिएर जान्छौँ, यसले राजनीतिकरुपमा पनि हामीलाई फाइदा गर्छ ।’ 

सुदूरपश्चिममा माओवादीका ८८ हजार जना सदस्य रहेको बताइएको छ । अभियानका बेला सदस्यता नविकरणसँगै नयाँ सदस्यता वितरण गरेर पार्टीको सदस्यता संख्या बढाइने प्रदेश अध्यक्ष चौधरीले जानकारी दिए ।