ग्रीसमा नेपालीको अपहरण, २१ लाख फिरौती माग्ने चारजना पक्राउ

ग्रीसमा नेपालीको अपहरण, २१ लाख फिरौती माग्ने चारजना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि ग्रीस गएका एक नेपालीलाई अपहरण गरी फिरौती रकम लिएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरुलाई काठमाडौँको गौरीघाटबाट फिरौतीको २१ लाख ७५ हजार रुपैयाँसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा धनकुटाका ३२ वर्षीय शिवराज कुँवर, काठमाडौँका ५६ वर्षीय रामेश्वर अर्याल, कपिलवस्तुका ३२ वर्षीय प्रकाश बेलवासे र पर्वतका ४२ वर्षीय दिलबहादुर थापा रहेका छन्।

ब्यूरोका प्रवक्ता नवराज अधिकारीका अनुसार गत जेठ १२ गते मोरङको रंगेली नगरपालिका–२ बस्ने वर्ष २५ की सावित्रा थापा, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ बस्ने कृष्ण कार्की र काभ्रेपलाञ्चोकको नमोबुद्ध–१ मथुरापाटी बस्ने वर्ष ३० का राजन सत्याल एकसाथ नेपालबाट सिजनल भिसामा वैदेशिक रोजगारको सिलसिलामा सर्बिया गएका थिए।

सर्बियामा चित्तबुझ्दो रोजगार तथा तलब सुविधा नपाएका कारण पुनः लुकिछिपी उनीहरु ग्रीस प्रवेश गरेका थिए। त्यस क्रममा हिन्दी भाषा बोल्ने अपरिचित पाकिस्तानी भन्ने खुल्न आएका व्यक्ति तथा उसको सहयोगीसमेतले उनीहरुलाई अपहरण गरी डोरीले बाँधेर शारीरिक तथा मानसिक यातना साथै डर त्रास देखाइ ज्यान मार्ने धम्की दिएर पीडितको नेपालमा रहेको परिवारहरूसँग १५ हजार युरो फिरौती माग गरेको खुलेको छ।

त्यसबारे पीडितका आफन्तले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा जानकारी दिएपछि प्रहरीले सो सम्बन्धमा अनुसन्धान सुरु भएको थियो। ग्रीस तथा दुवईबाट ह्वाट्सएपमार्फत पीडितका परिवारहरूलाई सम्पर्क गरी २१ लाख ७५ हजार रुपैयाँ नेपालमा फिरौती रकम लिएको प्रहरीले जनाएको छ।

प्रहरीले ग्रीसमा बन्धक बनाइ राखेका पीडितहरूलाई समेत सकुशल उद्दार गरेको छ। पक्राउ परेकामध्ये शिवराज कुँवरको भूमिका नेपालमा फिरौती रकम लिने रहेको थियो।

त्यस्तै, रामेश्वर अर्याल नेपालमा फिरौती लिएको रकम शिवराज कुँवरसँग लिन सम्पर्क भएको व्यक्ति हुन् भने हाल वैदेशिक रोजगारको सिलसिलामा दुवई रहेका प्रकाश बेलबासेको काम दुवईबाट नेपालमा शिवराज कुँवरलाई फिरौती रकम लिन लगाउने तथा रामेश्वर अर्याललाई रकम दिनु भन्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ। उता दिलबहादुर थापा भने दुवईमा प्रकाश बेलबासेलाई रकम नेपालको रामेश्वर अर्याललाई दिनू भनि सम्पर्क नम्बर दिने व्यक्ति हुन्।

पक्राउ परेका व्यक्तिहरूलाई अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद लिइ थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।