फाईनल प्रवेशका लागि बुधबार रेडियो धनगढी र पश्चिम टुडे तथा एसटिएस र बी टिभि भिड्ने

फाईनल प्रवेशका लागि बुधबार रेडियो धनगढी र पश्चिम टुडे तथा एसटिएस र बी टिभि भिड्ने

धनगढी : धनगढीमा जारी नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ । प्रतियोगिताको चौथो दिन भएका लिग चरणका खेलहरुको नतिजाले सेमिफाईनल पुग्ने चौथो टोलीको टुंगो लागेको हो ।

मंगलबार भएको खेलमा रेडियो डेलिमेलसँग बराबरी खेल्दै पश्चिम टुडे सेमिफाईनल पुग्ने चौथो टोली बनेको हो । पश्चिम टुडे र रेडियो डेलिमेलले ५—५ को बराबरी खेल्दै अन्तिम चारमा पुगेको हो । पश्चिम टुडेका लागि रोशन चौधरी र प्रदिप पाठकले दुई दुई तथा दिपक उपाध्यायले एक गोल गरे ।

रेडियो डेलिमेलका लागि सन्तोष रावत र रमेश शाहले दुई दुई तथा रविन पातलीले एक गोल गरे । पहिलो खेल गुमाएको पश्चिम टुडे दुई जित र एक बराबरीसँगै ७ अंक सहित समुह ए को उपविजेता भएर सेमिफाईनल पुगेको हो ।

यसअघि भएको एक खेलमा हार व्यहोरेको डेलिमेलले लिग चरणका अन्तिम खेलमा भने अनुमोदनलाई १३—२ ले हराउँदै ५ अंक सहित समुह एक को तेस्रो स्थानमा चित्त वुझाएको छ । सान्तवना जित हात पारेको डेलिमेलका लागि सन्तोष रावतले ९ र भानुभक्त आचार्यले चार गोल गरे । अनुमोदनका लागि श्रवण देउवा र तेज वोहोराले एक एक गोल फर्काए । 

समुह ए बाट अपराजित यात्रा कायम राख्दै १२ अंक सहित एसटिएस समुह विजेता बन्दै यसअघि नै अन्तिम चारमा पुगिसकेको छ । मंगलबार भएको अन्तिम खेलमा पनि एसटिएसले डेलीपाटीलाई १२—२ ले हराएको हो । यो जितमा सागर शाहले ६ शंकर वोहोराले चार र योगेन्द्र नायकले दुई गोल गरे । डेलीपाटीका लागि पुष्कर विकले दुई गोल फर्काए । 

समुह ए बाट विजेता बनेर एसटिएस र उपविजेता बनेर पश्चिम टुडे सेमिफाईनल पुग्दा समुह बी बाट रेडियो धनगढी विजेता र बी टिभी उपविजेता बनेर अन्तिम चारमा पुगेका छन् । वुधबार हुने पहिलो समिफाईनलमा समुह बी को विजेता रेडियो धनगढी र समुह ए को उपविजेता पश्चिम टुडे भिड्नेछन् ।

अर्को सेमिफाईनलमा समुह ए को विजेता एसटिएस टेलिभिजन र समुह बी को उपविजेता बी टिभि प्रतिस्पर्धा गर्नेछन् । दुबै सेमिफाईनलका विजेताहरुले उपाधिका लागि वुधबार नै प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगिताको विजेताले नगद १५ हजार सहित ट्रफी र प्रमाणपत्र तथा उपविजेताले नगद ७ हजार सहित नगद ट्रफी र प्रमाण पत्र पाउनेछन्। त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले पनि नगद पुरस्कार पाउने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीले जनाएको छ। 

यस प्रतियोगितालाई चौधरी गुप्रको सिजी ब्रुअरीको उत्पादन नेपाल आईसनले मुख्य प्रायोजन गरेको छ भने प्रतियोगिताको प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका र कैलाली जिल्ला खेलकुद विकास समिती रहेका छन्। प्रतियोगिताको प्राविधिक पक्ष फ्ल्याटल्याण्ड फुटसलले गरिरहेको छ ।