पाँचथरमा २ परिवारका ९ जनाको विभत्स हत्या

पाँचथरमा २ परिवारका ९ जनाको विभत्स हत्या

पाँचथरमा ९ जनाको विभत्स हत्या भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका-३, आरुबोटे भन्ने स्थानमा गएराति दुई परिवारका ९ जनाको धारिलाे हतियार प्रयाेग गरी हत्या भएको हो । १ बालिका घाइते छिन् ।

जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले एक परिवारको पाँच र अर्को परिवारको ४ गरी ९ जनाको हत्या भएको पुष्टि गरे ।

हत्या गरिएकामा ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू छन् । त्यसैगरी, फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको छ ।

शेर्मा र फियाक नाताले ज्वाइँ–ससुरा हुन् । उनीहरुको घर २ किलोमिटर वरपर छ । १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । प्रहरीका अनुसार, उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

मध्यराति घटना भए पनि स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टाेली घटनास्थलतर्फ लागेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

घटनास्थल मिक्लाजुङ पाँचथर सदरमुकाम फिदिमबाट ६५ किलोमिटर दक्षिण पर्छ ।  आरुबोटे विकट र त्यहाँ जाने बाटो कच्ची भएकाले घटनास्थल पुग्न केही समय लाग्ने बताइएको छ ।