कैलालीमा पनि मनाइयो गुरही, क्याम्पस चोकमा गुरहीको मूर्ति स्थापना गरिनु पर्ने माग

कैलालीमा पनि मनाइयो गुरही, क्याम्पस चोकमा गुरहीको मूर्ति स्थापना गरिनु पर्ने माग

धनगढी । कैलाली र कञ्चनपुरमा गुरही पर्व आज धूमधामका साथ मनाइएको छ । नाग पञ्चमीकै दिन यो पर्व मनाइने गरिन्छ । कैलालीका विभिन्न ठाउँ जस्तै धनगढी क्याम्पस रोडमा रहेको गुुरही चोकमा पनि यो पर्व धूमधामका साथ मनाइएको हो । कार्यक्रममा सहभागीले क्याम्पस रोडमा गुरहीको मूर्ति स्थापना गरिनु पर्ने बताएका छन् ।

इन्दु चौधरीले समाजमा एकता दिने पर्वका रूपमा गुरही मनाइने बताइन । प्रदेश सरकारले यति ठुलो पर्वमा पनि  बिदा नदिएको उनले बताइन् । यस्तै उनले क्याम्पस चोकमा अव गुहरीको मूर्ति स्थापना गरिनु पर्ने बताइन् । पत्रकार उन्नति चौधरीले यो पर्वले एकता जोगाइ राखेको बताइन् ।

आउँदो वर्षदेखि स्थानीय मात्रै होइन प्रदेश भरी नै बिदा दिइनुपर्ने उनको माग छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीले प्रदेश सरकारले क्याम्पस चोकमा गुरहीको मूर्ति स्थापना गरिने प्रति बद्धता गरे ।

धनगढी उपमहानगरपालिकाका उप प्रमुख कन्द कला रानाले यो समुदायमा गुरहीको महत्त्व रहेको बताइन् । यसलाई संरक्षण गर्न जरुरी रहेको बताइन् । यो पर्व प्रकृतिको पूजा गरिने हुँदा यसको महत्त्व बढी रहेको उनले बताइन् । 

कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी, प्रदेश सभा सदस्य गीता चौधरी, धनगढी उपमहानगरपालिकाका उप प्रमुख कन्द कला राना, कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, कैलालीका प्रहरी उपरीक्षक देवेन्द्र बहादुर पाल, इन्सेक सुदूरपश्चिमका संयोजक खडक जोशी, अधिकारकर्मी साबित्रा घिमिरे पत्रकार उन्नति चौधरी, आरेकका गीता चौधरी, पत्रकार लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो । 

किन मनाइन्छ गुरही ?
गुरहीकै दिनदेखि वर्षा याम अन्त्य भई हिउँद शुरुभएको मानिन्छ । तर थारु समाजमा यो तिहारलाई फरक किसिमले लिने गरिन्छ । खेतीपातीको काम भ्याएर सबै जना घरमा फुर्सदिलो भएका बेला आउने यो पर्व पर्दछ । यसलाई नाग पञ्चमीको रूपमा पनि मनाइन्छ ।

थारु समाजमा ‘गुरही, गुर्या’ भनेर मनाइने यस पर्वलाई नेपाली समाजले नाग पञ्चमी भनेर मनाउँछ । नाग पञ्चमीमा विशेष गरी नेपालीहरू नाग बाबाको पूजा–आजा गर्छन् भने थारु समाजमा ‘गुरही’ पूजा हुन्छ । थारु समाजमा पनि ठाउँअनुसार ‘गुरही’ पर्व फरक फरक ढङ्गले मनाइन्छ ।

साँझको समयमा गाई गोरु चरेर गोठमा भित्रिएपछि बडघर (भल मन्सा) को पहलमा गाउँका दाजुभाइ दिदीबहिनीहरू नयाँ कपडा पहिरेर थालमा भुजा, कपडाको रंगीविरंगी गुडीया लिएर गाउँको चौराहातिर लाग्छन् । जहाँ ‘गुरही’ ठटाउने गन्तव्य कायम गरेको हुन्छ । चौराहामा गाउँका भद्र भलादमीदेखि बच्चाबुढासम्म भेला भएका हुन्छन् ।

‘गुरही’ ठटाउँदा गाउँघरमा विद्यमान रहेका रोगव्याधी र दायन भूतको दुःखबाट छुटकारा पाइन्छ भन्ने विश्वास छ ।
‘गुरही’ ठटाइसकेपछि त्यहाँ जम्मा भएका थारु दिदी–बहिनीहरू ‘गुरही’ ठटाएकै ठाउँमा भुजा छर्कने र जम्मा भएकालाई प्रसादकोरुपमा बाँड्ने प्रचलन गरिन्छ । दिदीबहिनीहरुले चना, मकै, केराउ लगायतका परिकारका भुजा प्रसादकोरुपमा बाँड्ने गर्छन् । थालको भुजा न सिद्धिएसम्म जम्मा भएका केटाकेटीहरू भुजा माग्छन् ।

चौकमा ठटाएको भुजा र कपडाको टुक्राको संकलन गरेर घरतिर लाग्छन् गुरही ठटाउने सदस्यहरू । ठटाएका ती कपडाको टुक्रा घरको द्वारमा बाँध्दा, भुजालाई घरको छानामा छर्कदा र डुबोलाई राख्दाराख्दै घरमा रहेको दुःखकष्ट र सर्प विच्छीहरु घरबाट निस्केर जाने विश्वास गरिन्छ ।

यसको सामाजिक महत्त्व भन्नु नै सामुहिकता हो । गाउँघरमा थारु समुदाय प्रायः कृषि कार्यमा आवद्ध छन् । वर्षदिनलाई पुग्ने खेतबारीमा धान रोपिसकेपछि पर्ने यो पर्वले थकित मनलाई मेटाउने र शितलता दिने गर्छ । थारु समुदायमा चाडपर्वहरु जमेर मनाइने गरिन्छ । गाउँघरका सबै नागरिक एकै थलोमा जम्मा भएर गुरही मनाउनु आफैमा थारु एकताको विषय हो । यस दिन हरेक चोक चोकमा मानीसहरु जम्मा भइ यो पर्व मनाइन्छ ।