गाडी किन्नमै ११ करोड रुपैयाँ खर्च

गाडी किन्नमै ११ करोड रुपैयाँ खर्च

डोटी : डोटी जिल्लाका ९ स्थानीय तहले डेढ वर्षको अवधिमा गाडी खरीदमा झण्डै ११ करोड रुपैयाँ खर्च गरेका छन् । स्थानीय तहको निर्वाचन भइसकेपछि २०७४ साउनदेखि २०७५ चैतसम्मको अवधिमा १० करोड ९३ लाख ८६ हजार ८२९ रुपैयाँ गाडी खरीदमा खर्च भएको पाइएको छ ।

गाडी खरीदमा सबैभन्दा धेरै खर्च पूर्वीचौकी गाउँपालिकाले गरेको पाइएको छ । नगरपालिकाभन्दा यहाँका गाउँपालिकाले गाडी खरीद बढी गरेका छन् । जिल्लाका अधिकांश स्थानीय तहसँग एक्साभेटर र डोजर छन् । कतिपय किन्ने तयारीमा छन् । तर, डोजर प्रयोगको नीति नियम पालना भएको छैन ।

पूर्वीचौकीले अहिलेसम्म दुई करोड ६७ लाख ५५ हजार ६५२ रुपैयाँ विभिन्न सवारी साधन खरीदमा खर्च गरेको छ । दश मोटरसाइकल खरीदमा २४ लाख ९७ हजार २०० रुपैयाँ खर्च भएको छ । त्यस्तै ३७ लाख २० हजार रुपैयाँमा पिकअप जीप, एक करोड २३ लाख ६२ हजार ४५० रुपैयाँमा एक्साभेटर खरीद गरिएको छ । यसैगरी ८१ लाख ७६ हजार रुपैयामा दुईवटा बस पनि गाउँपालिकाले किनेको छ ।

शिखर नगरपालिकाले एक करोड ५४ लाख २९ हजार ३०० रुपैयाँ खर्च गरेर विभिन्न गाडी किनेको पाइएको छ । दुई नगर बसमा ५६ लाख ६० हजार रुपैयाँ, टिप्परमा ३८ लाख ६९ हजार रुपैयाँ, जीपमा ३६ लाख ९५ हजार रुपैयाँ, आठ मोटरसाइकल खरीदमा २० लाख २६ हजार ४०० रुपैयाँ र एउटा स्कुटरमा एक लाख ७८ हजार ९०० रुपैयाँ खर्च गरेको देखिएको छ । 

दिपायल सिलगढी नगरपालिकाले एक करोड छ लाख ८७ हजार ४८९ रुपैयाँमा गाडी खरीद गरेको छ । यो नगरपालिकाले ३४ लाख आठ हजार ६५० रुपैयाँमा १५ मोटरसाइकल खरीद गरेको पाइएको छ । त्यस्तै दुई नगर बसमा ५१ लाख ९० हजार रुपैयाँ, एउटा ट्याक्टरमा १६ लाख ३८ हजार ८८४ रुपैयाँ र सक्सनम ट्याङ्कमा चार लाख ५० हजार खर्च गरेको छ । 

बडीकेदार गाउँपालिकाले विभिन्न गाडी खरीदमा एक करोड ८१ लाख ७९ हजार १०० रुपैयाँ खर्च गरेको छ । यो गाउँपालिकामा एक करोड २० लाख रुपैयाँमा एउटा सडक खन्ने एक्साभेटर, ३८ लाख ७० हजार रुपैयाँमा एउटा पिकअप जीप र २३ लाख ९ हजार १०० रुपैयाँमा ९ मोटरसाइकल खरीद गरिएको छ ।

त्यस्तै सायल गाउँपालिकाले गाडी खरीदमा एक करोड ५६ लाख १६ हजार २०० रुपैयाँ खर्च गरेको पाइएको छ । यो गाउँपालिकाले सात लाख ४६ हजार २०० रुपैयाँमा तीन वटा मोटरसाइकल खरीद गरेको छ । यस्तै महिन्द्रा बोलेरो जीपमा २३ लाख ८५ हजार रुपैयाँ र एक्साभेटरमा एक करोड २४ लाख ८५ हजार रुपैयाँ खर्च गरेको देखिएको छ ।

केआई सिंह गाउँपालिकाले सबैभन्दा धेरै १७ वटा मोटरसाइकल खरीद गरेको छ । मोटरसाइकल खरीदमा ३२ लाख ६९ हजार ११५ रुपैयाँ खर्च भएको छ । यस्तै मिनी टिपरमा २० लाख १३ हजार २७४ रुपैयाँ र जेसीबी खरीदमा ४० लाख ९९ हजार ९९९ रुपैयाँ गरी कूल ९३ लाख ८२ हजार ३८८ रुपैयाँ खर्च भएको छ ।

बोगटान गाउँपालिकाले ७६ लाख १३ हजार ८०० रुपैयाँ गाडी खरीदमा खर्च गरेको छ । यो गाउँपालिकाले चार मोटरसाइकल खरीदमा ९ लाख ७८ हजार ८०० खर्च गरेको छ । यस्तै डोजर खरीदमा ४२ लाख ५० हजार रुपैयाँ र महिन्द्रा बोलेरो जीप खरीदमा २३ लाख ८५ हजार रुपैयाँ खर्च भएको देखिएको छ ।

जोरायल गाउँपालिकाको गाडी खरीदमा अन्यको स्थानीय तहभन्दा तुलनात्मक रूपमा खर्च कम भएको देखिएको छ । यो गाउँपालिकाले ५८ लाख ३८ हजार ९९९ रुपैयाँ गाडी खरीदमा खर्च गरेको देखिन्छ । जोरायलले १० वटा मोटरसाइकल खरीदमा २२ लाख आठ हजार ९९९ रुपैयाँ खर्च गरेको छ । यसैगरी एउटा महिन्द्रा पिकअप जीपमा ३६ लाख ३० हजार रुपैउाँ खर्च गरेको छ ।

आदर्श गाउँपालिकाले  ५७ लाख २२ हजार ९०० रुपैयाँको गाडी खरीद गरेको छ । १४ मोटरसाइकल खरीदमा ३३ लाख ३७ हजार ९०० रुपैयाँ र एउटा महिन्द्रा बोलेरो जीप खरीदमा २३ लाख ८५ हजार रुपैयाँ खर्च देखाइएको छ । स्थानीय तहले खरीद गरेका दुई पाङ्ग्रे सवारी साधनको मूल्यमा एक रुपता देखिएको छैन । एउटै कम्पनीको एउटै मोडलका र एउटै क्षमताका मोटरसाइकल पनि फरक–फरक दरमा खरीद गरिएको पाइएको छ ।