केरामा फेला पर्‍यो ‘पानामा टीआरफोर’ रोग

केरामा फेला पर्‍यो ‘पानामा टीआरफोर’ रोग

टीकापुर । केरा ओइलाउने (पानामा) रोगको नयाँ प्रजाति ट्रोपिकल रेस ४ (टीआरफोर) पहिलो पटक नेपालमा फेला परेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायले गरेको अनुसन्धानले टीकापुरका केरा बगैँचामा पानामा टीआरफोर रोग लागेको फेला परेको हो ।  

कृषि वैज्ञानिकले २०८० साउन १० गतेदेखि यहाँका नौ जना किसानका केरा बगैँचामा पुगेर आठ हजार केराका बोटको अवलोकन गरेका थिए । रोगसँग मिल्दो लक्षण देखिएको नमुनालाई प्रयोगशालामा कल्चर गर्दा जीवाणु देखिएको र पछि पीसीआर गर्दा चार वटा बगैँचाबाट लिइएका नमुनामा पोजेटिभ देखिएको थियो ।

उक्त पीसीआर प्रोडक्टलाई हङकङस्थित बेइजिङ जिनोमिक इन्ष्टिच्यूटमा परीक्षण गर्दा टीआरफोर पुष्टि भएको नार्कका वैज्ञानिक डा.रामबहादुर खडकाले बताए । अध्ययनमा संलग्न सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्काय बालीरोग विषयका उपप्राध्यापक आशिष् घिमिरे टीकापुर नगरपालिकाका वडा २, ५ र ७ मा रोग देखिएको र सङ्क्रमणलाई यत्तिमा सीमित गर्न सके केरा जोगाउन सकिने बताए । 

भारतमा भने पाँच वर्षअघि नै यो रोग देखा परेको थियो । नेपालमा पहिलो पटक टीकापुरमा देखा परे पनि सावधानी देशैभर अपनाउनु पर्ने उपप्राध्यापक घिमिरेको भनाइ छ ।

किसानको चिन्ता

करिब ८०० हेक्टरमा केरा खेती भइरहेको र केरा हबको रूपमा विकास भइरहेको टीकापुरमा पानामा टीआरफोर रोग देखिएपछि किसानलाई चिन्तित बनाएको छ । केरा किसान दीपेन्द्र थारुले भने, “‘नगदे बाली लगाउन भनेर महँगोमा जग्गा भाडामा लिएका छौँ । सङ्क्रमण बढेमा लगाएको केरा सबै सिद्धिन्छ र अन्य बाली लगाउनु परे हामी किसान डुब्छौँ ।” 

अर्का किसान टेकेन्द्र धामी सरकारले तत्काल सीमा वारपार हुने केराजन्य पदार्थको रोकथाम गर्नुपर्ने र देशभित्रको सङ्क्रमण निर्मूल पार्न कदम चाल्नुपर्ने बताए । सबै जातका केरालाई सङ्क्रमण गर्ने टीआरफोर फैलिए सबैतिरका केरा सखाप हुन सक्ने भएकाले कृषि अर्थतन्त्रमा ठुलै समस्या हुने सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्काय कृषि अर्थशास्त्रका उपप्राध्यापक सन्तोष उपाध्यायले बताए ।

समयमै रोगको रोकथाम गर्न नसके केरामा भएको लगानी हेर्दा करिब १५ अर्ब बराबरको केरा व्यवसाय नोक्सान हुने देखिन्छ । यसबाट ३६ हजार किसान प्रभावित हुनसक्ने अनुमान गरिएको छ । टीआरफोरको जीवाणु माटोमा हुने भएकाले केराको फल भने सधैँ सुरक्षित हुने र खान मिल्ने उपाध्यायले बताए ।  

केराबारीमा अब ‘कम क्लीन गो क्लीन’ 

रोगको सङ्क्रमण रोक्न भदौ ५ गते मङ्गलबार रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइमा भएको कृषि प्राविधिक र किसानहरूको भेलाले केराबारीमा ‘कम क्लीन गो क्लीन’को अवधारणा अवलम्बन गर्ने निर्णय गरेको छ । 

