बितरणमुखी बजेट रोक्न सांसदहरुको सुझाव

बितरणमुखी बजेट रोक्न सांसदहरुको सुझाव

 
सुदूर पश्चिम प्रदेश सभामा मंगलबार पनि आर्थिक मामिला तथा योजना मन्त्रालयका तर्फबाट प्रस्तुत भएको आगामी आर्थिक बर्षको बजेटको सिद्धान्त, प्राथमिकता तथा प्रमुख नीति माथि छलफल भएको छ । 
मंगलबारको छलफलमा सत्तापक्ष र प्रतिपक्षका सासंदहरुले आगामी आर्थिक बर्षको बजेटमा बितरणमुखी योजनाहरु नराख्न सरकारलाई सुझाव दिनुभएको छ । उहाँहरुले प्रदेशको विकासका लागि प्रदेशको आर्थिक अवस्थाको अध्ययन गरी त्यसैका आधारमा बजेट बनाउनुपर्ने बताउनुभयो ।

प्रदेश सभामा भइरहेको पूर्व बजेट छलफलमा भाग लिँदै सत्तापक्ष नेकपामा सांसद मान बहादुर धामीले प्रदेशमा आर्थिक सम्बृद्धि हासिल गर्न, सुखी नेपाली सम्बृद्ध नेपालको नारालाई साकार पार्न परिणाममुखी योजनामा बजेट बिनियोजन हुनुपर्ने बताउनुभयो । उहाँले बितरणमुखी बजेटले आर्थिक सम्बृद्धिको बाटो छेक्ने हुनाले ठोस योजनाहरुमा बजेट बिनियोजन हुनु आवश्यक रहेको बताउनुभयो । 

नेकपाकै सासंद नेपालु चौधरीले सरकारले बजेटका प्राथमिकता सार्वजनिक गर्दा धेरै बिषय छुटाएकोले बजेट बनाउँदा ती विषय समेटिनु पर्ने बताउनुभयो । नेकपाकै सासंद हर्क बहादुर कुँवरले प्रदेश सरकारले प्रदेशका जनतालाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने विषयमा स्पष्ट खाका बनाउनुपर्ने बताउनुभयो । अहिले बजेटका प्राथमिकताहरु प्रस्तुत भएकोले अमुर्त रुपमा बोलिएका कुरामा प्रष्टता आउनुपर्ने कुँवरको भनाई छ । उहाँले प्रदेश गौरवका आयोजनामा कस्तो आयोजनालाई राख्ने प्रष्ट हुनुपर्ने बताउनुभयो । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत बहादुर खड्काले प्रदेशको आर्थिक अवस्थाको अध्ययन गरेर मात्रै बजेट बन्नुपर्ने बताउनुभयो । उहाँले सरकारका गतिबिधिहरुका कारण सत्तापक्षीय सांसदहरु समेत अफ्ठेरोमा परेको भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले सरकारले गरिरहेको आर्थिक अनुशासन बिरुद्धका कामले सिंगो प्रदेश सभा प्रतिपक्ष बन्ने अवस्था आएको बताउनुभयो । 


पूर्व बजेट छलफलमा प्रतिपक्षी सासंदहरुले चालू आर्थिक बर्षको बजेट खर्चको अवस्था निराशाजनक रहेकोले आगामी आर्थिक बर्षको बजेट समेत खर्च गर्न सक्ने हैसियत प्रदेश सरकारसित नरहेको ठोकुवा गर्नुभयो । नेपाली कांग्रेसका सांसद कुमारी नन्दा वमले जताजतै कमिसन मागेको कुरा सुनिन थालेकोल प्रदेशको नाम सुदूरपश्चिम भन्नुभन्दा पनि कमिसन प्रदेश भन्नुपर्ने अवस्था रहेको आरोप लगाउनुभयो । 
मंलबारको पूर्व छलफलमा नेकपाका सासंद लालबहादुर खड्काले समेत प्रदेश सरकारप्रति स्थानीय तहमा प्रश्न खडा भएको बताउनुभयो । उहाँले कमिसनको चर्चा ब्यापक भइरहेकोले सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । पूर्व बजेट छलफलमा नेकपाका सांसद बल बहादुर सोडारी, देवकी मल्ल, चुन कुमारी चौधरी र प्रतिपक्षी नेपाली कांगे्रसका देवराज पाठकले पनि बोल्नुभएको थियो ।