काम नगर्ने कर्मचारीलाई कडा कारबाही गर्ने मन्त्री पण्डितको चेतावनी

काम नगर्ने कर्मचारीलाई कडा कारबाही गर्ने मन्त्री पण्डितको चेतावनी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले काम नगर्ने कर्मचारीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

मन्त्री पण्डितले सबै कर्मचारीहरूलाई उत्साहका साथ काम गर्ने वातावरण बनाउन सरकार लागि परेको दाबी गरे।

मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि समितिका सदस्यहरूले उठाएका विभिन्न प्रश्नको जवाफ दिने क्रममा उनले तत्काल करारमा रहेका कर्मचारीलाई हटाउने व्यवस्था नरहेको पनि स्पष्ट पारे।

उनले तत्कालका लागि खुला प्रणाली र करार दुवैबाट राष्ट्रिय आवश्यकताको आधारमा कर्मचारी नियुक्त गर्ने कानुनी व्यवस्था गर्न लागिएको बताए।

मन्त्री पण्डितले कर्मचारीहरूको मनोबल गिराउने काम सरकारबाट नहुने प्रतिवद्धता पनि दोहोर्‍याए।

जिम्मेवारी अनुसार कामै नगर्ने कर्मचारीलाई सरकारले कडा कारबाही गर्ने मन्त्री पण्डितको भनाइ छ।