गाउँलेले गाली गरेको भन्दै जनप्रतिनिधि सुरक्षा माग्दै सदरमुकाममा

गाउँलेले गाली गरेको भन्दै जनप्रतिनिधि सुरक्षा माग्दै सदरमुकाममा

बझाङ : खप्तड छान्ना गाउँपालिका–६ का जनप्रतिनिधिसहित कर्मचारी सुरक्षाको माग गर्दै सदरमुकाम आएका छन् ।

वडाध्यक्ष तिलकबहादुर खड्का र सचिव दीपक खड्कालगायत जनप्रतिनिधि तथा कर्मचारी सदरमुकाम चैनपुर आएका हुन् ।

आइतबार गाउँपालिकाको आयोजनामा वडास्तरीयअन्तर्गतका मावि र निमावि तहबीच पोषण, महीनावारी स्वच्छतासम्बन्धी वक्तृत्वकला कार्यक्रमको शुरुआत गरिरहेका बेला वडा कार्यालय नजीकै घर भएका डबलबहादुर खड्काले शिक्षक र जनप्रतिनिधिलाई गालीगलौच तथा दुव्र्यवहार गरेपछि सुरक्षाको माग गर्दै सदरमुकाम आएका वडाध्यक्षले जानकारी दिए ।

महिला जनप्रतिनिधि कृष्णा थापाले दुव्र्यवहार गर्ने खड्कासहित छोराहरूले महिलाको समेत गाली बेइज्जती गरेको हुँदा वडा कार्यालयमा आउन जानसमेत डर लाग्ने गरेको बताइन् ।

पाटादेवलमा खड्का परिवारको बाहुल्यता रहेको र उनीहरूले जहिले पनि पाटादेवलमा धम्की, झैझगडा गरी आफ्नो मातहतमा वडा कार्यालय चलाउनुपर्ने दबाब दिने गरेको समेत जनप्रतिनिधिहरूको गुनासो छ ।

जिल्ला प्रशासन कार्यालयमा पत्रकार सम्मेल गर्दै जनप्रतिनिधिहरूले खड्का परिवारबाट आफूमाथि धेरै अन्याय गरिएको र सहेर बसेको बताएका छन् ।

दुव्र्यवहारको आरोप लागेका खड्काका छोरा त्रिभुवनले जनप्रतिनिधिले हातपात गरेकाले आफूहरूले प्रतिकार गरेको बताए ।

सहायक प्रजिअ राम सार्कीले यस विषयमा सबैलाई बोलाएर छलफल गरिने जानकारी दिए ।