२७ वर्षसम्म बिदा नलिई अफिसमा काम, तर पुरस्कारमा मिल्यो चकलेट

२७ वर्षसम्म बिदा नलिई अफिसमा काम, तर पुरस्कारमा मिल्यो चकलेट

आफूले काम गरिरहेको कार्यालयमा तपाईंले वर्षमा औसतमा कति दिन बिदा लिनुहुन्छ रु बर्गर बनाउने एउटा कम्पनीका एकजना कर्मचारीले त्यहाँ २७ वर्षसम्म काम गर्दा एक दिन पनि बिदा लिएनन् ।

उनको कामप्रतिको समर्पण अतुलनीय थियो । त्यसैले उनलाई उनको रोजगारदाता कम्पनी तथा सहकर्मीहरुले समेत पुरस्कार थियो । सायद झण्डै तीन दशक काम गरेको कम्पनीमा एक दिन पनि बिदा नलिएबापत दिइने पुरस्कार पक्कै पनि ठूलै होला भन्ने हामीलाई लाग्छ । तर उनले पुरस्कारको रुपमा चकलेट पाए ।

अमेरिकाको लस भेगासस्थित म्याककेरेन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको बर्गर चेनमा लाइन कुक तथा शेफको रुपमा केभिन फोर्डले दत्तचित्त भएर काम गर्दै आएका थिए ।

फोर्डको कामको सम्मान तथा पुरस्कारका रुपमा कम्पनीले केवल एउटा गुडी ब्याग दियो जसमा चकलेट, कलम तथा स्टारबक्सको एउटा कप जस्ता चिज थिए । यी सबै चिजहरु त्यस्तो कर्तव्यनिष्ठ कर्मचारीलाई पुरस्कारको रुपमा दिन सुहाउने खालका भने थिएनन् भन्ने धेरैलाई लाग्यो । तर सायद कसैलाई थाहा थिएन कि यहीँ सानो उपहारले फोर्डलाई मालामाल बनाउनेछ ।

आफूले अफिसबाट पाएको पुरस्कार गुडी ब्याग खोल्दै गरेको भिडियो उनले टिकटकमा हाले, जुन निकै भाइरल बन्यो । धेरै मानिसहरुले केभिन फोर्डको इमान्दारिता र समर्पणको कदर उनको अफिसले गर्न नसकेको टिप्पणी गरे । त्यसपछि फोर्डकी छोरी सेरिनाले आफ्ना पितालाई सो पहिचान दिलाउनका लागि एक गो फन्ड मी अभियान सुरु गरिन् जसको उनी हकदार थिए ।

गो फन्ड मी मा मानिसहरुको प्रतिक्रिया र सहयोग जबरजस्त थियो । उक्त अभियानमा फोर्डको नाउँमा मानिसहरुले ४ लाख १८ हजार डलर रकम सहयोग गरे ।

तीन दशकअघि नै पत्नीसँग सम्बन्धविच्छेद गरेका फोर्डले त्यतिबेलै दुई छोरीहरुको संरक्षकत्व प्राप्त गरेका थिए । पछि उनले दोस्रो बिहे गरे र परिवारको संख्या बढ्दै जाँदा बर्गर कम्पनीको जागिरले उनलाई परिवार पाल्न निकै सजिलो भयो ।

तर काम गर, फलको आशा नगर भन्ने उखान अन्ततः उनको हकमा चरितार्थ भयो । आमा मानिसहरु उनको कामप्रतिको लगावबाट प्रभावित हुँदै उनलाई करोडौं रुपैयाँ सहयोग गर्न तयार भए । गो फण्ड मी अभियानमा उनलाई कतिपय ठूला हस्तीहरुले पनि सहयोग गरे । त्यहाँ प्रतिव्यक्ति सहयोग राशी २७ डलर राखिएको थियो, जसले उनको २७ वर्षे जागिरे जीवनलाई प्रतिबिम्बित गर्दथ्यो । सायद फोर्डको परिवारलाई यो अभियानले यतिधेरै मानिसको ध्यानाकृष्ट गर्ला र ठूलो रकम सहयोग प्राप्त होला भन्ने लागेको थिएन ।