अब केराबारीमा काम गर्ने मानिस पनि सफा भएर जानु पर्नेछ भने काम गरिसकेपछि पनि सरसफाइ गर्नुपर्नेछ ।
अब केराबारीमा काम गर्ने मानिस पनि सफा भएर जानु पर्नेछ भने काम गरिसकेपछि पनि सरसफाइ गर्नुपर्नेछ । सङ्क्रमण भएको बारीको माटो अर्को बारीमा पुगे त्यहाँ पनि पानामा जीवाणु जानसक्ने भएकाले बारीमा काम गर्ने व्यक्तिले प्रयोग गरेका जुत्ता चप्पल, औजारहरू निर्मलीकरण गर्नुपर्ने र अनावश्यक व्यक्तिलाई केराबारीमा प्रवेश रोक लगाइने निर्णय गरेको छ । 

यस्तै, आयोजनाका कृषि कार्यक्रम कार्यान्वयन इकाई प्रमुख कलशराम चौधरीको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरेको छ । समितिमा सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्काय, कृषि तथा वन विज्ञान अध्ययन संस्थान ९रामपुर० का प्राध्यापकहरू, स्थानीय पालिकाका कृषि विकास शाखाका प्रमुखहरू र किसानहरू सदस्यका रूपमा छन् । 

पानामा टीआरफोरको सङ्क्रमण भएपछि सुरुमा केराको पातको किनार पहेँलो हुन्छ । बिस्तारै पात र डाँठ पहेँलो हुन्छ भने केराको थामभित्रको गानो खैरो हुँदै माथितिर सर्दै जाने बताइन्छ । जरा पनि सडेर कालो हुने र पछि बोट मर्छ । माटोमा बस्ने ढुसीका कारण लाग्ने यो रोग माटो, पानी, औजार, केरा बोक्ने गाडी र केरा खेतमा ओहोरदोहोर गर्ने मानिसको खुट्टाबाट सर्छ ।

सन् १९९७ मा अष्ट्रेलियामा फेला परेको टीआर–फोर सन् २००३ मा इण्डोनसियामा र सन् २०१५ मा फेरि अष्ट्रेलियाको क्यूइसन्याड राज्यमा फेला परेको थियो । भारतमा सन् २०१८ मा तमिलनाडुमा फेला परेको विज्ञहरूको भनाइ छ । 

यसअघि रोग देखिएका देशमा सङ्क्रमण बढ्न नदिन केराका बोटहरू नष्ट गर्ने गरिएको र केही देशमा सङ्क्रमित जमिनमा केही वर्ष अर्को बाली लगाएको अभ्यास छ । चितवनमा १४ वर्षअघि पानामा रेस वान फेला परेको थियो । 

भारतबाट आएको रोगको यो प्रजातिले रेथाने बालीलाई मात्रै नोक्सान गरेको थियो भने हाइब्रीड जातका केरा सुरक्षित थिए । पानामाको नयाँ प्रजाति टीआरफोरले भने सबै जातका केरालाई सङ्क्रमण गर्नसक्ने नार्कका वैज्ञानिक डा. खडकाको भनाइ छ । 

हाल नेपालभित्रै टिस्यू कल्चर प्रविधिबाट प्रशस्त बेर्ना उत्पादन भइरहेकाले बेर्ना आयात आवश्यक छैन । पुरानो बोटमा आएको नयाँ बेर्नामा सङ्क्रमण हुने र टिस्यू कल्चरबाट उत्पादन भएका बेर्ना सुरक्षित जमिनमा रोपेमा यो रोग नसर्ने उनको भनाई छ । 

डा। खडकाका अनुसार चितवन र नवलपरासीमा केही वर्षअघि नै हरिछाल र मालभोग केरामा रेस वान देखिएपछि जात फेर्न सुझाव दिएको र टीआरफोरले सबै जातका केरालाई सङ्क्रमण गरेको देखिएकाले अनुसन्धान भइरहेको छ । टीकापुरमा जी नाइनमा पनि यो रोग देखिएको छ । -गोरखापत्र