कोही पनि नडराएपछि पसल लुट्न आएको लुटेरा लजाउँदै फर्कियो

कोही पनि नडराएपछि पसल लुट्न आएको लुटेरा लजाउँदै फर्कियो

आमरुपमा जब कुनै पसलमा लुटपाट गर्नका लागि लुटेराहरु छिर्दछन् तब आतंक मच्चिन्छ, सन्नाटा छाउँछ र मानिसहरु डरले काँप्छन् । तर हालै अमेरिकाको एटलान्टास्थित एउटा स्टोरमा भने नितान्त फरक स्थितिको सिर्जना भयो ।

त्यहाँको एक सैलुनमा लुटपाट गर्नका लागि आएको एकजना लुटेरासँग जे भोग्यो त्यो सायद उसले सपनामा पनि सौचेको थिएन होला ।

उक्त स्टोरमा लुटपाटको प्रयास गर्न लुटेरा पुगेको अवस्थाको सीसीटीभी भिडियो सार्वजनिक भएको छ । उक्त भिडियो हेर्दा डर लाग्ने होइन कि हाँसो उठ्छ ।

भिडियोमा उक्त नङ सैलुनमा कर्मचारीहरु केही ग्राहकहरुसँग बसिरहेका देखिन्छन् । त्यहीबेला एकजना लुटेरा चिच्याउँदै छिर्दछ अनि भन्छ, ‘सबै मानिस तल होऊ र चुपचाप पैसा देऊ।’

उसको हातमा एउटा झोला छ र त्यसमा उसले हात घुसारेको छ । झोलाभित्र रहेको बन्दुक उसले समाइरहेको जस्तो भान हुन्छ ।

लुटेराले चिच्याउँदै तथा डर देखाउँदै पैसा माग्दा समेत त्यहाँका कोही पनि मानिस डराएका छैनन् । रिसेप्सनमा भएका कर्मचारी त झनै ढुक्क देखिन्छन् र फोनको घण्टी बज्दासमेत फोन उठाउँछन्, मानौं त्यहाँ केही पनि भैरहेको छैन ।

त्यसबेला सैलुनका मालिक, कर्मचारी तथा ग्राहकहरुले त्यो लुटेरालाई यसरी बेवास्ता गर्दछन् कि जुन कल्पना पनि गर्न सकिंदैन । त्यत्तिकैमा एकजना महिलाले विस्तारै हात माथि लैजान्छिन् । लुटेराले तत्कालै उनको फोन खोस्दछ । तरपनि उनी नडराइकन पसल बाहिर जान्छिन् ।

यो बेवास्ता, निडरता तथा नजरअन्दाज यतिधेरै भयो कि लुटेरा नै लज्जित भयो र अन्ततः थाकेर खाली हात चुपचाप त्यहाँबाट बाहिरियो र कारमा भाग्यो ।

उक्त सैलुनकी नियमित ग्राहक लिजा ब्यारोका अनुसार सुरुमा सैलुनकी मालिक हल्का डराएको भए पनि ग्राहकहरु रत्तिभर नडराएका कारण लुटेरा लज्जित भएर फर्किन बाध्य भयो ।